लमजुङ सदरमुकाम बेंसीसहरकी भीमकुमारी गुरुङ वर्षदिनपछि आएको दसैं पर्व मनाउने तयारीमा छिन् । उनले घटनास्थापनाको दिन पूजापाठ गरेर जमरा राखिसकेकी छन् । पाँचै दिनसम्म टीका लगाउने परम्परा रहेकाले विदेशमा भएका दाजु दसैंको टीका थाप्न द्वादशीको दिन भए पनि आइपुग्ने उनले बताइन् । नवदुर्गाको १०औं दिन दशमी तिथिमै टीका लगाउन पाइएन भने पनि उनको समुदायले पाँचैं दिनसम्म टीका थाप्छ । मान्यजनको हातबाट टीकाजमरा थापेर आशीर्वाद ग्रहण गर्दछ । अन्य जातजातिले झैं परम्परागत रूपमा दसैंलाई हर्षोल्लासका रूपमा मनाउँदै आएको छ ।
तर, गुरुङ समुदायकै केहीले भने दसैं मान्दैनन् । उनीहरू यो हाम्रो पर्व हैन भन्छन् । त्यसैले त आजभन्दा एक दशकअघि गुरुङ समुदायले दसैं बहिष्कार अभियान नै चलाए । कुरो त्यत्तिमै सीमित रहेन । उनीहरूले यो पर्व हिन्दुहरूको हो गुरुङ जनजातिका लागि हैन भन्दै बहिष्कार अभियानमा रहँदा सम्भावित जातीय भेदभावको अवस्थासम्म निम्तिन पुग्यो ।
यसैबीच, संस्कृतिविद् डा. जगमान गुरुङले सम्झाउने प्रयास गरे । उनले नेपालमा हिन्दु, बौद्ध, आदिवासी, जनजातिलगायतका बीचमा भेद नभएको एकअर्काको आन्द्रा गाँसिएको तर्क प्रस्तुत गर्दै सबै समुदायको पर्व, दसैं हो भने । उनी भन्छन्, ‘दसैं जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दु धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो । हिन्दु, जनजाति, आदिवासीलगायतको बीचमा भेद गराइदिएपछि हिन्दु धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको हो ।’
गुरुङ समुदायकै छाता संस्था तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु दसैं सबैको साझा पर्व भए पनि गुरुङ समुदायको पर्व हैन भनी ठोकुवा गर्दछन् । उनले दसैंमा टीका नथापेको ३३ वर्ष भएछ । ‘विगतमा एकात्मक राज्य सञ्चालनका क्रममा मुख्य चाडको रूपमा मानिँदै आएको हो । पछि आफ्नो समुदायमा चेत भइसकेपछि कोहीले मान्दै आएका छन् । कोहीले मान्दैनन्,’ उनी भन्छन्, ‘त्यसैले सबैले मान्नुपर्छ भन्ने छैन । किन मान्यौ भन्ने पनि हुँदैन ।’
४८ वर्षीय हुमबहादुर तमुले यो पर्वमा टीका नलगाए पनि पारिवारिक भेटघाट तथा सद्भावका रूपमा मनाउने गर्दै आएको बताए । ‘निधारमा टीका थुपारेर मात्र सबै कुरा हुन्छ भन्ने मान्यता पनि केही छैन,’ उनी तर्क गर्छन् ।
गुरुङ जातिको थातथलो गण्डकी प्रदेशमा पनि लमजुङ हो । लमजुङ र कास्कीका गुरुङ समुदायले भिन्न भिन्न ढंगले यो पर्वलाई मान्दै आए पनि एउटै चुरो कुरो भने आपसी भेटघाट, सद्भाव, खानपिन, नाचगान, दुःखसुख साटासाट भने रहने गरेको पाइन्छ । खासगरी बुद्ध तथा क्रिस्चियन धर्म मान्नेले दसैंलाई महत्व नदिने गरेको पाइन्छ । गुरुङ समुदायले दसैंलाई मुख्य चाड नमाने पनि उनीहरू पुस १५ अर्थात् ल्होसारलाई मुख्य चाडका रूपमा मान्ने प्रचलन छ ।
घटनास्थापनामा जमरा राख्ने, घरघरमा गएर टीका लगाउने, आशीर्वाद ग्रहण गर्ने, एकअर्काको घरमा पाकेका मीठामीठा परिकार बाँडेर खाने प्रचलन छ । खासगरी गुरुङ तथा तामाङ समुदायमा सेतो टीका लगाउने प्रचलन छ । उनीहरू विवाह, ल्होसारलगायत शुभकार्यमा दहीमा चामल मिसाएर अबिरबिनै सेतो टीका लगाउने गर्दछन् । लमजुङको मुख्य बसोबास रहेको घले गाउँ, भुजुङ, गिलुङका गुरुङ समुदायमा यो प्रचलन अद्यापि छ । सुरुमा सबै जनजाति तथा क्षेत्री ब्राह्मणले सेतै टीका लाउने चलन थियो । पछिल्लो समय रातो रङ पाइन थालेपछि मात्रै रातो टीका लाउन थालिएको बूढापाका बताउँछन् । उनीहरूका अनुसार व्यापार व्यवसायमा बढी संलग्न नेवार जातिले सबैभन्दा पहिले दसैंमा रातो टीका लाउन थालेका हुन् । तर, अचेल आदिवासी जनजातिमा पनि हिन्दुको कतिपय कुरामा प्रभाव परेको छ । आदिवासी जनजातिको कतिपय कुरामा हिन्दुको पनि प्रभाव परेको छ । त्यसैले नेपालमा यो हिन्दु, बौद्ध, यो आदिवासी, जनजाति भन्ने छुट्याउन समेत सकिँदैन ।
पूर्व प्राध्यापक जनपुकार मुनंकर्मीले आप्mनो नेवार समुदायमा प्रतिपदादेखि दशमीको दिनसम्म दसैं मान्ने प्रचलन रहेको बताउँछन् । प्रतिपदादेखि हरेक दिन एउटा दुर्गाको पूजा गर्दै जाने चलन छ । अष्टमीको साँझ कालरात्रीको पूजा गरिन्छ भने नवमीमा बलि चढाइने गरिन्छ । आफ्नो साधनको पूजाआजा गरिन्छ भने दसैंको दिन टीका लगाइन्छ । अनि पूर्णिमाका दिन दसैं विसर्जन गर्ने चलन रहेको मुनकर्मी बताउँछन् । दाजुभाइ तथा आफन्तमध्ये सबैभन्दा ज्येष्ठ जो छ, उसकोमा गई सबै जना जुटेर टीका लगाउने गरिन्छ । त्यसरी कहिलेकाहीं ६०/७० जनासम्म पनि हुने गरेको उनको अनुभव छ । यसैबीच, दशमीदेखि पूर्णिमासम्म पनि हल्काफुल्का टीका लगाउने प्रचलन रहेको छ । नजिक रहेका आफन्त दशमीको दिनमै मान्यजनको हातबाट टीका थाप्छन् भने टाढाटाढा रहेर आउन नसक्ने पूर्णिमासम्म पनि आए टीका लगाउने प्रचलन गण्डकी प्रदेशका नेवार समुदायमा रहेको उनी बताउँछन् ।
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति डा. केशरजंग बरालले दसैं पर्वलाई आपसी सद्भावका रूपमा मनाउनुपर्नेमा जोड दिन्छन् । उनी मगर समुदायबाट हुर्की बढेको बताउँदै उनको समुदायमा पनि कसैले दसै पर्व मान्ने र कसैले नमान्ने गर्दा रहेछन् । गण्डकी प्रदेश राजधानी पोखरामा बढी मगर समुदाय छैन । तैपनि अरू जातजाति र संस्कृतिले प्रभाव पारेको उनको तर्क छ । तर, गण्डकी प्रदेशका मगर समुदायले दसैंलाई बढी धार्मिक हिसाबले मनाउने गर्दैनन् । विशेषगरी २ दिनलाई महŒवपूर्ण रूपमा लिन्छन् । अष्टमीमा पितृपूजा गर्दछन् । जसरी ब्राह्मण, क्षेत्री समुदायले श्राद्ध गर्छन्, सोही झल्को दिने गरी वर्षमा एकपटक अष्टमीमा पितृपूजा गर्ने प्रचलन गण्डकीका मगर समुदायमा रहेको उनको भनाइ छ । र, दशमीको दिन आफूभन्दा ठूलाबडाको हातको टीका थाप्ने प्रचलन अरू समुदायमा झैं समान रहेको उनको भनाइ छ ।
पोखराका संस्कृतिकर्मी तीर्थ श्रेष्ठले देशका अरू प्रदेशको तुलनामा गण्डकीमा आफ्नै तवरले दसैं मान्ने प्रचलन विगतदेखि चलिआएको बताउँछन् । घटनास्थापनादेखि पूर्णिमासम्म विभिन्न तवरले दसैं पर्व मान्ने गण्डकी प्रदेशका विभिन्न समुदायमा रहेको उनको भनाइ छ । दसैंमा मान्यजनको हातबाट टीका लगाउने, शक्तिपीठमा पूजाआजा गर्ने, मासु खाने, नयाँ कपडा लगाउने, पिङ खेल्नेलगायत प्रचलन विगतदेखि रहे पनि अहिले मासु नै खान, नयाँ कपडा लगाउन दसैं कुर्ने चलन हराएको श्रेष्ठको भनाइ छ । उनका अनुसार गण्डमीमा नवदुर्गाको बेलामा पूजाआजा तथा बलि चढाउन स्याङ्जाको आलमदेवी, नुवाकोट, गोरखाको मनकामना, गोरखकाली, तनहुँको ढोरबाराही, पर्वतको पाठेश्वरी, कास्कीको विन्ध्यवासिनी, भद्रकाली, जाल्पादेवी, तालवाराही, कास्कीकोट, अर्मलाकोट, बागलुङको कालिकालगायतलाई महŒवपूर्ण शक्तिपीठका रूपमा लिने गरिन्छ । यसरी यस प्रदेशका विभिन्न धर्म संस्कृति, रहनसहन मान्ने भए पनि विभिन्न जातजातिले दसैंलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउने गर्दछन् ।
देशका ७ प्रदेशमध्ये गण्डकी प्रदेशको कुल क्षेत्रफल २१ हजार ७ सय ३३ वर्गकिमी छ । यहाँ गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, पर्वत र बागलुङ जिल्ला पर्दछन् । प्रदेशमा ८५ स्थानीय तह छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र गरी ६० निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिका क्षेत्रफल हिसाबले देशकै ठूलो महानगर हो । यस प्रदेशको जनसंख्या कुल २४ लाख ३ हजार ७ सय ५७ जना रहेको छ । विसं २०६८ को जनगणनाअनुसार गण्डकीमा करिब ९० जातजाति सूचीकृत भएका छन् । प्रदेशमा ब्राह्मण (२१.५), मगर (१८.९), क्षेत्री (१३.४), गुरुङ (११.४), कामी (८.७), नेवार (४.३), सार्की (४.१), दमै (३.९), तामाङ (२.१)लगायत जातिको प्रमुख बसोबास छ ।






