नो एकता, नो एकीकरण: ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेले अब कसैसँग पनि एकता र एकीकरण नगर्ने’ घोषणा गरेका छन् । राजधानीमा बुधबार युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘एमालेले एकता र एकीकरण गर्नुपर्ने कुनै पार्टी नै नभएको’ दाबीसमेत गरे ।

‘अरु पार्टीमा रहेका भने एमालेमा आउन सक्ने’ बताउँदै उनले थपे, ‘अब नेकपा एमालेले एकता र एकीकरण गर्ने कुनै पार्टी नै बाँकी रहेनन् । यसकारण नो एकता, नो एकीकरण । आउनुुहोस्, नेकपा एमालेमा मिलेर काम गरौं ।’

ओलीले ‘अब एकता र एकीकरण को सँग गर्ने ? माधव नेपालसँग ?’ भन्दै प्रश्न पनि गरे । ‘अब एकता एकीकरण, एकताका लागि वार्ता । वार्ता कोसँग ? माधव नेपालसँग गर्ने ? एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरू निद्राबाट ब्युँझिनूस् । ब्युँझिनुस् र फर्किनुस्,’ उनले व्यंग्य कस्दै भने ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गर्दै ओलीले ‘प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने’ औंल्याए ।

‘एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेका छन्,’ ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए तर सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउँलान् । कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा छ, कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको छ ।’

ओलीले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवालाई ठगेको आरोपसमेत लगाए । माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेश पठाएको भन्दै उनले कटाक्षसमेत गरे ।

माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले उनका दुवै नातिनीले बेलायतमा शिक्षा पाएकामा आफूलाई खुसी लागेको टिप्पणी गरे । ‘राम्रो कुरा हो, उहाँका दुवै छोरीका छोरीहरू बेलायतमा पढ्छन्,’ उनले भने, ‘एकदम खुसीको कुरा हो । भरतपुरकी छोरीको पनि पढिछन् अर्कीको पनि । नातिनीहरूले राम्रो शिक्षा पाएका छन्, खुसी लाग्छ ।’

एमाले अध्यक्ष ओलीले प्रश्न गरे, ‘तर, सुखमय जिन्दगी तिनको मात्रै नबनोस् । अरुका छोराछोरीलाई बर्बाद गरिदिने, उल्क्याएर देशलाई द्वन्द्वमा फसाइदिने । कत्तिका कोख रित्तिए ? कतिका सिउँदो पुछिए ? के यो ठीक हो ?’

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी