५ अर्ब लगानीको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस’ आजदेखि सञ्चालनमा आउने

काठमाडौं । मुलुकको व्यावसायिक घराना गोल्यान समूहको मुख्य लगानी रहेको पाँचतारे स्तरको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौं’ आज (सोमबार)बाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड हायातको यो नेपालमा दोस्रो चेन होटल हो । विश्वभर हायातका ३ सय ८५ स्थानमा यस्ता चेन होटलहरू रहेका छन् । काठमाडौंको सोल्टीमोड ताहाचलमा निर्मित हायात प्यालेस काठमाडौंले पत्रकार सम्मेलन गरी सोमबारबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको जानकारी गराएको हो ।

सुरुमा ३ अर्ब ५० करोड रूपैयाँमा निर्माण गर्ने भनिए पनि कोरोना महामारीका कारण त्यसको लागत बढेर अहिले झन्डै ५ अर्ब रूपैयाँ लगानी पुगेको बताइएको छ । सो होटलका अध्यक्ष शक्ति गोल्यानले यस्तो बताएका हुन् ।

उनका अनुसार यो होटल यसअघि नै फ्टलन्च भई आवश्यक पूर्वाधार, सुरक्षा प्रबन्ध, जनशक्तिसहित सञ्चालन भइसकेको छ । सोही क्रममा हायात इन्टरनेसनलका प्रतिनिधिले आएर यसको निरीक्षण पनि गरिसकेका छन् । हायातकै समूहले यहाँका कर्मचारीहरूलाई तालिम दिने काम गरेका थिए । हाल यस होटलमा उच्च व्यवस्थापनमा हायातकै कर्मचारीहरू रहेका छन् । हायात अमेरिकी आथित्यता सत्कारमा उत्कृष्ट कम्पनीको ब्रान्ड हो ।

पाँच वर्षअघि निर्माण सुरु गरिएको यो होटल ताहाचलको सोल्टीमोड नजिकै रहेको छ । यो होटल १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । यसअघि अपार्टमेन्ट बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १५ तले भवनलाई पछि गोल्यान समूहले होटलमा रूपान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

यहाँ निर्मित दुईवटा ठूला भवनमध्ये एउटा अझै पनि अपार्टमेन्टको रूपमा नै रहने बताइएको छ । सो अपार्टमेन्टमा गोल्यान समूहकै कार्यालयहरू रहेका छन् । यस होटलमा परिवारसहित आउने र अपार्टमेन्टमा बस्न चाहने ग्राहकलाई अपार्टमेन्ट उपलब्ध गराइने सो होटलका मुख्य लगानीकर्ता एवं सञ्चालक पवन गोल्यानले जानकारी दिए । उनले यो होटल पाहुनाका लागि निकै राम्रो भएको दाबी गरे ।

यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ । त्यसैले, यो होटल व्यवस्थापनको जिम्मा पनि हायात प्यालेसले नै लिएको छ । सन् २०१६ देखि निर्माण सुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो ।

होटलका सञ्चालक पवन गोल्यानले अब यो होटल आगामी पाँच वर्षमा ब्रेकइभनमा आउने बताए । उनले जानकारी गराएअनुसार हाल यो होटलमा १ सय ५३ वटा कोठा छन् । जसमा तीनवटा स्विट रुम छन् भने १ सय ५० वटा स्ट्यान्डर्ड रुम छन् । जसमध्ये पनि सातवटा रुममा टेरेसको सुविधा रहेको छ ।

यस्तो छ सुविधा
हायात प्यालेस काठमाडौं होटलमा १० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेसे रुम)सहित कुल १ सय ५३ जना कोठा क्षमता रहेको छ । यस होटलमा एउटा अल डे रेस्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल (२४सै घण्टा फिटनेस क्लब), साना तथा ठूला सभा–समारोह आयोजना गर्नका लागि ५० देखि ४ सय जना क्षमताको चारवटा बैंक्वेट हल रहेका छन् ।

ग्राहकको सुविधाका लागि चिल्ड्रेन स्विमिङ पुल, सवारी पार्किङका लागि डबल बेसमेन्ट राखिएको छ । हरेक रुमदेखि रेस्टुरेन्टसम्म नेपालको मौलिक कला संस्कृति झल्किने वस्तुहरू सजाएर राखिएका छन् । अध्यक्ष गोल्यानले ठाउँ अभावका कारण क्यासिनोका लागि ठाउँको व्यवस्था नगरिए पनि वरिपरि जग्गा पाएपछि खरिद गरेर बिस्तारै क्यासिनो पनि सञ्चालन गर्ने योजना रहेको बताए ।

अहिले यस होटलमा खानादेखि सेवा हायातको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रवाह हुने सो कम्पनीले जनाएको छ । यस होटलले ग्राहकको सन्तुष्टि र उनीहरूको चाहनाअनुसारको खानपिनको सुविधा र मनोरञ्जनलाई प्राथमिकता दिने होटलका महाप्रबन्धक बरुण तलवारले बताए । उनले यो होटलको औपचारिक ओपनिङको अवसरमा कम्तीमा पनि १ सयवटा रुम बुक हुने अपेक्षा गरिएको बताए । यसैगरी, सो होटलका अर्का सञ्चालक कमलेशकुमार अग्रवालले ६९ देशका ३ सय ८५ स्थानमा हायातको चेन रहेकाले यो नेटवर्कका कारण आफूहरूलाई अब यो होटलमा कहिले पनि पाहुनाको अभाव नहुने अपेक्षा गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी