कांग्रेसमा उदाउँदै ‘कोइराला लिगेसी’

नेपाली कांग्रेस महाधिवेशनको सभापतिको मत परिणामले वर्तमान र आगतलाई स्पष्ट देखाएको छ । सभापतिमा विजय भएपछि वर्तमानमा देउवा बलिया बनेर आएका छन् तर आउँदा दिनहरूलाई हेर्ने हो भने कोइराला लिगेसी एक सिंगो धारका रूपमा उदाउँदै आएको छ । बीचका मध्यमार्गीहरूको यसबीचमा कुनै स्थान पनि रहन सकेको छैन । मध्यमार्गीहरूको पार्टी हो नेपाली कांग्रेस । तर, पनि यसका नेता र नेतृत्वका लागि डाइहार्ड नेतृत्व जरुरी हुन्छ । यो नेतृत्व एकातिर देउवाले दिएका छन् भने अर्कोतिर शेखर कोइरालाले । पार्टी सभापतिमा हारपछि शेखर कोइरालाको सन्तुलित र सौम्य अभिव्यक्तिले पनि यसको छनक दिएको छ । अर्कोतिर देउवाले विजय आफ्नो हातमा पारेर पनि उनी प्रफुल्ल मुद्रामा अभिव्यक्त हुन सकेका छैनन् । उनलाई भविष्यले तर्साइसकेको छ । उनीपछिको उत्तराधिकारी को त ? हुन् सक्छन्, उनै प्रतिस्पर्धी शेखर कोइराला । किनकि, बीचमा देउवासँग प्रतिस्पर्धा गरेका अरू सबै प्रतिस्पर्धी अन्ततः देउवाका भए । यसका पछाडि दुईवटा कुराले काम गरेका हुन सक्छन् । पहिलो, आफ्ना समकक्षी शेखरलाई केको सभापति मान्नु र दोस्रो आफ्नो उमेर अवस्थाअनुसार अर्कोपटक पालो आउँछ वा आउँदैन, अहिले नै केही उपलब्धि हात लाइहाल्नु ।

यस कारण पनि देउवाका प्रतिस्पर्धीले शेखर कोइरालालाई छोडी दोस्रो चरणको मतदानमा देउवालाई समर्थन जनाउन पुगे । तर, यसले कोइरालाको लिगेसी बोकेका शेखर कोइरालालाई सम्भावित बलियो उत्तराधिकारीका रूपमा स्थापित गर्ने अवसर प्रदान ग¥यो । राजनीतिले देखाउने कुरा के हो भने आउँदा दिनमा शेखरका अगाडि प्रकाशमान सिंह, विमलेन्द्र निधिको उचाइ शेखरको समकक्षीका रूपमा हुनेछैन । यसको सिधा अर्थ हो, अबको विकल्प भनेका शेखर कोइराला वा कोइराला लिगेसी । १४औं महाधिवेशनबाट विमलेन्द्र र प्रकाशमान सिंहको समर्थनमा शेखर निर्वाचित भएर आउँथे भने ‘कोइराला लिगेसी’ नेपाली कांग्रेसमा स्थापित हुने थिएन । अहिलेको महाधिवेशनबाट देउवा विजय हुनु र शेखर कोइराला एक मात्र प्रतिस्पर्धीका रूपमा खडा हुन सक्नुले कोइराला लिगेसी पुनः स्थापित हुन सक्ने बलियो राजनीतिक जग निर्माण गरिदिएको छ । अहिले छायामा परेको तर भोलिका दिनमा सतहमा आउने नेपाली कांग्रेसभित्रको राजनीतिक यथार्थता यही नै हो । यसको अर्थ कोइराला लिगेसी नेतृत्वमा आउनका लागि वातावरण निकै सहज छ भन्ने पनि होइन । पछिल्लो समयमा स्थापित नेतृत्व गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला अहिले देउवाको पक्षमा देखापरेकी छन् ।

गिरिजापुत्रीलगायत अरूहरूलाई पनि खेमा बन्दी गर्न शेखर र उनको नेतृत्वले कति प्रयत्न गर्छ, त्यसमा भर पर्ने देखिन्छ । अर्को कुरा, प्रजातन्त्रमा कुनै परिवार विशेषको लिगेसी राम्रो मानिँदैन । भारतमा ‘नेहरु लिगेसी’ त्यति फाफेको देखिएन । अहिले भारतीय कांग्रेस आई सत्ताबाहिर छ र निकै कमजोर प्रतिपक्षका रूपमा रहेको छ । यो पनि शेखर कोइरालाका लागि फलामको च्युरा चपाएसरह हुने देखिन्छ । नेपाली कांग्रेसको तल्ला तहमा नयाँ पुस्ता त आइरहेको छ तर अबको पाँच वर्षमा शेखर कोइरालाको बुढो पुस्तामा गणना हुने देखिन्छ । कोइराला लिगेसीका रूपमा आउन खोजेको यो प्रक्रियालाई शेखरलगायतका कोइराला परिवारले प्रजातान्त्रिक परिपाटीमा ढालिदिए भने त्यसपछिका पुस्ताको पनि बाटो खुल्ने देखिन्छ । जेसुकै भए पनि नेतृत्वमा नैतिकता र इमानदारिता अपरिहार्य हुन्छ । अहिलेको नेतृत्वमा त्यस्तो पक्ष छ वा छैन भन्ने कुरा कांग्रेसका कार्यकर्तालाई राम्ररी नै थाहा हुनुपर्छ र कार्यकर्ताले आफ्नो नेतृत्वलाई त्यसमा हिँडाउन सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी