काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दै सम्पन्न भएको उपमहासचिव एवं नवनियुक्त प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकले नेताहरूको विभागीय जिम्मेवारी तोकेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी तोकिएको छ ।
नेताहरूको जिम्मेवारी बाँडफाँट
पार्टीमा महत्वपूर्ण जिम्मेवारी रहने संगठन विभाग प्रमुखको जिम्मेवारी ओलीनिकट नेता खगराज अधिकारीले पाएका छन् भने सबै परिस्थितिमा साथ दिँदै आएका प्रदीप ज्ञवालीले स्कुल विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै, प्रचार विभाग प्रमुखको रूपमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जिम्मेवारी पाएका छन् ।
ओलीसँगै रहँदै आएका अर्का उपमहासचिव विष्णु रिमालले आर्थिक लेखालगायतको जिम्मेवारी पाउँदा एमाले–माओवादी एकतापछि बनेको नेकपामा महासचिवको जिम्मेवारी पाएका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संगठनः अनुगमन विभागको जिम्मेवारी पाएका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान र उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तह प्रदेश र संघ विभागको जिम्मेवारी पाएका छन् । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय र उपाध्यक्ष सुवास नेम्वाङले संसदीय अनुगमन विभागको जिम्मेवारी पाएका छन् ।
पूर्वमाओवादीबाट एमाले भएका उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय सुरक्षा र अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजकीय मामिलाको जिम्मेवारी पाएका छन् ।
अघिल्लो कमिटीमा प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराईले यसपटक स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन् भने कार्यालय सचिवको जिम्मेवारी भीष्म अधिकारीले पाएका छन् ।
प्रदेश पदाधिकारी चयन
एमाले केन्द्रीय कमिटीको बैठकले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहनेगरी सबै प्रदेशमा नियुक्त गरेको हो ।
२३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले ७ भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरी ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो ।
पदाधिकारीको आपत्ति
यसैबीच, बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि गरेको प्रस्तावमा पदाधिकारीहरूले आपत्ति जनाएका छन् । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले आपत्ति जनाएको बैठकमा सहभागी एक नेताले बताए ।
अध्यक्ष ओलीले विवादित व्यक्ति झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंका साथै विद्यार्थी नेता ऐन महरसहित केही नाम प्रस्ताव गरेका थिए । ओलीले गरेको प्रस्तावमा नाम नलिई उपाध्यक्षद्वय शाक्य र ज्ञवालीले आपत्ति जनाएका हुन् ।
शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताउँदै छलफल र सल्लाह नभएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘अध्यक्षले यसअघि नै छलफल र सल्लाह गर्नु भए सजिलो हुन्थ्यो, छलफल भएन । मूल्यांकनको परिपाटी हिजो थियो नि’ शाक्यको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
अर्का उपाध्यक्ष ज्ञवालीले पनि ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, ‘एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ । १९ जनाको पदाधिकारी टिमले सल्लाह गरौं । दिनरात छलफल गरौं । छलफल गरिएन, सामूहिक नेतृत्वमा पार्टी चलाऔं मेरो यही अनुरोध छ,’ ज्ञवालीले भने ।
ओलीको प्रस्तावित नाममा केही विद्यार्थी राजनीति गरिरहेका नेताहरू समेत परेका छन् । तिनको नामलाई लिएर नेतृत्वबाट सही मूल्यांकन नभएको भन्दै विरोध भएको हो ।
अभियान सञ्चालन हुने
यसैबीच एमालेले फागुन महिनासम्म पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ । स्थायी समितिका सदस्य कर्णबहादुर थापाले पार्टीले अभियान सञ्चालन गर्ने बताए ।
बैठकमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको समीक्षा भएको छ । बैठकको सुरुमा यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यलाई शपथग्रहण गराइएको थियो । यस्तै, केन्द्रीय कमिटी सदस्यलाई प्रमाणपत्र वितरण गरिएको गरिएको छ ।
‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका छौं । यस्तै, पार्टी प्रवेश अभियान सञ्चालन हुनेछ । एमालेको विचार, सिद्धान्त स्वीकार गरेर पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिने’bout पार्टीले अभियानका रूपमा अगाडि बढाउनेछ । यो अभियान फागुन महिनासम्म सञ्चालन हुन्छ,’ थापाले भने ।
यस्तै, बैठकले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन गर्ने निर्णय गरेको छ । बैठकले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको सचिव योगेश भट्टराईले जनाएका छन् ।
बैठकमा अध्यक्ष ओलीले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्षका लागि प्रस्ताव गरेका हुन् । बोहोरा यसअघि उमेर हदका कारण एमालेको सक्रिय राजनीतिबाट बिदा लिएका थिए । यसअघि उनी अनुशासन आयोगका अध्यक्ष रहेका थिए ।