इलाम । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने हुन सकेको छैन । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिलेसम्म इलाममा जाहाज उडान अन्योल रहेको हो ।
विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण सकिएसंगै इलामबाट जाहाजमा उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसी थिए । छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म उडान परिक्षण नहुँदा इलाम बासीमा निरासा छाएको छ । जिल्लाकै गौरवपुर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलमा जाहाज नउड्नुले आयोजना अलपत्र पर्ने होकि भन्ने चिन्ता देखिन थालेको स्थानीय डम्बर लुली बताउँछन ।
विमानस्थलको काम लकडाउनका कारण केही प्रभाबित बने पनि अहिले विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाइ पार्कीङ्ग गर्ने स्थान समेत कालोपत्र गर्ने काम सम्पन्न भएको छ । आठ करोड ४० लाखमा निर्माणको ठेक्का पाएको आशिष आशिर्वाद स्वामीनारायण जे भी ले आसफाल्ट कँक्रिट सहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको थियो । जसमा सबै काम सकेर जिम्मा लागाएको भएपनि उडानको कुनै तयारी भने देखिँदैन ।
सम्झौता अनुसारको काम समयमानै सम्पन्न भए गत बैशाख महिनामै टेष्ट फ्लाइट गर्ने नेपाल नागरिक उड्यान प्राधिकरणको लक्ष रहेको भएपनि अहिले सम्म उडाउउन सकेको छैन । बिमानस्थलमा अहिले सम्म भएको काम वाहेक थप पुर्वाधारका लागि तारबार गर्ने, स्थायी टर्मीनल भवन बनाउने र सुरक्षा गार्डका लागि क्वाटर बनाउने काम क्रमस लैजाने भनिए पनि हाल अस्थायी रुपका लागि भने निर्माण भएको छ । उडानका लागि मुख्यकाम कालोपत्रेनै रहेको नेपाल नागरिक उड्यान प्राधिकरणका इन्जिनियर विनायक भट्टराई बताउँछन । उनका अनुसार ‘दिर्घकालिन रुपमा एयरपोर्ट चलाउनका लागि टर्मिनल भवनहरु, कन्ट्रोल टावर, तारवारको काम विभिन्न कामहरु ह्ुन्छन त्यसलाई चरणबद्घ बनाउँदै जान्छौ ।’
बिमानस्थलवाट निस्कने भलले त्यस क्षेत्रका बस्तीमा प्रत्यक्ष असर गरेपछि प्राधिकरणले ड्रेन व्यवस्थापनलाई पनि प्राथमिकता दिएर काम गरेको थियो तर नालि भत्किएर लथालिङ्ग बनेको छ । बिमानस्थलबाट माइखोला सम्मै ढल व्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा काम भईसकेको छ । बिमानस्थल निर्माण सम्पन्न भएपछि इलाम ,पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका स्थानियलाई समेत सजह हुने ठानिएको छ । सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो । २०५८ मै प्रकृया थालिएको बिमानस्थल २०६८ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यस गरे पनि लामो समयसम्म निर्माण शुरु हुन सकेको थिएन ।