काठमाडौं । सरकारले ६ महिनापछि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेको हो । सरकारले लाइसेन्सका लागि आवेदन खुलाउन लागे पनि अब आवेदन दिनेले पुसभन्दा अघि पालो नपाउने भएका छन् ।
यसअघि नै आवेदन दिइसकेकाको परीक्षा सम्पन्न हुन पुससम्म लाग्ने भएकाले त्यसपछि मात्र अब आवेदन दिनेको पालो आउने भएको हो । अहिले पनि पुराना ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदै छ । विगत ६ महिनादेखि कोभिड– १९ का कारण लाइसेन्सको नयाँ आवेदन बन्द हुँदै आएको थियो । विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ आवेदन बन्द हुन पुगेको थियो ।
नयाँले पुसभन्दा अघि पालो नपाउने
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले यही सातासम्म नयाँ आवदेन खुला गर्न लागिएको बताएका छन् । ‘शुक्रबारसम्ममा नयाँ आवेदन फारम खुल्ने छ,’ महानिर्देशक घिमिरेले भने, ‘तर काठमाडौंमा नयाँ आवेदकको ट्रायल दिने पालो पुसभन्दा अघि हुन सम्भव नहोला जस्तो देखिएको छ ।’ काठमाडौं उपत्यकाबाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि गर्ने तयारी गरिएको छ । उपत्यकाबाहिर पुराना आवेदन दिनेको संख्या धेरै नभएकाले लिखित र ट्रायल पनि सँगसँगै गर्ने तयारी गरिएको हो । स्मार्ट लाइसेन्सको छपाइ ढिलाइ हुँदा अहिले काठमाडौं उपत्यकाभित्र लिखित र ट्रायल पास गरेकालाई विभागले परीक्षणकालीन लाइसेन्स दिँदै आएको छ ।
स्मार्ट लाइसेन्सको छपाइमा अहिले पनि सुस्तता देखिएको छ । हाल छपाइको काम बन्द रहेकोमा तिहारपछि सुरु गरिने विभागले जनाएको छ । यसअघि, कोभिड–१९ कारण स्थगित लाइसेन्स परीक्षा भदौ तेस्रो साता खुलाइएको थियो । त्यसयता, विभागले ट्रायल परीक्षा सञ्चालनका लागि कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८ ल्याएर ट्रायल परीक्षा सञ्चालन गराउँदै आएको छ । विभागले साउन अन्तिमबाट नै लाइसेन्स परीक्षा खुलाउने तयारी गरेको थियो ।
पछिल्लो समय कोभिड संक्रमित संख्यामा वृद्धि भएपछि परीक्षा खुलाउन विभागपछि हटेको थियो । पछिल्लोपटक लोकसेवाको परीक्षा तथा कक्षा १२ परीक्षा समेत भौतिक रूपमा हुने भएपछि विभाग लाइसेन्सको परीक्षा खुलाउनेमा पुगेको थियो । अहिले सुधारिएको व्यवस्थाअनुसार परीक्षा सञ्चालन हुँदै आएको छ । विद्यमान लाइसेन्स परीक्षा प्रणालीअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्नेमा अब उक्त प्रणालीलाई सरलीकृत गरेर ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ । जसमा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइने छ । त्यसका आधारमा जम्मा ७० अंक ल्याउनेले ट्रायल पास गर्ने छन् । २०७६ चैतको लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।
अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको थियो ।