संसद्को गरिमा बचाइराख

मंसिर २८ गते मंगलबारबाट संसद्को हिउँदे अधिवेशन प्रारम्भ भए पनि यसले भित्री र बाहिरी संकट एकैपटक झेल्नुपर्दा अब संसद् नै कमजोर हुँदै जाने त होइन भन्ने आशंका सिर्जना हुन गएको छ । संसद् प्रारम्भ हुँदाकै बखत संसद्भित्र प्रतिपक्षीदल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वर्षे अधिवेशनमा उठाएका आफ्ना मागहरूलाई निरन्तरता दिएर संसद्भित्र विरोध र अवरोध गरिरहेको छ । अर्कोतिर, अमेरिकाको वासिंगटनमा मंगलबार नै एमसीसीको बैठक बस्नु र नेपालले एमसीसी पारित गरिदिनका लागिदिएको डेटलाइन पनि यही मितिमा पर्न जानुका कारणले संसद्बाहिर पनि विरोध प्रदर्शन र नाराबाजी चलिरहेको छ । संसद्भित्र र बाहिर विरोध र नाराबाजी हुन जाँदा कतै यसले सार्वभौम संसद्लाई नै कमजोर बनाउने दिशातिर त डो-याउन पुग्ने होइन भन्ने आशंकाले बल पाएको छ । संसद् पटकपटक बस्ने र स्थगित गरिने गरिए पनि देशको नीतिनिर्माण गर्ने एक मात्र सार्वभौम थलो निष्काम र अकर्मण्य रहन गएमा अबका दिनमा के होला ? भन्ने तर्कवितर्क पनि उठिरहेका छन् । यो स्वाभाविक पनि हो । यसको अर्थ प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीमा चित्त नबुझेको कुरामा विरोध गर्न भने पाइन्छ ।

संसद्भित्र र बाहिर भइरहेको विरोधको प्रकृतिलाई हेर्दा संसद् आफंैमा पनि परिपक्व एजेन्डा लिएर हिँडेको देखिँदैन । यसले लिएका बिजनेस र ती बिजनेस माथि एजेन्डावाइज छलफल तथा युक्तियुक्त निर्णयका लागि संसद् सचिवालय आफैंले पनि बृहत् कार्ययोजना बनाउनु जरुरी हुन्छ । सभामुख सबैका साझा हुने भएकाले उनले सबैसँग निरन्तर सम्पर्कमा रही छलफल र बहस गर्दै संसद्भित्र प्रस्तुत गरिने एजेन्डा पारित गराउने वातावरण निर्माणमा लाग्नुपर्छ । संसद्मा दिइने बिजनेस मूलतः सरकारको हुन्छ । संसदीय व्यवस्थामा सरकार पक्ष र प्रतिपक्ष हुन्छ, सरकारले गरेका कामकारबाहीहरूमा यसले आलोचनात्मक प्रवृत्ति अंगाल्ने गर्छ । यो नै संसदीय परिपाटीको सुन्दर र प्रजातान्त्रिक पक्ष हो । यसलाई सभामुख र यसको सचिवालयले सकारात्मक र आलोचनात्मक सकारात्मकताका रूपमा स्वीकार गरी संसद्को बिजनेसमा सहजता ल्याउन निरन्तर प्रयास गरिरहनुपर्छ । यसैमा सार्वभौम संसद् र संसदीय व्यस्थाको प्राण निहित हुन्छ । अहिलेको सन्दर्भमा सरकार ढलाउने र बनाउने खेलका कारण नेपाल अझैं पनि कतै न कतै राजनीतिक संक्रमणको धङधङीमा रहेको हो कि भन्ने स्पष्ट देखिएको छ । यसलाई सापेक्ष स्थायित्व प्रदान गर्नका लागि राजनीतिक दल र त्यो दलका नेताहरूका साथै संसद् सम्हालिरहेका पार्टीहरू निकै सजग र सतर्क रहन सक्नुपर्छ । सरकारले प्रमुख प्रतिपक्षीसँग संवाद र छलफल गरी समस्या समाधान गरेर संसद्को गतिरोध हटाउन उपयुक्त भूमिका खेल्न सक्नुपर्छ भने प्रतिपक्षीले पनि मेरो गोरुको बाह्रै टक्काको व्यवहार गर्नु उचित हुँदैन ।

संसद् र संसदीय प्रक्रियामा लगिने कुराहरू छलछाम र धुत्याइँका साथ लैजाने र पारित गरिने बानी हटाउनुपर्छ । जनतामा आशंका जाग्ने सम्भावित कुरा जनताकै बीचमा लगेर स्पष्ट पारिनुपर्छ । जनप्रतिनिधिले प्रत्यक्ष रूपमा जनताबीच भोट मागेर विजयप्राप्त गरी संसद्मा पुगेको यथार्थतालाई भुल्नुहुँदैन । हरेक कुराको आफ्नै सकारनकार विरासत हुन्छ । नेपालको संसद्को पनि आफ्नै विरासत छ । नेपाली संसद्को नकारात्मक विरासत भनेको देश र जनताका लागि कुभलो र अपाच्य हुने एजेन्डामध्ये रातमा पारित गरिनु हो । यो स्वयं पारितकर्ता सांसद, यसका नेता तथा नीतिनिर्माणको सार्वभौम थलो संसद्का लागि पनि सही होइन । त्यसैले छलछाममा होइन, छलफलको प्रक्रियामा गएमा सार्वभौम संसद्को भित्र र बाहिरका समस्याहरूको हल गर्न प्रयत्न गर । यी सबै कुरा हामी सबैका कमीकमजोरीका कारण उत्पन्न भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी