काठमाडाैं । काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ ।
राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै, उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् ।
राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने विश्वास क्लब फरेनहाइटकोे छ ।
राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोेजकले जनाएको छ ।
यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठको अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।
क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोेजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन् ।