भोजपुरे खुकुरी संकटमा, युवा पुस्ता काम गर्न चाहदैन


भोजपुर । देश, विदेशमा खुकुरीबाट पहिचान बनाएको भोजपुरमा खुकुरी बनाउने कालीगढको पेशा लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावमा यो पेशा लोप हुने अवस्थामा पुगेको हो ।

भोजपुरे खुकुरीको माग स्थानिय बजार, वाहिरी जिल्लासंगै अन्तराष्ट्रिय बजारसम्म हुने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायी बताउँछन् ।

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमि आएको स्थानीय व्यापारीहरुको भनाइ छ । खुकुरी वनाउने पेशालाई अपहेलनाको रुपमा हेरिने गरिएका कारण पनि यो पेशा संकटमा परिरहेको व्यावसायीहरु वताउँछन् ।
उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकरी विश्व बजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै नै माग हुने गरेको छ ।

विगतका वर्षहरुमा धेरै कालीगढ भएपनि पछिल्लो समयमा आएर व्यवसायिक रुपमा यो काम गर्ने मानिसहरुको संख्या न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नको लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेशा संकटमा पर्दै गएको विगत ४० वर्षदेखी कालीगढ पेशा गर्दै आएका हर्क बहादुर विश्वकर्माले बताए ।

मेहनत बढी गर्नु पर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन। त्यसैले पछिल्ला पुस्ताले यो पेशा गर्न रुचाउन छाडे

विश्वकर्माले भने,‘ कालीगढ पेशा संकटमा छ । यो पेशा संकटमा पर्नुको मुख्य कारण यसलाई पुस्तान्तरण गर्न सकिएको छैन । नयाँ पीडिले यो पेशालाई निरन्तरता दिन छाडेको अवस्था छ । यस्तै अवस्था हो भने अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।’
पेशालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए । मानिसहरुले कालीगढ पेशालाई अपहेलनाको रुपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइमा नपरेको उनको भनाइ छ ।

‘मैले ४० वर्षबाट यहि पेशा गरिरहेको छु । यतिका समय यहि पेशा गर्दा पनि मलाई आर्थिक रुपमा समस्या नै छ । मैले राज्यको तर्फबाट खास केहि सुविधा पाएको छैन् । मेहनत बढी गर्नु पर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन। त्यसैले पछिल्ला पुस्ताले यो पेशा गर्न रुचाउन छाडे’ उनले भने ‘यसलाई जिवन्त राख्न राज्यले प्रोत्साहनमुलक कार्यक्रम ल्याउन आवश्यक छ । मैले जस्तो लामो समय यसरी यहि पेशा गर्ने मान्छे पाउन निकै मुस्किल छ । नयाँ पुस्तालाई यस तर्फ आर्कषित गरेर पेशालाई बचाउन सकिन्छ ।’

स्थानीय सरकार आएपनि प्रोत्साहनमुलक सहयोग नपाएको अर्का कालीगढ प्रेमकुमार लुवारको भनाई छ । व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थकोसमेत अभाव रहेको उनको भनाइ छ ।

लुवारले भने,‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ। हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ । सामुदायिक वनबाट सहज रुपमा ल्याउन पाउने अवस्था छैन । हामीले उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको उचित मुल्य पाउन सकेको छैन । विचौलियाको मारमा हामी उत्पादकहरु परेका छौँ। सरकारले यस तर्फपनि ध्यान दिन आवश्यक छ ।’

स्थानीय सरकार तथा सरोकारकावाला पक्षले संरक्षणमा ध्यान नदिएमा पेशा लोप हुने उहाँको भनाइ छ । मेहनत अनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेशामा लाग्नेहरुको संख्या घट्दै गएको लुवारले बताए । पिता पुर्खाले गर्दै आएको पेशालाई निरन्तरता दिएको भएपनि राज्यबाट सहयोग नपाएको लुवारको दुखेसो छ । ‘कालीगढ काममा धेरै दुःख छ । अर्का तिर कच्चा पदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा केहि सहयोग गरी दिए राहत मिल्ने थियो । अहिलेसम्म राज्यले हामीलाई प्रोत्साहन गरेजस्तो लाग्दैन । त्यही भएरपनि धेरैले अब त पेशा नै छाडी सके ।’

परम्परागत पेशालाई संरक्षण गर्न काम गरिरहेको भएपनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले यसमा चासो नदिएको कालीगढहरुको गुनासो छ । राज्यले यहि पेशा गरेर जिवनयापन गर्न सक्ने वातारण निर्माण गरीदिए पेशाको संरक्षणमा टेवा पुग्ने लुवारको भनाइ छ । ‘ पेशाको संरक्षण अहिलेको आवश्यकता हो । राज्यले त्यो वातावरण वनाई दिनुपर्यो। राज्यबाट पनि खास प्रोत्साहन छैन । काम गर्न कठिन छ । मेहनत अनुसारको आम्दानी हुँदैन । यो पेशा गरेर आनन्दले बाच्न सक्ने अवस्था भएमा यसले लोप हुनबाट जोगाउन सकिन्छ ।’ उनले भने ।

भोजपुर बजारका स्थानीय खुकुरी व्यापारी हिरालाल श्रेष्ठले भने,‘हामीेले अहिले अनलाइन मार्फत पनि व्यावसाय गरिरहेका छौँ । कालीगडसँगै कच्चा पदार्थको कारण हामीलाई व्यावसाय सञ्चालनमा समस्या छ । त्यसैले माग अनुसारको खुकुरी दिन सकिएको छैन । बजारको कामलाई धान्न समस्या छ।’

राज्यले उचित वातावरणसंगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यावसाय संकटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।
मुख्य रुपमा खुकुरी वनाउनको लागि आवश्यक पर्ने कोइला, विँडको लागि आवश्यक पर्ने काठको अभाव हुने गरेको छ । कालीगढ पेशालाई बचाई राख्नको लागि खुकुरी वनाउने लगाएतका तालिमहरु सञ्चालन गरिएपनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको खुकुरी व्यावसायी बताउछन्। पेशालाई जोगाई राख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नु पर्ने उनीहरुको सुझाव छ ।
विदेश जाने लहरको कारण गाउघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरणहरु बन्द हुँदा यतिवेला गाउघरको लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीहरुको भनाइ छ ।

‘खुकुरीको स्थानीय स्तरमैे माग बढी छ ।गाउँघरमा परम्परागत रुपमा गरिने पेशा धेरैले छाडी सके । सदरमुकाममा उत्पादन भएका खुकुरी धेरै जसो गाउतिर जान्छ । बाहिरबाट आएको माग पुरा गर्न सकिएको छैन् । यहि अवस्था रहेमा पेशालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ । भोजपुरे खुकुरी नै संकटमा पर्ने अवस्था छ ।’ श्रेष्ठले भने ।

भोजपुरको पहिचानलाई जोगाउदै आएको खुकुरी बनाउने कालीगढ पेशा लोप हुँदै जानु दुखद रहेको जानकारहरुको भनाइ छ । पेशालाई जोगाउन राज्यले कालीगढहरुको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नु पर्ने जानकारले बताउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा सदस्य निर्वाचनः कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धन विजयी हुने निश्चित

कुरी-कुरी