बोक्सीबाट सन्तान बचाउन झिझिया नृत्य

प्रदेश २ को गाउँ गाउँमा दसैंको बेला झिझियाको निकै आकर्षण देखिएको छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महरूव रहेको छ । दसंैमा देवीको स्तुतिका रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास रहेको छ ।

यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो । टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भएमा नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसै कारण सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकोमा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भूत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्की समेत दिइने गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन् ।

महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल गन्न कुनै बोक्सी सफल भएमा नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसैले सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गर्ने गरिन्छ


झिझिया लोकनृत्य धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गर्ने गरिन्छ । यो नृत्य भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ ।

झिझियाको सुरुवात

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैंटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रर्दशन झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ । तराईका विभिन्न क्षेत्रमा समय समयमा बोक्सी प्रकरणका घटना सुनिँदै आएको छ । कानुनले त्यस्ता प्रकरणलाई असत्य भन्दै बोक्सीको आरोप लगाउनेलाई नै सजाय दिइने नेपालमा कानुनी व्यवस्था छ । सजायको कानुनी व्यवस्था भए तापनि बोक्सीको घटनामा कमी आएको पाइँदैन । समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकार बताउँछन् । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहरबजार समेत झिझिया नृत्यबाट अछुतो रहन सकेको छैन । जनकपुरधाममा अहिले प्रत्येक राति समूह समूहमा महिलाहरू झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ । दसैंको समयमा विभिन्न क्लबकै पहलमा झिझिया नृत्यको आयोजना गरिने गरिएको पाइन्छ ।

घैंटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रर्दशन झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ

उद्देश्य
समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइन (बोक्सी) महिला जादुमन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर श्यमशानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नांगै नृत्य गर्ने गर्छन् । दसैंको समय बोक्सीको सिद्धि प्राप्त गर्नका लागि उचित समय भएकाले बोक्सीका घटना दसैंको समयमा बढी संख्यामा हुने गरेको पाइएको छ । घटनामा वृद्धि हुन थालेपछि महिलाहरूले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोकनृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना साखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मुख्य उद्देश्य रहेको छ ।

यसको अर्को उद्देश्य दसैंको समयमा देवी दुर्गालाई रिझाउनु पनि रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीत पनि गाइन्छ । त्यसमा प्रत्येक दसैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृंगार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइने गरिन्छ ।

नृत्य पूर्वको तयारी

झिझिया नृत्य प्रारम्भ गर्नुपूर्व तयारी हुने गर्छ । एउटा वा दुईटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टितेल हालेर बालिन्छ । त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ । अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ ।

सभ्य गुरुक बन्दे पाऊँ । बजर केवाडी ।
बजर बान्हो दशो दुआरी ।
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।।

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर–घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजया दशमीको दिन पूजापाठ, भोजभतेर र प्रसाद वितरण गरिन्छ अनि झिझिया लोकनृत्य बिसर्जन हुन्छ ।

नृत्यको सबल पक्ष गीत

झिझिया नृत्यको सबभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीत नै हुन् । झिझिया नृत्यमा पनि दुई खाले गीत हुन्छन् । पहिलो त देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्क्याउने गीतहरू हुन्छन् ।

लील रंग डालीया, सबुजेंग ओहरिया ।
मैयागे भिडी गेलाह बत्तिसो कहार ।
कमरुआ देश मैआ कब जइहे गे ।।

बोक्सीहरू भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ । जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ ।

बरहमके पछुआरिए डैनियां
मत करिहें शृंगार गे बमेलेल आरती
दहिने तरुआरी गे
नचैत नचैत गेले डैनियां
सीमा ओइ पार गे सँगे सँगे गेलौ डैनियां
राजा कोतवाल गे देख लेलकौ खागै डैनियां नंटे उघार गे ।।
यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ ।
कोठाके उपर डैनिया, खिडकी लगैले ना,
खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना ।
आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ
गदहा चढाए डैनियां नमुहां हसैबौ ना ।।

बोक्सीलाई धम्काउने काम पनि गीतकै माध्यमबाट गरिन्छ । खबरदार, यदि तिमी झयाल पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ यो गीतको अर्थ हो ।
समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने यो कुरा यो गीतको बोलबाट स्पष्ट हुन्छ ।

डैनिया बेटा मरल पडल है,
अन्हार घर झिझडी ।
कोइ नै बाँस कटबैया है
अन्हार घर झिझडी ।।

यो गीतको बोलको अर्थ घरमा बोक्सीको छोरा मरेको छ, बाँस काट्नेसम्म कोही छैनन् भन्ने हो ।
मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमलले झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यंग्यात्मक शैलीको पाटो हो भनी बताउनु भयो । झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दा पनि माग्ने चलन छ । दलानमा पुग्दापुग्दै गीत गाउनेहरुरू गाउँछन् :

जाबे भैया सुनलनि, झिझियाके अबैया
ताबे भैया ठोकलनी केवार ।।

अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो आप्mनो घरको ढोका बन्द गर्नुभयो । यस स्थितिमा घरपट्टिबाट अवश्य पनि केही न केही चन्दा दिने गर्छन् ।

एक डिबिया तेलला झिझिया रुसल जाइ छै ।
दू महला के कोन सिंगार ।।

अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया रिसाएर फर्कदा यो घरको के अर्थ ।
समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ । यद्यपि, गाउँटोलका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै हिन्दुहरूको महान् चाड दसैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ । परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीत लोपोन्मुख अवस्थामा रहेका छन् । सामाजिक संस्कारमा रहेको अन्धविश्वासप्रति छाया दर्साउने यस किसिमका लोकगीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं सांसद रामअशीष यादवले लोकसंस्कृतिको जीवन्त प्रस्तुति झिझिया नृत्य संस्कृतिको निरन्तरता कि अन्धविश्वास उखेल्न गाह्रो भएको बताउँछन् । उनले कलालाई रूपान्तरण गर्ने आवश्यकता रहेको बताए ।

दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्न सामथ्र्यवान् रहेको पाइन्छ । ५ वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबंैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । उनका अनुसार टाउकोमाथि राखिएको घैंटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो ।

सुन सुन गे डैनिया कदमतर तोरा बेटाके खेबौ ब्रह्मतर बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरू केही मान्न नसकिने भन्नेहरूको पनि कमी छैन । तर, झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रूपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढाउँदा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिन सक्ने मिथिला नाट्य कला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुरले बताए ।
झिझियालाई बचाउने प्रयास

झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास सुरु भएको छ । मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले मिनापले नेपाल भारतका विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ । मिनापले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरकै राजदेवी युवा क्लबले दसैंका बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।

सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 590 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध