जीवन होस् त ‘तोरी’ जस्तै


चापागाउँ (ललितपुर) । मध्याह्न दुई बज्दै ।

कुश्लेचौर डाँडाछेउ घरनिर उभिरहेका ७४ वर्षीय कुमार देशारका नजर शेराफाँटतिर लमतन्न छन् । प्रायः घरपछाडिको पुरानो ‘तेल मिल’मा देखिने उनी शुक्रबार भने बुहारीको ‘कस्मेटिक’ पसलमा टुप्लुक्क बसेका छन् ।

‘पहिले–पहिले यहाँबाटै खेती सुरु हुन्थ्यो, अहिले घरैघर छन्,’ कुमार हस्दै सुनाउँछन्, ‘अहिले त खेतबारीमा पनि तोरी लगाउनै छाडिइसके ।’ उनको मनमा ‘चिन्ता र प्रश्न’ सँगसँगै उम्रन्छन् । अनि, जवाफ पनि मनले नै दिन्छ, ‘खाली जग्गा भए पो तोरी लगाउनु ?’

तोरीसँग उनको सम्बन्ध ‘नङमासु’कै छ । ऊबेलादेखिका ‘तेल साहु’ न हुन्, कुमार देशार । जो अहिले तीन छोराका पिता र ६ नातीनातिनाका हजुर’बा भइसके ।

अब लागौं २०२० सालतिर अर्थात् ५८ वर्षअघि ।

काँधमा खर्पन । दुईतिर तेलको भारी । चापागाउँमा बिजुली–बत्ती आइसकेको थिएन । गाडीको त कुरै छोडौं । टुकीको भरमा थियो, गाउँ । तेल बोकेर कुमार बिहानै निस्कन्थे । हिँडेर एकै घण्टामा सातदोबाटो पुग्थे ।

ठेचो–सुनाकोठी नाघेपछि भने मन ढक्क फुल्थ्यो ।

‘ढोलाहिटी कटेपछि घर देख्न पनि मुश्किल हुन्थ्यो, एक वा दुई घरमात्रै हुन्थे, चारैतिर खेतैखेत, कतैकतै झाडी थिए,’ चापागाउँबाट हिँडेदेखि सातदोबाटो नपुगेसम्मको यात्रा सम्झिन थाल्छन् कुमार, ‘सबै तेल बेचेर साँझसम्म घर फर्किसक्थें । त्यो बेलाको कुरा अहिलेकालाई त दन्त्य कथाझैं लाग्छ होला ।’

तोरी पेलेपछि तेल निस्कन्छ । त्यही तोरी ‘पिना’मा परिणत हुन्छ । अनि, पिना ‘मल’का लागि प्रयोग हुन्छ । कुमार साहुलाई पनि यस्तै लाग्छ, ‘म पनि तोरीजस्तै हुन सकुँ । जुन कहिल्यै खेर जाँदैन ।’

कुमार पाँच वर्षका थिए, त्यही उमेरमा आमा बितिन् । भाइ थिए, डेढ वर्षका । परिवारको जिम्मेवारी काँधमा आइप-यो । पढ्न पाएनन् । चापागाउँदेखि हिँडेरै काठमाडौं, भक्तपुर पुग्थे । खर्पनमा तेलसँगै धान पनि बेच्न हिँड्थे । उनकै शब्दमा ‘दुःखको पहाडै’ उचालियो ।

‘मैले पढेको छैन तर हरहिसाब दुरुस्त गर्न र राख्न सक्छु,’ साल याद गर्न बारम्बार ‘क्याल्कुलेटर’ चलाइरहने कुमार मोटा औला भएका हात उचाल्दै भन्छन्, ‘व्यवहारले मलाई पढायो, सिकायो र बलियो बनायो । जस्तोसुकै दुःख, कष्ट आइपरे पनि म डराउँदिनँ ।’ विद्यालयको आँगन ‘कहिल्यै नटेकेका’ उनी पत्रपत्रिका मज्जाले पढ्न सक्छन् ।

ऊबेला तोरीको तेल पाथीको ३० रुपैयाँ थियो । एक घान तेल पेलेको ज्यालाचाहिँ ‘एक चौथाई तेल’ हुन्थ्यो । ललितपुर दक्षिण भेगदेखि मकवानपुरसम्मकै केन्द्र थियो, कुश्ले चौरको घर । चामल त काठमाडौं र भक्तपुरमै पनि पाइन्थ्यो । तर, घ्यु, गेंडागुडी, पिठोलगायत खाद्य ललितपुर दक्षिण भेगबाट मात्रै भित्रिन्थे । र, कुमार साहुकै घरमा संकलन हुन्थ्यो । बिहानैदेखि चारैतिरबाट ल्याइएका फापर, मकै, गहुँ, भटमास संकलन गर्दागर्दै झमक्कै साँझ पथ्र्यो ।

‘यसरी ल्याइएका घ्यु, गेंडागुडी, पिठो हामी किन्थ्यौं, अनि बिक्री गर्न काठमाडौं, भक्तपुर र ललितपुरकै विभिन्न सहरमा पुग्थ्यौं,’ व्यापारकै क्रममा ८ वर्षकै हुँदा असनका गल्ली–गल्ली चहारेका कुमार ती दिन सम्झन्छन्, ‘पाँच पैसामा तीनथोक सामान आउँथे– जिरा, बेसार र अदुवा । यति किन्दा पनि पाँच पैसा सकिँदैनथ्यो, फिर्तामा मिश्री पाइन्थ्यो ।’

एकपटक सात रोपनी जग्गा ५० हजारमा किन्ने तरखर थियो । सयका ‘५० हजार’ वटा नोट ठिक्कसमेत पारे । ‘बूढीले माथि नै राखौं भन्दै थिइन्, मैले यहीँ पसलमा राखें,’ बसिरहेको कुर्ची कुनातिर देखाउँदै कुमार भन्छन्, ‘भोलिपल्ट चोरी भयो, ५० हजारसँगै अरु पैसा र गरगहना पनि थिए । ती पनि सबै चारले लगेछन् । म कंगाल भएँ, तर हिम्मत हारिनँ । विस्तारै राम्रो हुँदै गयो । कति दुःख कति ? भनेर साध्य छैन ।’

उहिले मासु खान पनि चाडपर्व नै कुर्नुपर्ने अवस्था थियो । थोरै मान्छे, खेतीयोग्य जमिन मनग्य । तरै पनि ढुक्कले दुई छाक खानसक्ने अवस्था थिएन । जति काम गरे पनि मन साँघुरो पारेर खानुपर्ने दिन थिए । अहिले कुमारलाई ‘ती दिन’को सम्झनाले एकोहोरो बनाउ“छ ।

‘पहिले–पहिले यहीँबाट हेर्थें, आँखाले भ्याएसम्म खेत थियो,’ कुश्ले चौर डिलबाट शेराफाँट देखाउँदै गरेका कुमारका नजर परको छम्पीसम्म पुग्छन्, अनि थप्छन्, ‘अहिले यतिका मान्छे बढेका छन्, कसरी खाइहेका होलान्जस्तो लागिरहन्छ, हाम्रो पालामा जति दुःख गरे पनि खानै पुग्दैनथ्यो । जतिसुकै धनी भए पनि आठ ठाउँमा टालेकै लुगा लगाउँथे ।’

कुमारले तेल पेल्ने मेसिन किनेकै ३२ वर्ष भइसक्यो । त्यो मेसिन उनले ४२ हजारमा ‘सेकेन्ड ह्यान्ड’ ल्याएका थिए । यसअघि, उनको मिलमा काठले बनाइएको यन्त्र थियो, त्यो चलाउन आठ जनासम्म जनशक्ति आवश्यक पथ्र्यो । मेसिन ल्याएपछि भने एकैजनाले चलाउन थालियो ।

‘सक्कली काम गर्नेलाई भात खान पनि पुग्दैन, नक्कली काम गर्ने मालामाल छन्,’ गरिबलाई मर्कामा पार्ने काम नगरेको सुनाउने कुमार गर्व गर्छन्, ‘मैले अहिलेसम्म तेलमा मिसकट गरेको छैन । एकदमै शुद्ध हुन्छ । बनेपाबाट पनि यहा“सम्म तेल लिन आइपुग्छन् । विश्वासकै कारण यो सम्भव भएको हो ।’

अब पहिलेजस्तो छैन । कुनै समय चापागाउँकै व्यापारिक केन्द्र ‘कुमार साहु’को आँगन टिकाभैरवतिर कान्ति लोकपथ सुरु भएपछि विरानो बन्दै गयो । राजकुलोको बाटोमा लावा लस्कर आउने यात्री कुश्ले चौर उकालोमा भारी बिसाउँथे, ती दिन पनि सपना भइसके ।

कुमारले २०२० सालपछि खर्पन बोकेर तेल बेच्न छोडिदिए । तर, तेल उत्पादन भने छोडेनन् । उनी अहिले पनि माग भए दिनको ५० लिटरसम्म तेल पेल्न सक्छन् । ‘गाउँठाउँमा तोरी छैन, खेती हुनै छाड्यो, त्यसैले उत्पादन पनि कम छ,’ भन्छन्, ‘वर्षौं भइसक्यो, तोरी पनि अष्ट्रेलिया र ल्हासाबाट आउने गरेको छ ।’

तोरी पेलेपछि तेल निस्कन्छ । त्यही तोरी ‘पिना’मा परिणत हुन्छ । अनि, पिना ‘मल’का लागि प्रयोग हुन्छ । कुमार साहुलाई पनि यस्तै लाग्छ, ‘म पनि तोरीजस्तै हुन सकुँ । जुन कहिल्यै खेर जाँदैन ।’

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी