काठमाडौं । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।
जलवायु परिवर्तनको असर
हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट ठूलो हुने गर्छ ।
हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्छ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् ।
जलवायुजन्य विपद्का कारण नेपालले जोखिम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलनमा जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि सहयोग हुनुपर्ने आवाज उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको सम्मेलनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा अनुकूलनको कार्यक्रमसँगै जलवायुजन्य विपद्बाट हुने क्षतिपूर्तिका लागि सहयोग हुनुपर्नेमा जोड दिए ।
नेपालको पश्चिमी क्षेत्रमा विगत झन्डै ५ सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै जलवायु वैज्ञानिक अरनिको पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् ।
पाँडेसहित वातावरणीय विपद्जन्य अवस्थाका जानकारले हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि पर्याप्त ध्यान जानुपर्नेमा जोड दिएका छन् । नेपालका हिमताल विस्फोट भई विपद् आउन सक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हरेक १० वर्षमा ठूला बाढी आएका छन् । कुनै पनि समय नेपालमा ठूलो प्राकृतिक दुर्घटना नहोला भन्न सकिँदैन ।’ नेपालमा ३ हजार बढी हिमताल छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् ।
त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् । जसले नेपालमा कुनै पनि बेला असर पु¥याउन सक्छ । अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । त्यस्तै, प्रत्येक वर्ष चारवटा ताललाई जोखिम न्यूनीकरण गर्ने योजना रहेको उनको भनाइ छ । पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रूपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमताल खतरामा रहेको उनको भनाइ छ । एक वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना ती तालको सूचीमा पर्छ जसको संरचना र स्वरूप जोखिमयुक्त देखिएको छ ।
के हो हिमताल र कसरी हुन्छ जोखिम ?
हिमनदीबाट आएको हिउँ पग्लेर बनेको पोखरी हो हिमताल । यसको संरचना स्थान र अवस्थाअनुसार कमजोर वा बलियो, स्थायी वा अस्थायी या सानो वा ठूलो हुन सक्छ । हिमाली क्षेत्रमा हिमनदी तल बग्ने वा हिउँको ठूलो अंश खस्ने क्रममा खोँचहरूमा बनेको खाल्टोमा जमेको हिउँ पग्लेर ताल बन्ने गर्छन् ।
यस्तै, हिमताल हिमनदीमै पनि बन्न सक्छन्, अर्थात् हिमनदीको केही क्षेत्रमा हिउँ पग्लेर तालको स्वरूप लिन सक्छ । यस्तै हिमनदीमुनि, हिमनदीमाथि वा हिमनदीको अग्रभागको खोंचमा हिमताल बन्न सक्छन् । यसरी बनेका हिमतालमा पानीको स्रोत हिमनदी वा हिउँ हुन् ।
हिमताल माथिल्लो क्षेत्रमा हुने र तिनीहरू तल्लो क्षेत्रमा बग्ने नदी, खोलाका स्रोत भएकाले कुनै प्रकारको अप्रत्याशित गतिविधिले विपद्को अवस्था आउन सक्छ । हिउँ पग्लेर पानीको मात्रा बढ्दा वा छेउ तथा अन्तिम भागको बाँध कमजोर भएको अवस्थामा हिमतालको पानी ओभर फ्लो (छचल्किएर) वा फुटेर अप्रत्याशित रूपमा बाढीसहितका विपद् आउन सक्छ ।
त्यसले तल्लो क्षेत्रका बस्ती, खेतीपाती तथा नदी आसपासमा बनाइएका विद्युत् आयोजना तथा अरू भौतिक संरचनामा गम्भीर क्षतिको सम्भावना रहन्छ । यस्तै, मानवीय क्षति पनि हुन सक्ने हुँदा तल्लो तटीय क्षेत्रका बस्तीहरू र त्यहाँका बासिन्दाको जनजीविका तथा जलविद्युत्सहितका भौतिक संरचनाका लागि हिमताललाई जोखिमका रूपमा लिने गरिन्छ ।
नेपाल, भारत र चीनको तिब्बतमा ३ हजार ६ सय २४ हिमताल पहिचान गरिएको छ । हिमतालको क्षेत्रफल ९४.४ वर्ग किमिदेखि १२७.६ वर्ग किमिसम्म बढेको पाइएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ ।
तर, सबै हिमताल फुट्ने वा ओभर फलो भएर अप्रत्याशित बाढी आउने सम्भावना हुँदैन । तालको विशेषता र बाँधको अवस्था, स्रोतका रूपमा रहेको हिमनदीको गतिविधि र ’roundको भौगोलिक संरचनाका आधारमा हिमताल जोखिमयुक्त हो कि होइन भन्ने निर्धारण गरिन्छ । कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ३ हजार ६ सय २४ वटा हिमताल छन् ।
तीन जलाधार क्षेत्रमा नेपालसँगै चीनको स्वशासित क्षेत्र तिब्बत तथा भारत पनि पर्छ । अध्ययन प्रतिवेदन अनुसार २ हजार ७० वटा हिमताल नेपालमा, १५ सय ९ वटा हिमताल तिब्बत तथा ४५ वटा हिमताल भारतमा पर्छन् । भेटिएका मध्ये १४ सय १० वटा तालको आकार ०.०२ स्क्वायर किलोमिटर वा त्योभन्दा ठूलो रहेको छ । ०.०२ स्क्वायर किलोमिटर वा त्योभन्दा माथिको आकारका हिमताल फुट्ने वा छचल्किएर अप्रत्याशित बाढी आउने सम्भावना रहेको मानिन्छ ।
नेपाल र हिन्दुकुश हिमालय क्षेत्रमा रहेका अन्य पहाडी मुलुकका लागि हिमताल फुटेर निम्तिने बाढीको उच्च जोखिम कायम छ । हिमनदीको हिउँ पग्लेर ताल बन्ने र ती ताल फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा एक्कासि ठूलो बाढीको प्रकोप सिर्जना गर्न सक्छ ।
पछिल्लो अध्ययन प्रतिवेदनले नेपालको कोसी, गण्डकी र कर्णाली नदीको जलाधार क्षेत्र, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका ४७ हिमताल फुट्ने वा ‘ओभर फ्लो’को खतराको सम्भावनामा रहेको पहिचान गरेको छ । यी हिमताल फुट्ने जोखिममा रहेको र तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुन सक्ने ठूलो जोखिम रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सम्भावित खतरामा रहेका हिमताल चीनमा २५, नेपालमा २१ र एउटा भारतमा छन् । पहिचान गरिएका ४७ सम्भावित खतरामा रहेका हिमतालमध्ये ४२ वटा कोसी जलाधार क्षेत्रमा रहेकाले कोसी तटीय क्षेत्र उच्च जोखिममा रहेको अध्ययनमा संलग्न सूदन विकास महर्जनले बताए ।
इसिमोडमा रिमोट सेन्सिङ र जिओग्राफिक इन्फर्मेसन सिस्टम (जीआईएस) एनालिस्टका रूपमा कार्यरत महर्जनले विशेषगरी हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदी तथा हिमतालहरूको अवस्था’bout अध्ययन गर्दै आएका छन् । गण्डकी जलाधार क्षेत्रका तीन र कर्णाली जलाधार क्षेत्रका दुईवटा हिमताल जोखिममा छन् अध्ययन प्रतिवेदनका अनुसार । पछिल्लो अध्ययन सन् २०११ मा गरेको बृहत्तर अध्ययनमा टेकेर गरिएको इसिमोडले जनाएको छ ।
गण्डकी जलाधार क्षेत्रमा रही सम्भावित जोखिमको सूचीमा रहेका नेपालका दुई हिमतालमध्येको एक हो डोना ताल । मनाङको नासो गाउँपालिका–२ नाचै गाउँमा पर्ने डोना ताल समुद्री सतहबाट ४ हजारमिटर माथिको उचाइमा छ । नाचैका स्थानीय बासिन्दा तथा वडा नम्बर २ का अध्यक्ष भीमबहादुर गुरुङका अनुसार तालको चौडाइ त्यति नबढे पनि लम्बाइ भने निरन्तर बढिरहेको छ ।

वडा अध्यक्ष गुरुङले भने, ‘गुरुङ भाषामा खोंचलाई डोना भनिन्छ र खोंचमा बनेको हुनाले यसलाई डोना ताल भनिएको हो । ठूलागी भनेर चिनिए पनि यसको वास्तविक नाम डोना हो । मनास्लु हिमालको फेदैमा छ । मैले सानै हुँदा देखेको भन्दा अहिले त निकै ठूलो भएको छ यो ताल ।’
नाचैका वडाध्यक्ष गुरुङले भनेजस्तै सन् २०१८ को मेमा मल्टिडिसिप्लिनरी डिजिटल पब्लिसिङ इन्स्टिच्युड (एमडीपीआई) प्रकाशित अनुसन्धान लेखमा रिमोट सेन्सिङमार्फत सन् १९७३ यताको स्याटेलाइट तस्बिरको विश्लेषण गर्दा डोना तालको लम्बाइ निरन्तर बढिरहेको देखिने उल्लेख छ ।
हाल डोना तालको लम्बाइ २५ सय मिटर तथा चौडाइ ७ सय मिटर छ । ०.९ स्क्वायर (वर्ग किलोमिर) किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम गहिराइ ८२ मिटरसम्म छ । ‘जलवायु परिवर्तन र त्यसबाट हिमनदी पग्लेर बन्ने हिमतालमा पर्ने असर तथा त्यसका कारण हुने भौतिक तथा मानवीय क्षति न्यूनीकरण सरकारको प्राथमिकतामा राखिनुपर्छ भन्ने अवधारणा विकास भएको छ,’ हिमतालको अध्ययनमा संलग्न इसिमोडका डा. अरुणभक्त श्रेष्ठले भने, ‘तर तत्कालै जोखिम न्यूनीकरण र प्रतिकार्य योजनाका लागि काम गर्न सकिएको अवस्था भने छैन । हामीले प्रदेश तथा संघ सरकारलाई झकझक्याउने तथा यो क्षेत्रमा काम गर्ने अरू दातृ निकायसँग सहकार्य गर्ने काम भने गरिरहेका छौं ।’
मनास्लु हिमशृंखलाको दक्षिणपश्चिममा रहेको डोना हिमताल हिमनदीमाथि बनेकाले विश्वव्यापी जलवायु परिवर्तन तथा तापमान वृद्धिको क्रम जारी रहँदा हिउँ पग्लेर निरन्तर बढ्दै जाने जोखिम रहेको अध्येताहरूले बताएका छन् ।
डोना ताल फुटेको अवस्थामा मस्र्याङ्दी नदी आसापासका बस्ती, मस्र्याङ्दी नदीमा बनेका जलविद्युत् आयोजना तथा पुलसहितका भौतिक संरचनामा ठूलो क्षति पुग्ने देखिन्छ । मस्र्याङ्दी नदीमा अहिले मध्य मस्र्याङ्दी ७५ मेगावाट, तल्लो मस्र्याङ्दी (तनहुँ) ६९ मेगावाट, लमजुङ भुलभुलेमा माथिल्लो मस्र्याङ्दी–ए ५० मेगावाटको जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
यस्तै, ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ सहितका आयोजना अध्ययनको चरणमा छन् । यदि डोना ताल फुटेर बाढी आएमा यी संरचनामा नोक्सानी पुग्ने हुनाले तत्काल विस्तृत अध्ययन गरी प्रतिकार्य योजना तथा जोखिम न्यूनीकरणका काम गर्नुपर्ने विज्ञले बताएका छन् ।
डोना ताल फुटेर बाढी आएको अवस्थामा ५० अर्ब ५८ करोड रुपैयाँभन्दा बढिको क्षति हुन सक्ने आँकलन गरिएकाले सो सम्भावित नोक्सानी रोक्न वा कमभन्दा कम गर्न सावधानीका उपायको खाँचो रहेको इसिमोड र यूएनडीपीको अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रूपमा भइरहेको तापमान वृद्धिको सिधा असर हिमाल र सो क्षेत्रको पर्यावरणीय अवस्थामा देखिएको छ ।
विभिन्न अध्ययनले सन् २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुसार विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गरेको अवस्थामा पनि सन् २१०० सम्ममा विश्वका एक तिहाइ हिमनदी लोप हुनेछन्
नेपालका हिमताल विज्ञ धनन्यजय रेग्मीका अनुसार हिउँ पग्लिएर हिमताल बढिरहेका छन् । तापक्रम वृद्धि हुँदै जाँदा हिमनदी पग्लिने तथा हिमपहिरो एवं तालहरूमा ढुंगासहितका पदार्थहरू खस्दा फुट्ने जोखिम बढ्दै गएको बताएका रेग्मीले तत्काल विस्तृत स्थलगत अध्ययन र जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्नेमा जोड दिए ।
पछिल्ला अध्ययनलाई आधार मानेर सम्भावित जोखिमयुक्त हिमतालमध्ये केही प्रमुख तालमा जोखिम न्यूनीकरणका लागि परियोजना विकासको काम भइरहेको छ । यूएनडीपीअन्तर्गत जलवायुजन्य जोखिम अनुकूलन तथा विपद्् जोखिम न्यूनीकरण कार्यक्रमका कार्यक्रम अधिकृत दीपक केसीका अनुसार डोना, होंगु, तल्लो वरुण, लुम्दिङ हिमतालमा विस्तृत अध्ययनसहित पानीको सतह घटनाउने, पूर्वसूचना प्रणाली स्थापना गर्ने र सम्भावित जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुसूचित गर्ने उद्देश्यसहितको परियोजना विकासको काम भइरहेको छ ।
विभागका हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख सुवास तुलाधरका अनुसार परियोजना विकासको काम अन्तिम चरणमा पुगेको छ । उनले भने, ‘हरित ऊर्जा कोषबाट अनुमानित ५ अर्बसम्मको परियोजनाका लागि पहल भइरहेको छ, त्यो परेको अवस्थामा विस्तृत अध्ययन गरी पानीको सतह कम गर्ने तथा पूर्वसूचना प्रणाली राख्नेसहितका काम सुरु हुन्छ चार हिमतालहरूमा ।’
उनका अनुसार विभागको तर्फबाट पूर्वसूचना प्रणालीका लागि जलसतह मापन गर्ने राडार लेभल सेन्सर डोना खोलामा आउँदो आर्थिक वर्षमा स्थापना गर्ने तयारी रहेको छ । यस्तै, तल्लो वरुण र च्छो रोल्पा हिमतालको अध्ययनका लागि विभागकै तर्फबाट झन्डै ९५ लाख बजेटको योजना तयारी अवस्थामा रहेको उनले बताए । योजनामा रहेका कतिपय काम कोरोना भाइरसको महामारीका कारण अल्पकालका लागि रोकिएको वा सुस्त भएको उनले बताए । तर, अवस्था सामान्य बन्दै गएपछि हिम सर्वेक्षणसहितका काम पनि गरिने तुलाधरले जनाए ।
यसैगरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको जिम्मेवारी पाएको राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण प्राधिकरणमा हिमतालकै लागि भनेर विशेष कार्यक्रम छैन । तर, विपद्को जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजनाका लागि समन्वयात्मक काम भने हुँदै आएको र गरिने प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बताए । यसरी हेर्दा सरकारी निकायसँग हिमताल र त्यससँग जोडिएका जोखिमलाई लिएर ठोस कार्यक्रम बनेको तथा त्यसका लागि स्रोत छुट्याइएको अवस्था छैन । हिमताल र त्यसका सम्भावित जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दाताको भर पर्नुपर्ने अवस्था रहेकाले विकल्पका रूपमा प्राकृतिक ड्यामका रूपमा हिमताललाई प्रयोग गरेर जलविद्युत् उत्पादन’bout पनि सोच्न सकिने सुझाव सम्बन्धित विज्ञको छ ।
विगतका केही दृश्य
गत असार १ गते मेलम्चीमा अचानक आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥यायो । २०१२ मा सेती जलधारको हिमतालमा चट्टान खस्दा सेतीमा आएको बाढीले १४ घर बगाएको थियो । नेपालले यस्ता घटना थुप्रै भोग्नुपरेको छ । चीनतर्फको हिमताल फुट्दा २०७३ असारमा भोटेकोसीमा आएको बाढीले १ सय २५ भन्दा बढी घर बगाएको थियो भने ३ अर्बभन्दा बढी आर्थिक क्षति पु¥यायो । त्यसअघि, १९३५ मा तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोसीमै आएको बाढीले साढे ६६ हजार वर्गकिमि खेतीयोग्य जमिन कटान गरेको थियो ।
२०१७ मा लाङमाले फुट्दा वरुणमा बाढी आयो । सन् १९८१ मा तिब्बतको झाङजाम्बु हिमताल फुटेर सुनकोसीमा आएको बाढीले सयौं घरसहित १२ वटा पुल, २७ किमि सडक र सुनकोसी पावर हाउस बगाएको थियो । त्यस्तै, १९९८ मा तामपोखरी हिमताल विस्फोट भएर दूधकोसीमा बाढी आउँदा अहिलेको हिसाबमा १ खर्बभन्दा बढी क्षति भएको थियो । यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । पूर्वतयारीमा ध्यान नपु¥याउने हो भने भविष्यमा झन् ठूलो क्षतिको सामना गर्नुपर्ने दीक्षित बताउँछन् । उनले भने, ‘कम्तीमा पनि हामीले खतराको सूचना दिने संयन्त्र जडान गर्नुपर्छ ।’
इसिमोडकै प्रतिवेदनले तल्लो वरुण हिमताल विस्फोट भए ५० हजार जनसंख्या प्रभावित हुन सक्छ । इम्जा हिमताल फुटे सोलुखुम्बुको छेवाङ र नाम्चे बजारसहित, ओखलढुंगा, उदयपुर, सिरहा, सप्तरी र महोत्तरीका ५० हजार बासिन्दा प्रभावित हुने सम्भावना छ । इम्जाजस्तै जोखिमयुक्त सन् १९५० पछि बनेका अधिकांश हिमताल फुट्ने खतरामा छन् ।
दुई तालमा मात्र पूर्वसूचना प्रणाली
इम्जा र च्छोरोल्पा तालमा खतराको पूर्वसूचना दिने प्रणाली जडान गरेको विक्रम श्रेष्ठले बताए । उनले भने, ‘त्यहाँ ताल फुट्नेबित्तिकै संसारको जुनसुकै ठाउँबाट पनि सूचना हेर्न सकिन्छ । हाम्रो त एलर्ट म्यासेज नै आउँछ र हामीले स्थानीयलाई सावधान गराउँछौं ।’ यस्ता खतराका सूचना २ देखि ६ घण्टा पहिले नै आफूहरूले थाहा पाउने उनले बताए । त्यस्तै, आगामी वर्षमा तिब्बतका हिमतालबाट आउने सम्भावित बाढी सूचना दिनको लागि नेपालका बोर्डरहरूमा पनि त्यस्तो प्रणालीको जडान गर्न थालेको पनि उनले जानकारी दिए ।
हिमतालहरूमा पूर्वसूचना प्रणाली जडान हुन नसक्दा समस्या परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले बताए । उनले भने, ‘हिमाली क्षेत्रमा नै कुनै हिमताल फुट्न लागेको जानकारी हामीले पाएमा तल्लो तटीय क्षेत्रमा क्षति कम गर्न सकिन्छ, सूचना दिने यथेष्ट समय पनि हुनेछ ।’