सन्तुष्ट र शान्त जीवनको कुञ्जी

तुष्टको अभिप्राय हो तृप्त, प्रसन्न र खुसीको अवस्था । आफ्नो परिश्रम या अधिकारबाट प्राप्त भएको बाहेक अन्य कुनै पनि कुरामा लोभ नगर्नु तुष्टि हो । सन्तुष्ट शब्दको अर्थ हुन्छ, शरीरका लागि आवश्यक सबै तत्व ठीक मात्रामा भएको अवस्था । उन्नत र विस्तृत अर्थमा यस शब्दको तात्पर्य जैविक रूपमा मात्र नभई मानसिक र बौद्धिकस्तरमा समेत परिपुष्ट र समृद्ध अवस्थामा पुग्नु हो ।

राग, द्वेष र ईष्र्या आदि प्रवृत्ति नभएको मानसिक अवस्थालाई शान्त भनिन्छ । शान्त रहनु भनेको सुखमा अहंकार र दुःखमा व्याकुलता नहुनु हो । मानसिक शान्ति प्राप्त गरेको व्यक्ति सन्तुष्ट, संयमी र स्थिर हुन्छ । शान्त शब्दको अभिप्राय चञ्चल चित्तको स्थिरीकरण एवं अवाञ्छित महत्वाकांक्षाको रोकथाम र समन पनि हो ।

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्य प्राकृतिक अवस्थामा थियो । घर थिएन, वैवाहिक जीवन थिएन, कुटुम्ब थिएन, व्यक्तिगत सम्पत्ति थिएन र मृत्युको चेतना एवं भय पनि थिएन । मनुष्य एक्लै रनवन विचरण गथ्र्याे । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य प्राकृतिक अवस्थाको वन्य मानवका प्रवृत्ति होइनन् । ती सबै सभ्यताले सिकाएका सांस्कृतिक स्वभाव हुन् । सुरुसुरुमा सभ्यताले ती प्रवृत्तिहरूलाई गुणका रूपमा प्रशिक्षित गरेर सिकायो । परन्तु, जसरी वर्षाको इच्छा गर्ने किसान अतिवृष्टिबाट हडबडाउँछ, त्यसैगरी सभ्यता पनि ती गुणहरूको अतिरेकले गर्दा हडबडाउन पुग्यो ।

जीवनको वास्तविक गतिलाई बुझ्न र स्वीकार गर्न सकियो भने आशक्ति, कामना र माना अपमानभन्दा माथि उठेको सन्तुष्ट र शान्त जीवन बिताउन सकिन्छ


सभ्यताले ती ६ वटा प्रवृत्तिको वर्णन गर्दै तिनिहरूबाट पन्छिनुलाई निवृत्ति भन्ने गरेको छ । सभ्य हुनुको मतलव स्वभावलाई नियन्त्रण र नियमन गर्नु हो । पण्डितजनहरूले ती मानवीय गुणहरूलाई विकारका रूपमा वर्णन गरेका छन् । वासनाहीन र क्रोधहीन परिस्थितिको कल्पना गर्न सकिँदैन । लोभ सबैमा हुन्छ । मोहरहित अवस्था प्राप्त गर्न अत्यन्त कठिन छ । मनुष्यमा मद (धनसम्पत्ति, उमेर, रूप र पद आदिको दम्भ) पनि स्वाभाविक गुण हो । अर्काको प्रगति देख्दा मनमा जलन, ईष्र्या र डाह पैदा भएर मात्सर्यको स्थिति उत्पन्न भइदिन्छ । कसैले आफूमा त्यस्ता गुण भएको कुरा स्वीकार गर्दैन भने ऊ मिथ्या अभिमानले ग्रस्त छ भन्ने बुझे हुन्छ । अभ्यासको माध्यमबाट ती प्रवृत्तिलाई सहनीय र सभ्यताले स्वीकार गर्ने हदभित्र राख्नु प्रवृत्ति व्यवस्थापन हो ।

अब प्रश्न उठ्छ, ती प्रवृत्तिको व्यवस्थापन कसरी गर्ने ? यो सजिलो विषय होइन । स्वाभाविक रूपमा उत्पन्न हुने प्रवृत्तिहरूलाई जबर्जस्ती एकोहोरो र अतार्किक तवरले दमन गरेर त्यसको व्यवस्थापन हुँदैन । यो तरिका त कुनै जमानामा बालविधवालाई भक्तिनी बनाएर कासीवास गर्न पठाएजस्तो मात्र हुन्छ । प्रवृत्तिको समाधान सम्यक र मान्य तरिकाले मात्र गर्न सकिन्छ । मुख्य कुरा हो त्यसको प्रबन्ध र विधिव्यवस्था मिलाउने कुञ्जी । सबैलाई सन्तुष्ट, शान्त र समृद्ध भएरै जीवन बिताउने इच्छा हुन्छ । परन्तु, त्यसको कुञ्जी भेट्टाउन साह्रै कठिन छ । संयोगवश कसैले भेट्टायो भने पनि ऊ भयभीत हुन्छ । किनकि, त्यो कुञ्जीले प्रवृत्तिका धेरैद्वार बन्द गरिदिन्छ ।

सम्पत्ति कमाउनु जीवनको गन्तव्य नभई कर्ममार्गको स्वाभाविक घटना मात्र हो


धनी पनि हुन्छु, लोभ पनि गर्छु, ईष्र्या एवं द्वेष पनि गर्छु र सन्तुष्टि तथा शान्तिले भरिपूर्ण जिन्दगी पनि बिताउँछु भनेर योजना बनाउने व्यक्तिका लागि यो कुञ्जी भयावह छ । जीवनमा सबै कुरालाई खुला छाड्न मिल्दैन । सभ्यताले छाडा जीवन स्वीकार गर्दैन । छाडापनलाई परिवार, कुटुम्ब, समाज र राज्यको कानुनले दण्डनीय बनाएको कुरालाई समयमै ख्याल गर्न सकिएन भने जीवन अशान्त र असन्तुष्ट बन्न पुग्छ । प्रवृत्तिलाई क्षणिक सुखीका लागि खुला छाडिदिनु भनेको सभ्यताले प्रदान गरेको अनुशासन र मर्यादाको ताला तोड्नु हो । अहंकार, लिप्सा, आसक्ति र मात्सर्यलाई थुनेरै राख्दा पनि चित्तवृत्तिलाई निरोध गर्न सकिएन भने कुञ्जी फुस्किन सक्छ । पक्कासँग ताला बन्द गरेर कुञ्जीलाई अविच्छिन्न राख्न अथक अभ्यासको खाँचो पर्छ ।

गीतामा कृष्णले निष्काम कर्ममा जोड दिँदै भन्दछन्, ‘मनुष्यको अधिकार कर्ममा छ, फलमा छैन ।’ त्यसैगरी कर्मको परित्याग गरेर अकर्मण्य हुने अधिकार पनि कसैलाई छैन । कृष्ण योग क्षमा र समत्वमा जोड दिन्छन् । योगको माध्यमबाट काम क्रोध आदि प्रवृत्तिको निरोध गरेर क्षमाको अवस्था हासिल गर्न सकिन्छ । क्षमाको अभिप्राय प्राप्त उपलब्धिको रक्षा गर्ने सामथ्र्य हो । आफूले सञ्चालन गरेको अभियान (कर्म) सफल हुँदा या असफल हुँदा समभावमा रहेर अभियानमा निरन्तर सरिक भइरहनु समत्व हो । विद्यार्थी जीवनमा यसको ठूलो महत्व छ ।

समाजमा व्यक्ति व्यक्तिबीचको प्रतिस्पर्धा कर्मकै अंग हो । एउटा किसानले छिमेकी किसानले भन्दा उन्नत खेती गरेर बढी अन्न उत्पादन गर्ने प्रयत्न गर्नु विहित कर्म हो । परन्तु आफूले चाहेअनुरूपको उत्पादन नहुँदा हीनभावनाले ग्रस्त हुने र अर्काको प्रगतिमा द्वेष राख्ने किसानको जीवन सन्तुष्ट एवं शान्त हुन सक्दैन । आफूलाई अरूभन्दा तुच्छ, असफल र अभागी सोचेर हीनबुद्धिले ग्रस्त हुनु र अरूलाई अपहेलना गर्दै आत्मरतिमा निमग्न हुनु दुवै खराब कुरा हुन् । असफल हुनु जीवनयात्राका सारा द्वार बन्द हुनु होइन । कर्मको यात्रा कहिल्यै समाप्त हुँदैन । कर्मको कुनै गन्तव्य छैन ।

कुनै विषयतर्फ अति आकर्षण र आसक्ति राग हो भने अनिष्टको कल्पनाद्वारा उत्पन्न हुने व्याकुलता भय । हानिकारक चित्तवृत्ति या आवेगपूर्ण उग्रता क्रोध हो । यी सबै मानवीय प्रवृत्ति हुन् । राग, भय र क्रोधलाई व्यवस्थापन गर्न सक्ने व्यक्ति नै सकारात्मक सोचले युक्त स्थिरबुद्धि मानिन्छ । स्थिरबुद्धि हुनु मुनिजस्तो हुनु हो । विद्यार्थी जीवनको सन्दर्भमा मुनि मितव्ययी, मितभाषी, मिताहारी र स्थिरमना महानुभाव हो । कृतज्ञता, सम्यक वाणी, शालीनता, ध्यान, अध्ययन, परिश्रम, स्वालम्बन, करुणा र सहनशीलता जीवनका सकारात्मक आयाम हुन् ।

मन रुपी बगैंचा चञ्चल छ । हतास नहुनु, क्रोधलाई नियन्त्रण गर्नु, वाणीमा संयम, आफूलाई व्यस्त राख्नु र हैसियतअनुसार दान गर्नु सन्तुष्टिका ससाना तर महत्वपूर्ण कुञ्जी हुन् । यी चञ्चल उपवनमा रोपिएका असल बिरुवा हुन् । आफ्नो तर्फबाट कसैको चित्त दुखाउने काम गर्नुहुँदैन । किन्तु, आफ्नोबारे अरूले के सोचेका होलान् भनेर चिन्ता गर्नुको पनि प्रयोजन छैन । सर्वोपरि कर्तव्य भनेको सभ्यताले निर्धारण गरेको सदाचारको पालना हो । आफूले गरेको कर्मप्रति आफ्नै अन्तस्करणले धिक्कार्ने र रात्रिको निद्रा बरबाद हुने कर्मबाट जोगिन सक्नु नै शान्त जीवनको प्राप्ति हो ।

जीवनलाई यति यान्त्रिक अनुशासनको बन्धक पनि नबनाऔं कि यो एक अभिसाप बनोस् । जातीय, लैंगिक, धार्मिक या सामुदायिक अपमान नहुनेगरी हँसीमजाक र केही मूर्खतापूर्ण वर्ताव गर्न पनि पछि पर्नुहुँदैन । खानपिन, नाचगान, पिकनिक, सहभोजन र यात्रा जीवनलाई सन्तुष्ट पार्ने आयाम हुन् । धन कमाउनु प्रत्येक गृहस्थको कर्तव्य हो । परन्तु, त्यसको साधन स्वीकार्य र सम्यक हुनुपर्छ । सम्पत्ति कमाउनु जीवनको गन्तव्य नभई कर्ममार्गको स्वाभाविक घटना मात्र हो । दरिद्रता मात्र दुःखको कारण होइन । सम्पन्नता नै दुःखदायी हुन पुगेका घटना पनि देखिएको छ ।

वृद्धावस्था जीवनको कटु तर सुखद सत्य हो । यस धर्तीमा जन्मेका धेरै मानिस वृद्ध हुन नपाई परलोक हुन्छन् । वृद्धावस्थामा यथासम्भव चञ्चल चित्त र क्रोधलाई नियन्त्रण गर्दै निष्काम भाव राख्नु श्रेयष्कर छ । जीवनको वास्तविक गतिलाई बुझ्न र स्वीकार गर्न सकियो भने आसक्ति, कामना र मानअपमानभन्दा माथि उठेको सन्तुष्ट र शान्त जीवन बिताउन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 3 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

माधव नेपालसहित चार नेताकाे कार्वाही फुकुवा
जसपा विवाद झन् पेचिलो बन्दै
सूर्योदय र जैविक विविधताको आनन्द दिने ‘पाटेनागी’
काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित
सार्कमा सराहनीय पहल
२६ दिन अघि कतारबाट आएका पुरुष सहित चार जनाको स्वाब परिक्षणका लागि पठाइयो

आजको समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार
कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

साताका लोकप्रिय समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
Kumar Raut || 26 October 2021
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्...

कुरी-कुरी