बुंगमतीमा मनकामना र ह्यग्रीव भैरवको जात्रा


हरेक वर्ष दसैंको समयमा नवमी, दशमी र एकादशी तीन दिनसम्म बुंगमतीमा मनकामना र ह्यग्रीव भैरव देवताको जात्रा गरिन्छ । राजा नरेन्द्रदेवको पालामा नेपालमा १२ वर्षसम्म वर्षा नभएकाले अनिकाल हुँदा काठमाडांै टेबहालका तान्त्रिक बन्धुदत्तका सल्लाहअनुसार राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त र पाटनका ललित ज्यापु (चक्रधर) कामरुप कामाख्या आसाममा गई अत्यन्तै कष्ट गरी रातो मच्छिन्द्रनाथ करुणामयलाई ल्याउन सफल हुन्छन् र करुणामयलाई बुंगमतीमै राख्न ह्यग्रीव भैरवको ठूलो भूमिका रहेको जनविश्वास छ । बुंगमतीको मच्छिन्द्रबहाल करुणामय रहेको बहालको दक्षिण कुनामा दुईतले ह्यग्रीव भैरवको मन्दिर छ । सो मन्दिर नेपाल सम्वत ७७० मा निर्माण गरिएको हो भनिन्छ । भैरवको मन्दिरको उत्तरतर्फको गल्लीभित्र ह्यग्रीवको श्रीमती मनकामना देवीको मन्दिर छ ।

एउटा किंवदन्तीअनुसार बुंगमतीका ह्यग्रीव भैरव गोरखामा घुमफिर गर्न गएका रहेछन् । सो समयमा भैरवले मनकामना देवीलाई देखेर मन पराएछ । मनकामना देवीले पनि भैरवलाई मन पराइछिन् । यसरी दुवैले मनपराएर प्रेमपूर्वक विवाह गरी बसेछन् । ह्यग्रीव भैरव पनि मनकामनाकै माइती घरमा बसेछ । केही दिनपछि एकदिन मनकामना रिसाएर घर छोडेर जान्छिन् । मनकामना देवी यसरी रिसाएर जाँदा हालको गोरखाको मनकामना मन्दिर भएको स्थानमा पुगेर बास बस्छिन् । मनकामनालाई खोज्दै हिँडेका ह्यग्रीव भैरवले देखेर सम्झाइबुझाइ गरेर आफूसँग मनकामनालाई लिएर आउँछन् ।ह्यग्रीव भैरव र मनकामना देवी मच्छिन्द्रनाथको जात्रा हेर्न बुंगमतीमा आएको कथा आज पनि उत्तिकै चर्चामा छ

एक दिन ह्यग्रीव भैरव र मनकामना देवी मच्छिन्द्रनाथको जात्रा हेर्न बुंगमतीमा आउँछन् । ह्यग्रीव भैरवले मनकामनालाई यसरी बुंगमतीमा जात्रा हेर्न ल्याउँदा दुवै दम्पत्तीले ज्यापु र ज्यापुनीको भेषमा आएका हुन्छन् । जात्राको हुलमुलमा बसेर उनीहरूले जात्रा हेरिरहँदा कसैले पनि चिन्न सकेनन् । तर, बुंगमतीका एक जना तान्त्रिकले भने उनीहरूलाई देखेर शंका गरी हेरी रह्यो । अनि ह्यग्रीव र मनकामनाले देव भाषामा कुरा गरिरहेको त्यस तान्त्रिकले सुनेछ । अनि उसलाई लाग्छ यी दम्पत्ती साधारण मानिस त हुँदै होइन पक्कै यिनीहरू देवता नै हुनुपर्छ । तब तान्त्रिकले आफ्नो तन्त्र विद्या प्रयोग गरेर मनकामना र ह्यग्रीवलाई आफ्नो वशमा राखिदिन्छ । तान्त्रिकको वशमा परेपछि मनकामना देवीले आफ्नो परिचय दिँदै कुराकानी गर्न थालिन् । अनि त के चाहियो तान्त्रिकले झन् उत्तेजित हुँदै छोड्ने कुरा गर्दैन । अनि भन्छ, ‘साक्षात मनकामना देवी नै हाम्रो ठाउँमा आइपुगे पछि अब कहाँ जान दिने ? हामीले यहीँ नै मन्दिर बनाएर हजुरहरूलाई स्थापना गरी राख्छौं ।’

मनकामना देवीले भन्छिन्, ‘हे तान्त्रिक म तिम्रो भक्तिभावले प्रसन्न भएँ तर गोरखाको मन्दिर छोडेर म सधैं यहाँ बस्न सक्दिनँ ।’ तर, तान्त्रिक मान्दैन । अन्त्यमा हार खाएर मनकामनाले भन्छिन्, ‘तिमीले यसरी कर गरेकाले म यहाँ हरेक वर्ष दसैंको समयमा तिन दिन आएर बस्नेछु’ भनी वचन दिइन् । सो समयदेखि हरेक वर्ष दसैंको बेलामा नवमी, दशमी र एकादशी तीन दिनसम्म मनकामना देवी आफ्ना पति ह्यग्रीव भैरवसँग बुंगमतीमा आउँछिन् भन्ने जनविश्वास रही आएको छ ।

मनकामना देवी वास बसेको ठाउँ मनकामना देवीको शरीरको तल्लो भाग त्यहाँ स्थापना गरी मन्दिर बनाइदिएको र बुंगमतीमा ल्याइएको मनकामना देवीको शरीरको माथिल्लो भाग स्थापना गरी राखिएको हो भन्ने विश्वास गरिएको छ । ह्यग्रीव भैरवले पनि फकाएर ल्याएका मनकामना देवी वर्षमा तीन दिन मात्र बुंगमतीमा बस्छिन् । अरू समयमा गोरखामाको मन्दिरमै बस्छिन् । बुंगमतीमा हुने जात्राको समयमा नवमी, दशमी र एकादशी तीन दिन गोरखाको मनकामनाको मन्दिर बन्द गरिएको हुन्छ । यो समयमा मनकामना देवीको दर्शन गर्न भक्तजन बुंगमतीमै आउने गर्छन् । नेवारहरूले मनकामना देवीलाई अजिमा र ह्यग्रीव भैरवलाई आजु भन्ने गर्छन् । आजु र अजिमा भनेको जिजु बाजे र बज्यै हो ।

दसैंको बेलामा नवमीदेखि एकादशीसम्म तीन दिन मनकामना अजिमा र ह्यग्रीव भैरव आजुको जात्रा मनाउने सन्दर्भमा मनकामना र भैरव विराजमान गराई दुईवटा खट बोकेर जात्रा चलाइन्छ । यी खटको अघिअघि वायुपंखी घोडाको पिठमा सिंहसार्थबाहु सवार गराई नगर परिक्रमा गराइन्छ भने मनकामना र ह्यग्रीव भैरवको खट पूजा थाप्न जाने गरिन्छ । ह्यग्रीव भैरवको मूर्ति एउटा ठूलो आकारको भैरवको मुकुण्डो मात्र भएकाले त्यो ठूलो मुकुण्डोको सट्टा सानो खटमा अट्ने खालको राखिएको हुन्छ ।

मनकामना र ह्यग्रीव भैरवको खट जात्रा गर्नुअघि हनुमानको जात्रा गरिन्छ । जबसम्म हनुमानको सवारी हुँदैन तबसम्म खट जात्रा सुरु गरिन्न । ह्यग्रीव भैरवको मन्दिर तल एउटा बाँस ठड्याई राखेको हुन्छ । त्यहाँ जात्रामा आएकामध्ये एक जनामा हनुमान देवता चढ्यो भने उसले त्यो बाँस समाउँछ । यो बाँसलाई धुसाः पं भनिन्छ । धुसाः पं समाउने नै हनुमान हुन्छ । यसरी हनुमानको आगमन भएपछि पुजारी पानेजुहरूले ह्यग्रीव भैरव र मनकामनाको आगममा पूजा गर्छन्, राँगोको वलि दिन्छन् । रातभर दिनभर मनकामना र ह्यग्रीव भैरवलाई आगममा पूजा थाप्न राखिन्छ । भक्तजनहरूले त्यहाँँ गई पूजा गर्छन् आफ्नो स्वेच्छाले वलि पनि दिने गर्छन् तर त्यहाँ कुखुरा र अन्डा भने चढाउनुहुँदैन भन्ने मान्यता रही आएको छ ।

ह्यग्रीव र मनकामनालाई एकसाथ खटमा राखी हनुमानलाई तीनपटक घुमेपछि मात्र खट जात्रा सुरु गरिन्छ


बुंगमतीको यस जात्रामा हनुमानको पनि जात्रा किन गर्नुपरेको भन्ने सन्दर्भमा एउटा कथा छ । ह्यग्रीव भैरव र भीमसेन मीत रहेछन । सो समयमा ह्यग्रीव भैरवले बुंगमतीको जात्रामा राँगो वलि दिने समयमा आफ्नो मीत भीमसेनलाई भोज खान बोलाएका रहेछन् तर भीमसेन आउँदा ढिला भएछ । राँगो एउटा वलि दिइसकेको रहेछ । अर्को राँगो मार्न लाग्दा भीमसेन आइपुगेछ । ह्यग्रीवलाई के गरूँ के गरूँ भएछ । मुख्य राँगो पाहुनालाई दिन नहुने भएकाले भीमसेनलाई एकैछिन भन्दै पर्खाइ पछाडि गएर आफैंले राँगोको वलि लिएछन् । यो कुरा थाहा पाई रिसाएर मलाई हेला गरेको बदला तिम्रो जात्रामा लिनेछु भनी भीमसेन फर्केर गएछन् ।

दसैंको समयमा जात्रा गर्ने बेलामा भीमसेन आएर मूल ढोकामाथि खुट्टा तेस्र्याएर राखेर खट ल्याउँदा नाघेर बेइजत गर्छु भनी बसेछ । यो कुरा ह्यग्रीवले थाहा पाई आफ्नो इज्जत नजाओस् भनी हनुमानको साथ सहयोग लिएको रहेछन् । तब हनुमानले भीमसेनलाई बाँसले उठाएर धेरै टाढासम्म फ्याँकिदिएको रहेछन् । भीमसेनलाई फ्याँकी सकेपछि मात्र देवताका खट बाहिर निकालेका हुनाले हरेक वर्ष हनुमानको पनि जात्रा गर्ने चलन चलेको हो । जात्रा सुरु हुनुअघि हनुमान बाँसको टुप्पोसम्म गएर चारैतिर अरू केही बाधा छन् कि भनी हेर्ने गर्छन् ।

पानेजु पुजारीहरूले मूल पूजा सकाएपछि देवतालाई तल ल्याइन्छ । ह्यग्रीव र मनकामनालाई खटमा राखी हनुमानलाई तीनपटक घुमेपछि मात्र खट जात्रा सुरु गरिन्छ । बुंगमतीको विभिन्न टोल देउल, लाछी, त्वाःछेँ, नाय्त्वाः, देय्पुखु, तँच्वाक्वः, च्वहेननी, भुन्नख्यः, ध्वलाहिति, चौफः, ग्वानख्यः, पाउली, साःच्व, ताःफः, क्वय् ताःफ्वः, लाखीचा खल्छु, इःखा देउला आदि स्थानहरूमा मनकामना र ह्यग्रीवको खट परिक्रमा गराइन्छ र ती स्थानहरूमा भक्तजनहरूले देवताको दर्शन गर्ने र पूजा पनि गर्ने गर्छन् । बुंगमतीका स्थानीय जनताहरूले उल्लेखनीय रूपमा सहभागिता जनाई यस जात्रालाई रमणीय बनाइरहेको हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

इतिहास संरक्षणमा इलाम नगरपालिका
नेपाल भारत सिमामा गोली लागेर एक युवक घाइते
मिष्टर केपी ओली तपाइको जमानत जफल हुने छ : झलनाथ खनाल
पलेशा पहिलो खेलबाटै आउट
उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका
सबै पास रद्ध, सरकारी र वित्तीय क्षेत्रका कर्मचारीलाई छुट्टै पास

आजको समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस

साताका लोकप्रिय समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

‘बाजुरा बैकुण्ठ रैछ’
Kumar Raut || 26 October 2021
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा...

कुरी-कुरी