जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या

काठमाडौं । जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

पूर्ण विवरण १ वर्षपछि आउने

राष्ट्रिय तथ्यांक विभागका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन भने एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्यांक कम्प्युटरमा अपलोड गर्न ६ देखि ९ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाएको छ ।

नेपालको कुल जनसंख्या, महिला र पुरुषको कुल संख्या भने दुईदेखि तीन महिनामा आइसक्ने छ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्यांक विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ ।

यसका लागि विभागले पुसदेखि करिब ३ सय जना तथ्यांक अभिलेखीकरण गर्न करारमा कर्मचारी भर्ना गर्ने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा, कालापानी र छिटपुट घरपरिवारबाहेक शतप्रतिशत गणनामा सहभागी भएको उल्लेख गरेको छ ।

देशभर २५ कात्तिकदेखि सुरु भएको १२औं शृंखलाको राष्ट्रिय जनगणना बुधबार (९ मंसिरमा) सम्पन्न भएको थियो ।

भारतीय अवरोधका कारण लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा प्रत्यक्ष रूपमा जनगणना गर्न सकेको थिएन । सो क्षेत्रको तथ्यांक अत्याधुनिक प्रविधि (स्याटेलाइटलगायत)को प्रयोग गरेर यथार्थ अवस्था सार्वजनिक गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । विभागका अनुसार अहिले त्यो क्षेत्रको जनसंख्या न्यूनतम सात सयदेखि अधिकतम आठ सय रहेको छ । केही विवादित क्षेत्रहरूमा कूटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने उनले बताए ।

विभागका अनुसार जनगणना सम्पन्न भएकाले अब विभागले देशभर सञ्चालनमा ल्याएका ३३ अस्थायी कार्यालय बन्द गर्ने छ । ५४ वटा स्थायी कार्यालय भने यथावत् रहने छन् । जनगणना सञ्चालन गर्न देशभर ७ प्रदेश जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय खोलिएका थिए । देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समय सीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा ८ हजार ५ सय सुपरीवेक्षक परिचालन भएका थिए ।

जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा–जमिनको विवरण संकलन गरिएको छ । त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गरिएको छ । साथै सेवासुविधामाथिको व्यक्तिको पहुँच कस्तो छ भन्ने विषयमा विस्तृत विवरण संकलन गरिएको छ ।

जनगणनाको तयारीदेखि सम्पन्न गर्नेसम्मका सबै काम गर्न पाँच वर्षको अवधिमा ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान विभागको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा पूर्व निर्धारित समयभन्दा करिब ५ महिना ढिलो गरी सञ्चालन भएको १२औं शृंखला सञ्चालन गर्दैगर्दा धेरै कुराहरू सिकेको विभागले जनाएको छ । जनगणनामा डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडा तहसम्मको आधारभूत विवरण संकलन, विदेशस्थित कूटनैतिक नियोगमा इसेन्सस विधिबाट गणना, विवरण संकलनमा विगतभन्दा एक तहमाथिको शैक्षिक योग्यता भएका स्थानीय बेरोजगार युवाको संलग्नता, आदि यसपटकको जनगणनाका प्रमुख विशेषता रहेको महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

विभागले दोलखाको बिगु गाउँपालिका–१ चाइनाको बोर्डरमा रहेको लप्ची गाउँमा पुग्न ३ दिन लाग्ने र जंगलमा २ रात बास बस्नुपरेको अवस्था रहेको उल्लेख गरेको छ । पहाडको ढुगांमा खोपेर बनाएको बाटोमा डोरीमा समातेर हिंड्नुपर्ने रहेको पनि विभागले स्मरण गरेको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन नपा–९ मा कायत जातिको बसोबास रहेकोमा २०६८ सालको जनगणनामा उक्त जाति अलग रूपमा उल्लेख नभएको र हालको गणना उक्त जाति नआउने हो भने जनगणना भाग नलिने भनी केही समय जनगणना प्रभावित भएको थियो । जिल्ला जनगणना कार्यालयले सम्बन्धित समुदायसँग छलफल गरी समस्या समाधान गरेको र जनगणना सुचारू गरी सम्पन्न भएको छ । कायत जाति कायम गर्न विभागमा जानकारी गराउने मौखिक सहमति भएको छ ।

दार्चुला जिल्लाको ब्यास गाउँपालिका–१ मा रहेका छाङरुङ र टिंकर बस्ती पुग्न नेपालतर्फ बाटो नभएको र भारतको बाटो भएर एक दिनमा पुग्न सकिने भएकाले भारत सरकार स्थानीय प्रतिनिधिमार्फत उक्त क्षेत्रमा जान सहमति माग गर्दा पनि सहमति प्राप्त नभएकोले सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीसहित तीन जना उक्त स्थानमा हिंड्ने क्रममा गणक हिंड्न नसकेर बिच बाटोबाट फर्किएको र बाँकी दुई जनाको टोली तीन दिन लगाएर उक्त क्षेत्रमा पुगी जनगणना सम्पन्न गरेको पनि विभागले स्पष्ट पारेको छ ।

जनगणना गर्ने क्रममा कैलाली जिल्लामा एक जना सुपरीवेक्षकको, धादिङ र रसुवा जिल्लामा क्रमशः एक एक जना गणकको मृत्यु भएको, चार जना गणकलाई कुकुरले टोकेको र दुई जना गणकको खुट्टा भाँचिएको अवस्था रहेको पनि विभागले जानकारी दिएको छ भने केही गणकलाई कोरोना भाइरसको संक्रमण समेत देखिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी