काठमाडौं । तत्कालका लागि जाम कम गर्ने उद्देश्यले कोटेश्वरमा सर्भिस लेन तथा आकासे पुल बनाउने योजना सुस्ताएको छ । दुवैतर्फ सर्भिस लेन खुलाउने कार्य सुस्त गतिमा अघि बढिरहेको छ भने आकासे पुल निर्माण गर्ने कार्य अलपत्र जस्तै बन्न पुगेको छ ।
काठमाडौंको अत्याधिक जाम हुने सडकखण्ड कोटेश्वरमा निर्माणधीन सर्भिस लेनको एक तर्फी वैशाखभित्रै सञ्चालन हुने बताइए पनि अझै सञ्चालन हुन सकेको छैन ।
सडक डिजिभन कार्यालय कार्यालय काठमाडौंले तत्कालका लागि कोटेश्वरको जाम कम गर्ने उद्देश्यले निर्माण सुरु गरेको सर्भिस लेनअन्तर्गत जडीबुटीदेखि कोटेश्वर चोकसम्मको देब्रे पट्टिको सर्भिस लेन वैशाखभित्रै सञ्चालन हुने जनाएको थियो ।
सरकारी विभिन्न निकायबीच समन्वयमा अभावलगायत कारण सर्भिस लेन निर्माण तोकिएको समयमा खुलाउन नसकिएको सम्वद्ध अधिकारी बताउँछन् ।
सडक विभागले सर्भिस लेन निर्माणलाई तीव्रता दिए पनि विद्युत् प्राधिकरणले बिजुलीको पोल सार्ने कामलाई प्राथमिकता नदिएको आरोप लगाएको छ । डिभिजन प्रमुख कुवेर नेपालीले गत फागुनमा विद्युत् कार्यालयबाट बिजुलीको पोल हटाउन सहयोग मिलेमा वैशाखभित्रै उक्त सर्भिस लेनमा सवारी चलाउन मिल्नेगरी काम भइरहेको बताएका थिए । सडक विभागले अहिले पनि विद्युत् प्राधिकरणले सहयोग नगरेको आरोप लगाउने गरेको छ ।
कोटेश्वरबाट जडीबुटीसम्म देब्रे साइटमा घरको मुआब्जाको विषयले गर्दा सडक खुलाउने काममा ढिलाइ हुन पुगेको छ । यसअघि नै सरकारले मुआब्जा वितरण गरेर उक्त जमिन सरकारको नाममा ल्याइसके पनि स्थानीयले मुआब्जाप्रति असन्तुष्टि जनाउने गरेका छन् ।
यसअघि, अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयलगायत सम्बद्ध पक्षको छलफलबाट सर्भिस लेन खुलाउने सहमति जुटेको थियो । कोटेश्वरमा जाम कम गर्न आकासे पुल (ओभरहेड ब्रिज) निर्माण गर्ने तयारी भए पनि त्यसको टुंगो लागिसकेको छैन । सम्बद्ध निकायले कोटेश्वरको जाम कम गर्न ओभरहेड ब्रिज निर्माणका लागि चासो समेत कम दिएको पाइएको छ ।
अहिले कोटेश्वरमा बिहान–बेलुकीको पिक आवरमा यहाँ यातायात साधन जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ ।
गत १५ पुस २०७६ मा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको थियो ।
कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्ययोजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बाँयातिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना समेटिएको छ ।
यता, तीनकुने–कोटेश्वर–जडीबुटी सडकखण्डको अन्डरपास निर्माणको विषय पनि अलपत्र जस्तै बन्न पुगेको छ । जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको फाइनल रिपोर्ट आउन ढिलाइ भएको छ भने सरकारी पक्षले त्यहीं रिपोर्टको बहाना गरेर अन्य कार्य समेत नगरेको पाइएको छ ।
जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेपछि अन्तिम रिपोर्ट तयार गरी नसकेको बताइएको छ । सडक विभागले पछिल्लोपटक भने जाइकालाई पत्र लेखेर रिपोर्ट’bout चासो देखाएको छ । सरकारले पत्र लेख्दै यसको प्रगति माग गरेको हो ।