एपीएफ र एसएसबीबीच १२ बुँदे समझदारी

सीमामा दुवै सुरक्षा निकाय अब थप चनाखो
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले ‘आपराधिक गतिविधिमा संलग्न व्यक्तिले खुला सिमानाको फाइदा लिन सक्ने’ भन्दै दुवै सुरक्षा निकाय यसतर्फ विशेष चनाखो हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा तीन दिनसम्म बसेको दुई देशका सुरक्षा बलबीचको बैठकमा भारतीय पक्षले खुला सिमानाका कारण नेपालमा आतंककारी गतिविधि गर्ने व्यक्तिहरू नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्ने विषयलाई गम्भीरतापूर्वक उठाएको थियो । साथै यो विषयमा भारतले नेपालको विशेष सहयोगको अपेक्षासमेत राखेको थियो ।

नेपालले पनि खुला सिमानाको फाइदा उठाउँदै विभिन्न तेस्रो मुलुकका व्यक्ति भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रूपमा बस्ने भएकाले यसतर्फ थप चनाखो भइदिन आग्रह गरेको थियो ।

बैठकको मुख्य एजेन्डा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन रहेको थियो । यसैको सेरोफेरोमा रहेर दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति भएको छ । बैठकको समापनका क्रममा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य बढाउनेसहित १२ बुँदे समझदारीमा हस्ताक्षरसमेत भएको छ ।

एसएसबीको आयोजनामा भएको सो बैठकको नेतृत्व नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका थिए । भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्दले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भाग लिन नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक खनालसहित अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र नायब महानिरीक्षक नारायणदत्त पौडेललगायत गएका थिए ।

बैठकमा भएको छलफललाई समझदारीका रूपमा १२ वटा बुँदामा लिपिबद्ध गरिएकोमा खुला सीमाको विषयलाई प्राथमिकताका साथ समेटिएको छ । जसमा खुला सिमानाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिक अवैध तरिकाले एकअर्को मुलुकमा आउजाउ गर्ने भएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने उल्लेख छ ।

यस्तै, सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरूको समाधान आपसी सहकार्यमा निस्तेज पार्ने समझदारी बनेको छ । आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै एकले अर्को पक्षलाई प्रदान गर्ने र आमनागरिकलाई सहुलियत प्रदान गर्न बढी मानिसको ओहोरदोहोर हुने सीमा क्षेत्रमा दुवै पक्षले हेल्प डेस्कको स्थापना गर्ने समझदारी बनेको छ ।

अवैध तरिकाले गरिने मानव ओसारपोसारलाई कडाइका साथ नियन्त्रण गर्ने समझदारी पनि दुई देशका सुरक्षा बलबीच भएको छ । यसमा भारतमा कार्यरत गैरसरकारी संस्थाहरूसँग पनि समन्वय गर्नेलगायतका विषय समेटिएको छ ।

यस्तै, दुई देशबीच लामो समयदेखि टाउको दुखाइको विषय बन्दै आएको नक्कली नोट, लागूऔषध, तस्करीलगायतका अन्य अपराधजन्य कार्यलाई नियन्त्रण गर्न पनि दुवै पक्षबीच सहकार्यलाई अघि बढाउने समझदारी बनेको छ ।

यस्तै, फिल्डमा खटिने टोलीदेखि माथिल्लो तहसम्मका अधिकारीहरूबीच नियमित समन्वय राख्ने सहमति भएको छ ।

नेपाल–भारत र नेपाल–चीन सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलको काँधमा छ । अहिले भारत तथा चीन दुवैतर्फका सीमावर्ती ४० जिल्लामा सशस्त्र प्रहरीका २ सय २७ बीओपी छन् । तिब्बतसँगको सीमामा रहेका थप सातवटा र बाँकी नेपाल–भारत सीमामा रहेका बीओपीमा गरी कुल २० हजार जनशक्ति सरकारको पछिल्लो निर्णयपछि सीमा सुरक्षामा मात्र खटाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ । सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण छ ।

सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ । वर्षौंदेखि सामान तस्करी गर्दै आएका भारतीय तस्करलाई सीमामा सशस्त्र प्रहरीको उपस्थिति चित्त बुझेको छैन । तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरी अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबाट अध्यक्षका उम्मेद्वार विरुद्ध वेरुजु रहेको उजुरी