जलवायु परिवर्तन र स्वास्थ्यमा असर

१ सय ९७ देश सदस्य भएको कोप, युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज यूएनएफसीसीसीअन्तर्गतको सम्मेलन हो । सन् १९९५ मार्च २१ मा सन्धि लागू भएपछिको २६आंै संस्करण स्कटल्यान्डको ग्लास्गो सहरमा ३१ अक्टुबरदेखि सुरु भयो । विकसित देशले सन २०२० देखि २०२५ सम्म वार्षिक १ सय बिलियन अमेरिकी डलर विकासशील देशलाई दिने प्रतिबद्धता कागजमै छ । कार्यकारी प्रमुख देउवालगायत वन तथा वातावरणमन्त्री, आधा दर्जन सचिव गरी २० जना सम्मेलनमा भाग लिए । लिडर सम्मेलनमा खुद उत्सर्जन जिरो, राष्ट्रिय अनुकूलन योजना २०२१—२०५०, जलवायुजन्य हानि नोक्सानी तथा एलडीसीबाट तय भएका मुद्दा नै नेपालले उठाएको छ । कोप २७ सन् २०२२ मा इजिप्टमा हुँदै छ ।

वातावरणको परिवर्तनले संसार तातेको छ र यस शताब्दीको अन्त्य वा सन् २१०० सम्म अझ ६ डिग्री सेल्सियस बढ्ने अनुमान छ । यसैका कारण सन् २०५० मा सागरको पानी २१ सेमीमाथि आउनेछ । सागरको छेउछाउ बस्ने १० करोड बेगर हुनेछन्, ३ करोडमा भोकमरी र १७ करोडमा पिउने पानीको समस्या देखिने भविष्यवाणी वैज्ञानिकले गरेका छन् । खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।

वन तथा वातावरण मन्त्रालयको एक अध्ययनमा नेपालले जलवायु परिवर्तनका कारण कुल ग्राहस्थ उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् बढीमा वार्षिक ९० अर्ब नोक्सानि बेहोरिरहेको उल्लेख छ । नेपालको वार्षिक तापक्रम ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको छ र सय वर्षमा ५ डिग्री सेल्सियसले बढ्ने आँकलन छ । हरित गृह ग्याँस अर्थात् ग्रिन हाउस ग्याँस कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनको उत्पादनमा नेपालको हिस्सा ०.१ प्रतिशत छ । वातावरण मन्त्रालयले नेपालमा सन् २०१० मा भने बमोजिम सन् २०३० सम्म १.२, सन २०५० सम्म १ं.७ र सन् २१०० मा आइपुग्दा वृद्धिदर ३ डिग्रीमा तथा विश्वमा ४ डिग्री सेल्सियस पुग्ने आँकलन गरेको थियो । तर, नयाँ तथ्यले झनै बढ्ने संकेत गरेको छ ।

नयाँ रोगहरू देखिँदै
तराईमा मात्र पाइने लामखुट्टे देशभर पाइन थालेपछि हुम्ला, दार्चुला, डोल्पा, मुस्ताङमा पनि औलो, कालाजार पाइन थालेका छन् । विश्वको पहिलो देशको रूपमा कालाज्वर निर्मूलन गर्ने सोचमा रहेको नेपालमा मुगु र प्युठानमा बिरामी फेला परेका छन् र घोषणाको तयारीमा तुषारापात भएको छ । सन् २००० पछि संसारमा २१ बढी नयाँ रोग थपिएका छन् । कुपोषणको अवस्था बढेको छ, मानिस होचा पुड्का हुँदै छन्, शारीरिक र मानसिक रूपमा कमजोर हुँदै छन् । भविष्यमा कुपोषणको समस्या र उत्पन्न स्वास्थ्य समस्याको वृद्धि झनै बढ्ने पक्का छ । कुपोषित नागरिक हुँदा विभिन्न रोगहरूको संक्रमणको खतरा बढ्ने, संक्रमण काल लामो रहने तथा गाम्भीर्यता बढने हुन जान्छ । कमजोर नागरिकका कारण देशको उत्पादकत्व, अर्थतन्त्रलगायतमा पार्ने असर आँक्नै नसक्ने हुन जान्छ ।

खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ

मानवीय स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परिरहेको छ । रोगको प्रकृतिमा पनि परिवर्तन आएको छ । जैविक किटाणुमा पनि औषधि पचाउन सक्ने क्षमता बढेको छ । वृद्धि भएको तापक्रमको कारण मुटु श्वास प्रश्वासजन्य रोग र त्यसका कारण हुने मृत्युदरमा वृद्धि भएको छ । पानीजन्य, कीटजन्य सरुवा तथा चोटपटक, मानसिक, पत्थरी, अन्धोपन र कुपोषणजस्ता नसर्ने रोगहरूको १० देखि १५ गुणासम्म तीव्र वृद्धि भएको पाइन्छ । नेपालमा पनि सन् १९९८ देखि २००८ को तुलना गर्दा १० गुणासम्म किटाणुजन्य रोगमा वृद्धि भएको पाइन्छ । नेपालमा बिरामी हुनेमा ५१ प्रतिशत कारण सरुवा रोग नै पर्छ, जुन जलवायु परिवर्तनसँगै दिन प्रतिदिन बढ्दो छ । नसर्ने रोग मानसिक रोग, चोटपटक, मुटुरोग, क्यान्सर, मिर्गौलाको पत्थरी, अन्धोपना, कुपोषण र त्यसबाट उत्पन्न जटिलताहरू पनि लगातार बढिरहेका छन् । जर्मन वैज्ञानिकका अनुसार विश्वमा भएको बढ्दो तापक्रमले भविष्यमा जन्मने बच्चाहरूमा रांैको संख्या बढ्नेछ । पुरुष रौंमा हुने पुरुष क्रोमोजोमले महिलामा हुने रांैभन्दा बढी गर्मी सहन सक्छ । तसर्थ, अबका बच्चाहरूमा पुरुष रांैको मात्रा बढ्नेछ ।

वातावरण संवेदन मानिएका टाइफाइड, रातो आँउ, हैजा १०आंै गुणाले बढेका छन् । सर्पको टोकाइ पनि ५ गुणाले बढेको छ । विषालु सर्प नपाइने ठाउँमा विषालु तथा पहाडमा पनि तराईमा मात्र पाइने गोमन सर्प पाउन थालिएको छ । कालाजार नेपालको दक्षिण क्षेत्रबाट अहिले उत्तरतिर विस्तार छ । उन्मुलनको अवस्थामा रहेको औलो तराई क्षेत्रबाट पहाडतिर उक्लेको छ । हात्तीपाइले रोग ६० बढी जिल्लामा फैलिएको छ । तराईमा मात्र देखिने क्युलेक्स जातको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस काठमाडौंमा छ । एडिस एजिप्टी लामखुट्टेबाट सर्ने खतरनाक रोग डेंगु अहिले आएर काठमाडौंकै बासिन्दामा पनि देखिइसकेको छ । चिकन गुनिया पनि नेपालमा देखिन थालिसकेको छ ।

घरपालुवा तथा जगंली जनावरको पिसाबबाट मानिसको नांगो खुट्टा हुँदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखापरिसकेको छ । तराई र नदी किनारमा बसोबास गर्ने मानिसमा छालासम्बन्धी समस्या बढेको छ । जीउ चिलाउने, घाउ हुने, खटिरा आउने, तातो हावाका कारण बेहोस हुने र मर्ने बढ्दै छन् । हिमालवासीका अनुहारका छाला डढ्ने, आँखामा असर परेर मोतियाबिन्दु र मोतियाबिन्दु भई अन्धोपन हुने सम्भावना रहने भएकाले भविष्यमा नेपालमा अन्धोपनको संख्या र समस्या धेरै बढ्ने संकेत छ । पहाडी र हिमाली बासिन्दाले पानी कम पिउँछन् तर जलवायु परिवर्तनको कारण पानीको स्रोतहरू कम हुँदै छन् । पानी कम खाने तथा उपलब्धता पनि कम हुने भएपछि पानी अझै कम खाने तर गर्मी बढी हुने, पसिना बढी बग्ने हुँदा शरीरमा पानी कम भई मिर्गौलाको पत्थरी हुने सम्भावना बढ्छ ।

सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडौं मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ

शीतलहरको बेला उत्पन्न हुने निमोनिया, डायरिया, श्वासप्रश्वासको समस्या, दिमागको नसा फुटी पक्षघात, उच्च रक्तचाप बढ्ने र भएकोमा झनै बढ्ने र मृत्यु हुनेको संख्या बढ्दै छ ।

प्राकृतिक प्रकोप :
जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपहरूमा वृद्धि भएको छ । तराईमा शीतलहर तीन÷चार दिन चल्थ्यो । तर, हाल दुई÷तीन हप्तासम्म लम्बिएको छ । जनसंख्या विस्थापन, धनजनको हानि—नोक्सानीले मानसिक तनाव वृद्धि भएको छ । घाउ, चोटपटक, मृत्युजस्ता समस्या आइरहेका छन् । बाढी प्रकोपपछि देखापर्ने झाडापखालालगायतका पानीजन्य रोग बढ्छन् । खानपान, स्वास्थ्य संस्था, बाटो ध्वस्त, आवागमनमा अवरोध, दूषित पानी र सरसफाइमा कमीको कारण पनि स्वास्थ्य समस्या तथा संक्रमण प्रकोपका बेला बढ्छन्, जुन जलवायु परिवर्तनसँगै दिनप्रतिदिन बढ्दो छ । साथै, महाप्रलयको आशंका पनि छ । पुगनपुग १ लाख पीडित र ४ सयको मृत्यु भएको कालिकोट, जाजरकोटमा फैलिएको झाडापखाला, चितवनको डेंगु, अन्य स्थानका स्वाइन फ्लु, बर्डफ्लु पनि यसैसँग जोडिएको पाइन्छ । दसैंपछिको वर्षा, बाढी तथा पहिरो यसैको परिणाम हो ।

ग्लोबल स्टाटस अफ एयरको २०२० को रिर्पाेटमा नेपालमा बर्सेनि वायु प्रदूषणले करिब ४२ हजार मानिसको मृत्यु हुन्छ । जलवायु परिवर्तन र जोखिमतासम्बन्धी अध्ययन २०१० ले नेपाललाई जोखिममा परेको चौथो मुलुकमा राखेको छ । विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनले कुपोषण, मलेरिया, झाडापखाला, गर्मी र तनावबाट संसारभर प्रतिवर्ष लगभग २५ लाखको मृत्यु हुने जनाएको छ ।

अन्तमा, जलवायु तथा मौसमसम्बन्धी परिवर्तनले द्रुतगति लिएमा निकट भविष्य मै बाढी, पहिरो, सामुद्रिक आँधी, अनिकाल, अनावृष्टि तथा भूकम्पसमेत निम्त्याउँदै छ । सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडांै मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ । प्रभाव न्यूनीकरण गर्न कोप–२६ ग्लास्गो घोषणापत्र जारी छ । मन्त्री, मन्त्रालय तथा विभागका कर्मचारी पनि विभिन्न सम्मेलन, गोष्ठीमा हाम फालेर भाग लिन्छन् तर के सिके के गर्नुपर्छ केही कतै भनिँदैन र गरिँदैन पनि । के नेपालले असर कम गर्न सक्ला त ?

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपा पनि चुनावी गठबन्धनतर्फ