काठमाडौं । कोरोना संक्रमणमा कमी आएपछि बल्ल नेपाली कलाकारहरूको विदेशमा सांगीतिक यात्रा सुरु भएको छ । यसैक्रममा नेपालका कलाकारहरूमध्ये विदेशमा सबैभन्दा बढी कन्सर्ट गर्ने गायक हिमाल सागरले आफ्नो युरोप र अमेरिकाको म्युजिक टुर सार्वजनिक गरेका छन् । हालसम्म विश्वका ३५ वटा देशमा उनले कन्सर्ट गरिसकेका छन् ।
अमेरिकामा दसैंअघि तीन महिना कन्सर्ट गरेर काठमाडौं फर्किएका हिमाल सागरले तीन सातापछिबाट अमेरिकादेखि सांगीतिक यात्रा गर्दैछन् । त्यसपछि आफ्नो युरोपको कन्सर्ट टुर रहेको गायक हिमाल सागरले बताएका छन् ।
कोरोना संक्रमण कम भएपछि अमेरिका पछिल्लो सांगीतिक टुर आधा सम्पन्न गरेर दसैंका लागि नेपाल फर्किएका गायक हिमाल सागरले नयाँ गीत ‘मायाले मायाले’ यतिबेला दर्शक श्रोतामाझ ल्याएका छन् ।
अमेरिका बसाइको बेलामा आफूले यो गीत तयार गरेको हिमालले राजधानीलाई बताए । पूजा शर्मा, जितु नेपाल, पल शाहसहितको अभिनय रहेको यो गीत एक सातादेखि युट्युब नेपालको ट्रेन्डिङमा छ । आफू हरेकपटक विदेशमा हुने सांगीतिक टुरमा रहँदा नयाँ गीत तथा धुन सिर्जना गर्ने र नेपाल फर्किएपछि त्यसलाई रेकर्ड गरेर दर्शकमाझ ल्याउने गरेको उनले बताए । विधान कार्कीले निर्देशन गरेको ‘मायाले मायाले…’ गीतको भिडियोलाई निर्देशन गरेका हुन् ।
यसपटक डिसेम्बरको दोस्रो साताबाट अमेरिकाको आहायो, बाल्टिमोर, लस एन्जलससहित पाँचवटा राज्यमा एक दर्जन कन्सर्ट सम्पन्न गरेपछि आफू युरोप टुरमा जाने हिमाल सागरले बताएका छन् । उनको यो सांगीतिक यात्रा दुई वर्षअघि नै तयार भएको हो ।
यस्तै, अघिल्लो वर्ष नै बुक भएको आफ्नै युरोप कन्सर्ट टुर स्विजरल्यान्डबाट सुरु हुने उनले बताए । त्यसपछि पोर्चुगल, स्पेन, फ्रान्स, फिनल्यान्डमा आठवटा कन्सर्ट तय भएको पनि उनले बताएका छन् । युरोपका अरू केही देशबाट पनि कन्सर्टका लागि प्रस्ताव आएकाले अमेरिकाबाट फर्केपछि आफू डेढ महिना युरोपको कन्सर्टमा हुने पनि हिमाल सागरले बताएका छन् ।
सन २०१२ बाट विदेश यात्रा सुरु गरेका हिमाल सागर कोरोनाको विश्व लहरभन्दा अघि ६ महिना नेपाल र ६ महिना विदेशमा हुन्थे । कोरोनाको महामारीपछि करिब एक वर्ष बिना कन्सर्ट घरमै बस्नुपरेको उनले बताएका छन् । अमेरिकाले कोरोनाको भ्याक्सिन सुरु गरेपछि उनको अमेरिकाबाट फेरि कन्सर्ट सुरु भएको हो । दसैंअघि नौवटा कन्सर्ट सकेर नेपाल आएका उनी अब फेरि अमेरिका नै कन्सर्टमा जाँदै छन् । त्यसपछि युरोपको टुर सकेर बल्ल अस्ट्रेलियाको कन्सर्टमा आफू सहभागी हुने पनि उनले बताएका छन् ।