अख्तियार अझै जाग्नुपर्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमित स्रोतसाधनका बाबजुद पनि भ्रष्टाचार नियन्त्रणमा राम्रा काम गरिरहेको छ तर अख्तियार यतिमा मात्रै चित्त बुझाएर बस्ने अवस्था छैन । किनकि विभिन्न बहानामा देशमा भ्रष्टाचारजन्य गतिविधि र कार्यहरू बढिरहेका छन् । त्यसैले अख्तियारले आफ्नो भूमिका अझै सशक्त र प्रभावकारी बनाउनुपर्छ ।

पछिल्ला वर्षमा भ्रष्टाचारको डिग्री निकै नै बढिरहेको छ । देश संघीयताको नयाँ संरचनामा गइसकेपछिको अवस्थामा अख्तियार दुरुपयोगको आँकडा सोचेभन्दा निकै बढ्दो छ । यो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्ये १४ हजार ४ सय २५ वटा उजुरी फछ्र्योट भइसकेका छन् । फस्र्यौटका क्रममा अख्तियारले भ्रष्टाचारको आरोपमा ४ सय ४३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । संघीय संरचनाअनुुसार अख्तियारको तहगत छानबिनमा संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका जिम्मेवार मानिस भ्रष्टाचारमा तानिएका छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको खुल्न आएको छ । प्रशासन सेक्टरका हिसाबले शिक्षा, भूमि, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, गृह, ऊर्जा, अर्थ मन्त्रालय मातहतका निकाय बढी भ्रष्टाचारमा मुछिएका छन् । ती निकायमा अख्तियारले आफ्नो निगरानीलाई सशक्त पार्नुपर्छ ।

संख्यात्मक हिसाबले आर्थिक वर्ष २०७७÷७८ मा परेका २२ हजार उजुरीमध्ये १४ हजार मात्र फछ्र्योट भएका र बाँकी ८ हजार भ्रष्टाचारका मुद्दा फछ्र्योट हुन बाँकी रहेका देखिन्छन् ।

सबै जिम्मेवारी सुम्पिएको भनिए पनि अख्तियारमा परेका मुद्दाहरू सबै फैसला गर्न यो निकायलाई सहज भने छैन । कानुनतः कतिपय मुद्दाहरू अख्तियार पस्न नसक्ने खालका हुन्छन् । अख्तियारको नजरमा परे पनि वा अख्तियारमा मुद्दा परे पनि कतिपय विषय अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर पर्ने भएकाले पनि अख्तियारले छानबिन गरी कारबाही बढाउन नसक्ने अवस्था छ । मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयमामा अख्तियार जानकार भए पनि सो क्षेत्रमा छानबिन र मुद्दा दायर गर्न पाउने जिम्मेवार हालसम्म अख्तियारलाई सुम्पिएको छैन । त्यसैले पनि नेपालमा संरचनागत, नीतिगत तथा संस्थागत भ्रष्टाचारले ठाउँ पाइरहेको छ । एकातिर राज्यसत्ता सबल, सुदृृढ र जनपक्षीय बनाउन राज्यसत्तामा रहेकाहरूको मनोबल र नैतिकता उच्च बनाउनु जरुरी छ भने अर्कोतिर आर्थिक अनियमितताका सबै छिद्र बन्द गर्न अख्तियारको हात फुक्का गर्नु पनि जरुरी हुन आएको छ । यसले सार्वजनिक पदाधिकारीलाई स्वच्छ छविका साथ आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न सहयोग पु¥याउने देखिन्छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्ने कामप्रति आयोगलाई सबै पक्षले उतिकै सहयोग पु¥याउनुपर्छ

पछिल्लो समयमा न्यायालयले गरेका कतिपय निर्णयले पनि अख्तियारका काममा बाधा पु¥याइरहेको देखिन्छ । यसले पनि राज्यका निकाय अन्तर निकायमैत्री हुनुपर्ने र एकअर्कामा आवश्यकताका आधारमा सन्तुलनको अवस्था पनि कायम गरिनुपर्ने देखिन आएको छ । अख्तियारले आफ्नो अधिकार क्षेत्रभित्रका कुराहरूको निडर र निर्भिक रूपमा छानबिन गर्न पाउनुपर्छ । सरकारी निकाय र राजनीतिक नेतृत्वले कुनै किसिमको हस्तक्षेप र त्रास देखाउनुहँुदैन । अख्तियारलाई स्वतन्त्रापूर्वक काम गर्न दिनुपर्छ ।

कतिपय सीमा र दायराका कारण पनि अख्तियारले आफ्नो अनुसन्धान कुशलता र सफलतापूर्वक सम्पन्न गर्न सकिरहेको छैन । यसले गर्दा पनि हजारौं मुद्दाहरू अख्तियारमा थन्किएर रहने गरेका छन् । अख्तियारले मुद्दाको प्रकृति हेरी सबै मुद्दाको छिनोफानो गर्न सक्नुपर्छ । यसका लागि सरकारले अख्तियारलाई साधन स्रोत सम्पन्न बनाउनुपर्छ । अख्तियार पनि भ्रष्टचारविरुद्ध जाग्न सक्नुपर्छ ताकि अख्तियारप्रति आमजनताको विश्वास र भरोसा बढ्न सकोस् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी