ललितपुर । पितृ मोक्ष र उद्धारका लागि आज बिहीबार साँझ देशभरका शिवालयमा बत्ती बालिँदै छ । यही र अघिल्लो वर्ष मृत्यु भएकाको सम्झना र उद्धारका निम्ती बत्ती बाल्ने परम्परा छ । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशी साँझ बालिने बत्तीले पितृ मोक्ष एवं उद्धार हुने जनविश्वास छ । कसै–कसैले हरेक वर्ष नै शिवालयमा गई बत्ती बाल्ने गरेका छन् ।
राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा रहेका १ सय १८ शिवलिंग कैलाश सूर्यघाट गौरीघाट आर्यघाट गुह्येश्वरी पशुपति मृगस्थलीलगायत ठाउँमा अघिल्लो साँझदेखि नै भक्तजनको भिड लाग्ने गर्छ । अघिल्लो वर्ष कोभिडका कारण बत्ती बाल्ने तथा शतबिज छर्ने कार्यक्रम पशुपतिमा गरिएको थिएन ।
यसपाली बत्ती बाल्न र शतविज छर्न भक्तजनलाई अनुमति दिइएको पशुपति क्षेत्र विकास कोषका उपमहानिर्देशक गौरीशंकर पराजुलीले जानकारी दिए । ठुलो दियो या तामाको मानोमा घिउ या तेल राखेर काँचो धाँगाको बत्ती बनाउने प्रचलन छ । कसै–कसैले १२ हातको महादीप पनि बाल्ने गर्छन् । त्रयोदशी साँझ घाम अस्ताउनेबित्तीकै शिवालयमा बालिएको मुख्य बत्तीबाट सल्काएर अरु सल्काउने परम्परा रहेको पण्डित माधवप्रसाद शर्मा बताउँछन् ।
प्रत्येक पितृ या मृत व्यक्तिका नाममा छुट्टाछुट्टै बत्ती बाल्ने गरिन्छ । बत्तीसँगै दियो कलश र गणेश थापेर पुजा गर्ने चलन छ । बत्ती बालेपछि रातभर जाग्राम बसि निभ्न दिइँदैन । बत्ती निभेमा मृत व्यक्तिलाई अप्ठ्यारो परेको मानिन्छ । जसका कारण परिवारका सदस्य पालैपालो बत्ती कुरेर बस्ने चलन छ ।
शिवालयवरिपरि जम्मा भएकाबीच नाचगान तथा रमाइलो गर्ने चलनसमेत छ । बत्ती रातभर बालेपछि भोलिपल्ट सूर्योदय नहुदै जलासयमा बिसर्जन गर्ने परम्परा छ । मंसिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्ति कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोमिश्रित सतबिज छर्ने चलन छ । ‘बालासुर’ राक्षसको नामबाट आएको चतुर्दशीमा सतबिज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।
अघिल्लो साँझबाट भोलिपल्ट सतबिज छर्ने बेलासम्म पितृका नाममा बत्ती बालिन्छ । उता, ललितपुर झरुवारासीस्थित सन्तानेश्वर, लेलेको तिलेश्वर, चापागाँउको जीवनेश्वरलगायत मन्दिरमा पनि सतबिज छर्नेको बिहानैबाट भिड लाग्ने गरेको छ । मृत्यु भएको वर्षले तीन वर्षसम्म मंसिर कृष्ण त्रयोदशीका दिन बत्ती बालेर सतबिज छर्ने चलन छ । ‘परिवारका सदस्यको मृत्यु भएकाकाले दोस्रो वर्षमा शिवालयमा बत्ती बालेर चतुर्दशीका दिन सतबिज छरेर हवन गर्नुपर्छ,’ पण्डित माधवप्रसाद शर्मा भन्छन्, ‘सतबिज छर्नुअघि स्नान भएर शुद्ध हुनुपर्छ ।
अघिल्लो दिनसाँझदेखि बत्ती कुरेर बस्ने हुनाले नाचगान र भजनकिर्तन गर्दै धुनी जगाउने परम्परा चल्दै आएको छ ।’ परापुर्वकालमा पाशुपत क्षेत्रमा ‘बाला’ नाम गरेको मान्छे पोल्ने काम गरेर जीविका चलाइरहेको थियो । एकदिन मरेको मान्छेको गिदी उछिट्टिएर उसको खाने खानेकुरामा परेछ । त्यस दिनसँगै उसले संस्कारका लागि लाश ल्याउनेबित्तीकै लुटेर खाने गरेछ ।
अन्तिम संस्कार हुन नपाउँदा धेरै जना दुखी भए । ‘बाला’ नामक व्यक्ति राक्षस बन्यो । यसरी त्यो राक्षसलाई विभिन्न विधि अपनाएर मारिएछ । त्यही खुसीयाली र ‘मान्छेको मृत कर्म नपुगेको’ भन्दै सतबिज र बत्ती बाल्ने गरिएको कथन छ ।