बिदेसिएको श्रम स्वदेशमा लगाउन जरुरी

काका भन्छन्, यसपटक तीन वर्ष पछाडि छोरो दसैं मान्न विदेशबाट घर आयो । यो वर्ष तिहार पनि मानेर जाने कुरा छ । छोरी दसैंमा आउन नपाए पनि यूएईबाट तिहारसम्ममा आइन् । हँसिलो अनुहारमा काकाले खुसी बाँड्दै भने, ‘धेरै वर्ष पछाडि यसपटकका चाडबाड रमाइला भए । यसैगरी, ६० को दशक बिताएका पीपलबोटे दाइको दुःखेसो भने बेग्लै छ, उनी भन्छन्, छोरो विदेशबाट नआएको ५ वर्ष भयो । बुहारीले मति बिगारेपछि नातिनातिना हेरेर बस्नु परेको छ । एक वर्ष भयो, बुहारीले घर छाडेर हिँडेको । अरूको घरजम बिगारी दिने पनि उस्तै । श्रीमान्, छोराछोरी छाडेर हिँड्ने पनि उस्तै । छोराले यसपटक पनि दसंै तिहारमा बिदा नपाएकाले आउन पाइनँ भनेर फोन गरेको थियो । अब दुई÷चार महिनामा आउँछु भनेको छ । के गर्नु ? पिर पनि अनेक थरिका । सहनै पर्ने । लामो सुस्केरा हाल्दै पीपलबोटे दाइले छोरा बैदेसिक रोजगारमा गएकाले उसको घर बिग्रिएको कथा सुनाए ।

नयाँ घरे माइला दाइले भने, ‘छोरीले मकाओबाट पठाएको पैसाले गत वर्ष घरमा टिन लगाएँ, यस वर्ष दसैंतिहार खर्च पठाएकी थिइन् । छोराले दुवईबाट घर खर्च पठाउँछ । दुवै छोराछोरीको बिहावारी गर्न बाँकी छ । अब खेत बाँझियो । बारीमा मकै तोरी खेती गर्न पनि नसकिने भइयो । गोठमा भंैसी छैन । न त गोरु नै । गाउँभरिमा तीन हल मात्र गोरु छन् । कसैका पनि बढेका छोराछोरीहरू गाउँमा छैनन् । सबैको हालत उस्तै छ । अहिले गाउँघरमा बाटो आयो । पसलहरू खुले । किनेर खान सुविधा भएको त छ । तर विदेशमा दुःख गरेर पठाएको पैसाले खान लगाउन, केटाकेटीको पढाइ, औषधि मूलो ठिक हुन्छ । बचत हुँदैन । के गर्नु ? नेपालमा रोजगारी नपाए पछि छोराछोरी बिदेसिए । हेर्दा हेर्दै गाउँ बस्ती उजाड भयो ।

माथि उल्लेखित पात्रहरूको दुःखेसो नेपाली समाजको प्रतिनिधि आवाज हुन् । अहिले लाखौंको संख्यामा युवाहरू बिदेसिएका छन् । दिनमा लगभग १५ सयको हाराहारीमा युवाहरू बिदेसिएको सरकारी तथ्यांक छ । देशमा रोजगारीको अभावले युवाहरू बिदेसिन बाध्य भएका हुन् । देशको युवाशक्तिले विदेशमा पसिना बगाउनु भविष्यको शुभ संकेत होइन । गाउ“घरका खेतबारी बाँझिएका छन् । गाउँबस्तीहरू युवाविहीन भएका छन् । विदेशबाट पठाएको रेमिट्यान्सले चुलोचौको चलेको छ । उत्पादन हुने अब्बल खेतबारी झाडीले ढाकेको छ । अरू मुलुकबाट आयात गरिएका चामल, तरकारी, फलफूललगायतका खाद्यवस्तुहरू किनेर गाउँलेहरूको गुजारा चलेको अवस्था छ । खाद्यवस्तुमा परनिर्भरता बढ्दो छ । व्यापार घाटा प्रत्येक वर्ष बढिरहेको छ ।

प्रजातन्त्र पुनस्र्थापनापछि विदेश निर्यात हुन थालेको युवा पुस्ताको ठूलो संख्या विदेशमा छ

देश विकास गर्ने युवाहरूको मेहनत र पसिनाले हो । युवाहरूको जोस, जाँगर, सीप र शक्तिलाई विकास निर्माणका कार्यमा लगाउन नसक्ने देशले कहिल्यै विकास गर्न सक्दैन । देशलाई विकास गर्न वैज्ञानिक रोडम्याप बनाएर देशको आर्थिक पुँजी र मानवस्रोतको उपयोग गरी विकास निर्माण गर्नुपर्नेमा राजनीतिक दलहरू कुति जाने कासीको बाटोझैं युवालाई विदेश निर्यात गरेर विकासका गफ चुटिरहेका छन् । प्रजातन्त्रको पुनस्थापना पछाडि युवाहरू विदेश निर्यात भएका हुन् । युवापुस्ताको ठूलो संख्या विदेशमा छ । स्वदेशमा बाँकी भएका युवा पनि बेरोजगारीले सताइएका छन् । कोही राजनीतिक दलका झन्डा बोक्न बाध्य भएका छन् भने कोही कुलतमा फसेका छन् । देशलाई युवाविहीन बनाएर विकासले कसरी गति लिन सक्छ ? आर्थिक समृद्घि कसरी हुन सक्छ ? यसर्थ राज्यले वैदेसिक कामदारका रूपमा गएका युवा युवतीहरूको परिश्रमलाई स्वदेशमा नै लगाउने कार्य योजना बनाउनुपर्छ ।

देशमा ठूलो राजनीतिक परिवर्तन भयो । यो राजनीतिक परिवर्तनका पछाडि युवापस्ताको ठूलो योगदान छ । इतिहासका कालखण्डहरूमा राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने, देशका लागि रगत बगाउने युवापुस्ता अहिले सबैभन्दा बढी राजनीतिक कुसंस्कारको सिकार भएको छ । स्वदेशमा आयआर्जन गर्ने अवसर नहुँदा युवा काम, माम र रोजगारीका लागि बिदेसिन बाध्य भएका छन् । मजदुर, कान्छा र बहादुरका नाममा विदेशी भूमिमा पसिना बगाउन विवश छन् । दलहरूमा योग्य राजनेताको अभाव छ । गरिब नागरिकलाई बारम्बार ढाँटेर र झुठा सपना बाँडेर निर्वाचनमा भोट आप्mनो पोल्टामा पार्ने र सत्तामा पुगेपछि राज्यको ढुकुटी बर्बाद गर्ने अक्षम नेताहरूको कारण देश बर्बाद भएको छ ।

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । हरेक पालिकामा कुनै न कुनै प्राकृतिक सम्पदाको खानी छ । उत्पादनको सम्भावना छ । युवाहरूले आफ्नै गाउँठाउँमा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने प्रचुर सम्भावना छ । परन्तु, आफ्नै गाउँघरमा आयआर्जनका लागि व्यवसाय खोज्ने, रोज्ने र टिकाउने कार्यमा न त देशको शिक्षा प्रणालीले सहयोग गर्न सक्यो न त राज्यको अक्कल पुग्यो । राज्य धार नभएको खुर्पाजस्तो छ । भिजन, मिसन र एक्सन नभएको प्रभावहीन संयन्त्रका रूपमा सञ्चालित छ । हरेक गाउँहरूमा कृषि, पशुपन्छी पालन, मत्स्य पालन, हल्टिकल्चर, जडीबुटी, कृषि उत्पादनमा आधारित घरेलु उद्योग, पर्यटनको विकासलगायतका क्षेत्रको विकास गरी आयआर्जनको अवसर भए युवाले गाउँ छाड्ने थिएनन् । गाउँहरू आफ्नै उत्पादनमा आत्मनिर्भर हुने थिए । स्थानीयस्तरमा उत्पादन भएका खाद्यवस्तुहरूको किनबेचको कारोबारले आर्थिक समृद्धि हुने थियो । देशले विकासको गति लिने थियो ।

बिदेसिने जनशक्तिलाई स्वदेशमा नै आयआर्जनको अवसर प्रदान गर्न सके विदेशको श्रम र पसिनालाई स्वदेशमा नै उपयोग गर्न सकिन्छ

विदेश पलायनको मनोविज्ञानले ग्रस्त अघिल्लो हरफमा उल्लेखित क्षेत्रहरूमा आधुनिकरण, यान्त्रिकीकरण, बजारीकरण गर्न राज्यले योजना बनाउन आवश्यक छ । प्रत्येक पालिका युवाहरूमा कृषि, पशुपालन, मत्स्यपालन, माहुरीपालन, तरकारी खेती, फलपूmल खेतीलगायतमा आधुनिकीकरण गर्ने ठोस कार्य योजना बनाई लगानी गर्नुपर्छ । यसका साथै कृषि उत्पादनमा आधारित घरेलु उद्योग स्थापना गर्नुपर्छ । यसका लागि व्यावसायिक कृषि उत्पादन र पशुपछी पालनसम्बन्धी तालिम दिने राष्ट्रिय आयोजना बनाउनुपर्छ । खाडी मुलुकलगायतका देशमा रोजगारीका लागि गएका युवाको परिश्रमलाई गाउँघरमा लगानी गर्ने भरपर्दो कार्य योजना बनाएर कृषि क्षेत्रमा विनियोजन गरिएको रकमलाई व्यावसायिक तालिम र सोहीअनुरूपको उत्पादनमा लगानी गर्नुपर्छ । राज्यले बिदेसिएका युवालाई रोजगार दिने योजना बनाउन कृषि विज्ञसँग सहकार्य गर्न अब ढिला गर्नुहुँदैन ।

कृषिमा आधुनिकीकरणबिना देशमा आर्थिक समृद्घि हुन सक्दैन । गाउँघरमा भएका खेतबारीमा आधुनिक कृषिखेती नगरेसम्म उत्पादनमा गाउँहरू आत्मनिर्भर हुन सक्दैनन् । पुरानो तरिकाको जीविकोपार्जनमा आधारित कृषि उत्पादनलाई उन्नत तरिकाले नगदेबालीमा परिणत गर्ने आधुनिक कृषि प्रणालीका लागि हरेक पालिकाले सम्भावित उत्पादनको अनुसन्धान गर्नुपर्छ । कृषि विज्ञसँग सहकार्य गर्नु गर्नुपर्छ । र कृषि प्रणालीलाई व्यावसायिक बनाउने तालिम दिइनुपर्छ ।

देश विकास गर्ने पहिलो सर्त युवाशक्तिलाई देशभित्र नै आयआर्जनका अवसर र उज्ज्वल भविष्यको आषा जगाएर रोक्नु हो । देशमा सिर्जनशील काम गर्नुपर्नेबेलामा राज्यले युवा शक्तिलाई विदेश पठाएर विपे्रषणको भरमा देशको अर्थतन्त्रलाई धान्ने काम गर्नु दुर्भाग्य हो । विकराल भविष्यको संकेत हो । नेपाली युवाहरू रहरले बिदेसिएका होइनन् । स्वदेशमा आयआर्जन गर्न नसक्दा काम, माम र जीवन यापनका लागि छिमेकी वा टाढाका मुलुकमा भौतारिन बाध्य भएका हुन् । त्यसैले युवालाई गास, बास र कपासको सहज व्यवस्था गर्न सक्ने अवसरको सिर्जना गर्न जरुरी छ ।

अन्त्यमा अहिलेको युवाशक्तिले कामको महत्व बुझेको छ । देशविदेशमा हन्डर खाएको छ । पढेलेखेको पनि छ । प्रविधिमैत्री छ । यो जनशक्तिलाई स्वदेशमा नै आयआर्जनको अवसर प्रदान गर्न सके विदेशको श्रम र पसिनालाई स्वदेशमा नै उपयोग गर्न तयार छ । तसर्थ, स्थानीय प्रतिनिधिले आआप्mनो पालिकामा रहेको प्राकृतिक स्रोत र साधन पहिचान गरी हावा, पानी र माटोको आधारमा उत्पादनका सम्भावनाको अध्ययन गरी तदनुरूपको कार्य योजना बनाउन विलम्ब नगरोस् ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस