डीआईजीको दरबन्दी थप्न गृहमन्त्री सकारात्मक

काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतमा डीआईजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो ।

सोसम्बन्धी प्रस्ताव प्रहरी प्रधान कार्यालय नक्सालले गृृह मन्त्रालयमा पठाइसकेको छ भने गृहमन्त्री बालकृष्ण खाँणसमेत डीआईजीको दरबन्दी थप गर्ने विषयमा सकारात्मक देखिएका छन् ।

गृहमन्त्री खाँणले शनिबार गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमासमेत डीआईजीको संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

‘प्रहरी संगठनमा ८० हजारको दरबन्दी छ तर प्रहरीको संख्या दरबन्दीभन्दा झन्डै ८/९ हजार नै कम छ, पहिले डीआईजीले हेर्ने कतिपय स्थानमा अहिले एसएसपीले नेतृत्व गरिरहेका छन्,’ पत्रकारसँगको भेटघाटमा खाँणले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरीलगायतमा डीआईजीको दरबन्दी थियो, अहिले झन् सुरक्षा चुनौती कम भएको होला त ?, ट्राफिकको समस्या पनि झन् बढ्दो छ ।’

गृहमन्त्री खाँणले सुरक्षाकर्मीबाटै सुरक्षाको गम्भीरतालाई लिएर संख्या बढाउनुपर्ने बहस भएको भन्दै त्यसमा आफू पनि सकारात्मक रहेको भनेका हुन् । डीआईजीको दरबन्दी थपका लागि अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्छ ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गृहमा ६ डीआईजीको संख्या थप गर्न प्रस्ताव गरेको छ । प्रहरीमा प्रशासनका २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआईजीका दरबन्दी थिए । तर, चैत २०७६ मा केपी ओली नेतृत्वको सरकारले प्रशासनका २६ मध्ये १० वटा दरबन्दी कटौती गरी १४ मा झारेको थियो । पछि पुनः ५ दरबन्दी थप गरी १९ पु-याइएको थियो ।

बढुवामा मापदण्ड बनाइँदै

गृहमन्त्री खाँणले प्रहरी कर्मचारीको बढुवाका लागि मन्त्रालयले मापदण्डसमेत बनाइरहेको बताएका छन् । उनले गत आर्थिक वर्ष हुनुपर्ने बढुवा भइसकेको र चालू आर्थिक वर्षमा बढुवाका लागि कार्यसम्पादनका आधारमा हुने उल्लेख गरे ।

‘बाहिरबाट हेर्दा मन्त्रालयले बढुवा रोकेजस्तो देखिन्छ । गत आर्थिक वर्षमा हुने बढुवा भएको थियो, चालू वर्षमा मापदण्ड बनाइँदै छ, कतिपयको कार्यसम्पादन मूल्यांकनका आधारमा पनि बढुवा हुन्छ,’ गृहमन्त्री खाँणले भने ।

उनले लेखापालहरूको सरुवामा पनि गृहले हस्तक्षेप गरेको नभई मापदण्डकै आधारमा सरुवा गर्ने चाहना राखेको स्पष्ट पारे ।
उनले खाली रहेका स्थानमा पदपूर्तिका लागि पनि छिटो प्रक्रियाअघि बढाउन भनिएको बताए ।

को को छन् डीआईजी बन्ने दौडमा ?

डीआईजी बन्ने दौडमा एसएसपीहरू नरबहादुर खत्री, हरिराज वाग्ले, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापालगायत छन् । यसमध्ये केही एसएसपी बढुवामा नपरे मंसिर अन्तिमदेखि पौसभित्र अवकाश हुनेछन् ।

१४ एसएसपीको दरबन्दी पनि थपिँदै

डीआईएजी बढुवासँगै एसएसपीका १४ दरबन्दी थप गर्ने तयारी गृह मन्त्रालयको छ । हाल एसएसपीका ६ पद रिक्त छन् । सरकारले ६ वटा डीआईजीको दरबन्दी थपेमा भने थप ६ गरी १२ वटा स्थान खाली हुनेछ । दरबन्दी थप भएका १४ समेत गर्दा २६ एसएसपी पदरिक्त हुनेछन् ।

गृह मन्त्रालयले थप १० जिल्लामा एसएसपीको दरबन्दी राख्नेगरी एसएसपीको दरबन्दी थप गर्ने तयारी गरेको स्रोत बताउँछ । हाल काठमाडांै र ललितपुरमा एसएसपीको दरबन्दी छ । अब प्रदेशको सदरमुकाम रहेका जिल्ला मोरङ, धनुषासहित पर्सा, चितवन, कास्की, रूपन्देही, कैलाली, बाँके जस्ता जिल्लामा पनि एसएसपीको दरबन्दी सिर्जना गर्ने गृहको तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी