पोखरा । आयोजक सहारा क्लबको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै विभागीय नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले पेनाल्टी सुटआउटमा आयोजक सहारालाई ४–२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धाति समयको खेल १–१ गोलको बराबरी र थप गरिएको समयमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा पुलिसका भारत साह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे । पुलिसका अनुप लिम्बूको प्रहारलाई सहाराका गोलरक्षक अर्पण कार्कीले बचाए । सहाराका लागि पहिलो प्रहार नै सफल भएन । अलरिच सिवेको प्रहार पुलिसका रोशन खड्काले विफल पारे । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा त्रिदेव गुरुङको प्रहार बाहिरियो ।
त्यसअघि खेलको आठौं मिनेटमा पुलिसका नीरकुमार राइको फ्रिकिकलाई उत्कृष्ट बचाउ गर्दा सहाराका गोलरक्षक अर्पण केही घाइते देखिएका थिए । २४औं मिनेटमा सहाराका अनिष पोमु लिम्बुको हेडर क्रसबार नजिकैबाट बाहिरियो । ३९औं मिनेटमा पुलिसका निरकुमार राइको प्रहार क्रसबारमा लाग्दै फर्कियो । ६४औं मिनेटमा सहाराका सुमित श्रेष्ठको उत्कृष्ट प्रहार दोस्रो बारमा लाग्दै फर्कंदा सहारा अग्रता लिनबाट चुक्यो ।
पुलिसका गोलरक्षक रोशन खड्काले नभेटेको बल सेकेन्ड बारमा लाग्दै खड्काको हातमा आएको थियो । ७५औं मिनेटमा पुलिसले भारत साहको गोलमा अग्रता लिएको थियो । तर, सहाराले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा लम्ब्याएको थियो । सहाराका लागि वैकल्पिक खेलाडी अजय श्रेष्ठले गोल गरेका थिए ।