लखनउमा नेपालका आठ कलाकारको चित्रकला प्रदर्शनी

काठमाडौं । नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको चारदिने प्रदर्शनी सुरु भएको छ । आठ जना नेपाली कलाकारले भारतको लखनउमा आफ्नो चित्रकला प्रदर्शन गरेका छन् । यो प्रदर्शनी ‘माउन्टेन स्याडो’ शीर्षकमा गरिएको छ ।

आठ जना नेपाली कलाकारको कला प्रदर्शनी भारतको लखनउ अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा मँगलबारबाट सुरु भएको हो ।

‘प्रदर्शनीमा अहिले यहाँका कलाप्रेमीहरूको राम्रो सहभागिता रहेको छ । नेपाली कलाकारको कला आफूहरूलाई खुबै मन परेको प्रतिक्रिया उनीहरूले दिएका छन्,’ कलाकार देवेन्द्र थुम्केलीले राजधानीसँग भने । उनका अनुसार सो प्रदर्शनीमा करिब चार दर्जन कलाकृति राखिएका छन् । प्रदर्शनीमा नेपालका कलाकार केशवराज खनाल, देवेन्द्र थुम्केली, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, रवीन्द्र मानन्धर, रवी मिश्र, मनोज तामाङ योञ्जन र रिक गुरुङका कलाकृति रहेका छन् ।

भारतका प्रसिद्ध कलाकार प्रा. जयकृष्ण अग्रवालले नेपाली कला प्रदर्शनीको मंगलबार उद्घाटन गरेका थिए । यो प्रदर्शनीले नेपाल भारतको सम्बन्धलाई कलामार्फत अझ जोडेको उनले बताए । नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक विषय रहेको उनको कथन थियो ।

आयोजक पक्षका अनुसार प्रदर्शनीमा राखिएका नेपालका दृश्यचित्रले कलामा यसको महत्व र आवश्यकता अझै विशिष्ट रहेको आर्ट क्युरेटर रवी सोनीले बताएका छन् । त्यहाँका चित्रकलाका प्रध्यापकहरूले कला सिक्ने विद्यार्थीका लागि समेत यो प्रदर्शनीमा राखिएका कला निकै प्रेरणादायी भएको प्रतिक्रिया नेपाली कलाकारहरूलाई दिएका छन् ।

नेपालबाट कलाकार केशवराज खनालको यो प्रदर्शनीको संयोजन गरेका हुन् । खनालले राजधानीसँग भने, ‘नेपाल र भारतको कैयौं संस्कृतिमा समानता छ । कलाबाट नेपाल भारतको सम्बन्धलाई अझ सशक्त बनाउन यसपटक हामी आठ जना कलाकारले लखनउमा यो कला प्रदर्शनी गरेका हौं ।’ उनले कोरोना कहरपछि नेपाली कलाकारको पहिलोपटक भारतमा सामूहिक कला प्रदर्शनी भएको पनि बताए ।

प्रदर्शनीमा नेपाल ललितकला पत्रकार समाजका अध्यक्षसमेत रहेका कलाकार खनालले सगरमाथा, अन्नपूर्ण, माछापुच्छे्रलगायतका हिमाल तथा काठमाडौं उपत्यकाका सांस्कृतिक विषय झल्किने कलाकृति राखेका छन् । कलाकार चन्द्रश्याम डंगोलले नेपालका परम्परागत ढुंगेधारा, चैत्य तथा बुद्ध मूर्ति राखेका छन् ।

कलाकार रवीन्द्र मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा तथा दृश्यचित्र राखेका छन् भने कलाकार कृष्णगोपाल श्रेष्ठले नेवार संस्कृति, ढुंगेधारा तथा पुरातात्विक सम्पदा झल्किने विषयका कलाकृति राखेका छन् । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले माछापुच्छ्रे, अन्नपूर्ण हिमाल तथा सांस्कृतिक सम्पदाका विषयका चित्र राखेका छन् ।

यस्तै, पोखरेली कलाकार रिक गुरुङ तथा मनोज तामाङ योञ्जनले माछापुच्छ्रे, अन्नपूर्ण, आमादब्लाम, सगरमाथालगायतका हिमालका चित्र र सांस्कृतिक सम्पदा झल्किने कलाकृति राखेका छन् । यस्तै, कलाकार तथा कार्टुनिस्ट रवि मिश्रले दैनिक जनजीवन, सांस्कृतिक तथा सम्पदाका विषयका चित्र प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीको भारततर्फ संयोजन गरेका भारतीय कलाकार अमित कुमारले गरेको पनि खनालले बताए । नेपाल र भारतका कलाकारलाई प्रदर्शनीले नजिक ल्याउन सफल बनाएको कथन अमित कुमारको छ ।

कला स्रोत आर्ट ग्यालरीका डाइरेक्टर मानुषी डिड बानियाले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृति झक्लिने कलाकृतिले सम्बन्धलाई मजबुत बनाउन सकेको बताएकी छन् ।

प्रदर्शनीमा लखनउ कला महाविद्यालयका भूतपूर्व प्रिन्सिपल पी राजीव नयन, अग्रज कलाकार उमेशकुमार सक्सेना, कलाकार राजन श्रीपाद फुलारी, उमेन्द्रप्रताप सिंह, मोहम्मद सकिल, बीबीडी विश्वविद्यालयका मोहित अग्रवाललगायतका कैयौं कलाकारले पनि नेपाली कलाकारको चित्र अवलोकन गरिसकेका छन् । यो प्रदर्शनी शुक्रबारसम्म जारी रहने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी