अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा बोलाइएको लोकतन्त्रिक शिखर सम्मेलनमा सहभागिताका लागि तैयार अवस्थामा रहेको भारतले, नयाँ दिल्लीमा २१औं भारत–रुस वार्षिक शिखर वार्तामा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको आतिथ्य गर्नुको दूरगामी महत्व छ । कोभिड महामारी सुरु भएको दुई वर्षमा व्यक्तिगत रूपमा पुटिनको यो पहिलो विदेशयात्रा थियो । अमेरिकासित भारतको नजिकिँदो दुईपक्षीय सम्बन्ध र चीनसित रुसको बढ्दो घनिष्ठताका बाबजुद पुटिनले ६ घण्टाको यात्रालाई पूरा गरी ६ घण्टाका निम्ति मात्र भए पनि नयाँ दिल्ली पुग्नु भारत–रुस बलियो सम्बन्धको महत्व एवं अपरिहार्यता दर्साउँछ ।
अमेरिकाले प्रतिबन्धसमेत लगाउन सक्ने कठोर चेतावनीका बाबजुद भारतले रुससित एस–४०० ट्रायम्फ मिसाइल खरिद गर्नु र एस–५०० का निम्ति वार्ता गर्नुले पनि भारत–रुसबीचको सात दशक लामो मैत्रीसम्बन्ध अझ पनि त्यति नै महत्वपूर्ण एवं प्रगाढ रहेको साबित गर्छ । अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा यदाकदा भारत र रुसबीच मतभेद पनि रहेको पाइन्छ । तर, यसको प्रभाव दुईपक्षीय सम्बन्धमा परेको देखिएन । मोदी— पुटिन शिखरवार्ताले अमेरिका, अफगानिस्तान, भारत—चीन सम्बन्ध, तालिवान र क्वाडलगायत अन्य कतिपय विषयलाई पनि चर्चामा ल्याइदिएको छ । पुटिनको भारत भ्रमणले विश्व राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।
२१औं भारत–रुस वार्षिक शिखरवार्तामा प्रधानमन्त्री मोदीले पछिल्लो दशकमा विश्वमा भएका अनेकौं परिवर्तन एवं कोरोना महामारीको प्रकोपका बाबजुद भारत र रुसबीचको सम्बन्धमा कुनै परिवर्तन नआएको बरु यो अझ प्रगाढ नै भएको धारणा व्यक्त गर्दै दुई देशको खास एवं विशेषधिकार प्राप्त रणनीतिक साझेदारी थप बलियो भएको विश्वास व्यक्त गरे । रुसका राष्ट्रपति ब्लादिमिर पुटिनले भारतलाई एउटा महान शक्ति, मित्रदेश तथा विश्वासिलो साथीका रूपमा आपूm हेर्दै आएको धारणा राखे । दुवै देशबीचको सम्बन्ध निरन्तर रूपमा सुदृढ भइरहेको तथा भविष्यमा पनि यो बलियो नै रहने विश्वास व्यक्त गरे । हाल दुवै देशबीच करिब ३८ अर्ब डलरको कारोबार भइरहेको तथा यसबाहेक सैन्य र प्राविधिको क्षेत्रमा पनि साझेदारी हुँदै आएको छ । आतंकवादको विरुद्धमा रुस र भारतको साझा धारणा रहेको छ । पुटिनको भारत भ्रमण त्यहाँका प्रतिरक्षा र विदेशमन्त्री पनि आएका थिए । भारत र रुसबीच १० वर्षका निम्ति सैन्य सहयोग सम्झौतामा पनि हस्ताक्षर हुनु दूरगामी महत्व छ ।
रुस–अमेरिका, इजरायल–प्यालिसटाइन र इरान–अफगानिस्तानबीच सन्तुलन बनाई अगाडि बढ्ने मोदीको कूटनीति अतुलनीय छ
रसियाली राष्ट्रपति पुटिनले पनि आफ्नो भारत भ्रमणबाट एकैसाथ धेरै सन्देश दिन सफल भएका छन् । पहिलो त एसियामा एक्लै चीन मात्रै शक्ति राष्ट्र होइन तथा आज पनि रुसका निम्ति सात दशक पुरानो मित्र भारत नै उसको भरपर्दो मित्र तथा एसियामा अर्को पनि शक्ति रहेको संकेत दिन खोजेका छन् । रुस–चीन गठबन्धन पश्चिमेली देशसामु संयुक्त विरोधको एउटा मोर्चा अवश्य पनि हो तर भारतको महत्व रुसका निम्ति महत्वपूर्ण हो । बहुध्रुवीय विश्वमा भारतको स्थिति र प्रभाव निरन्तर रूपमा बलियो हुँदै गएको छ । पुटिन स्वयंले पनि भनिसकेका छन कि भारतको वर्तमान विदेश नीतिको दिशा र प्राथमिकता रुसका निम्ति अनुकूल रहेको छैन ।
तथापि, दुई देशको मित्रताको परम्परा र दुईपक्षीय साझेदारी आगामी दिनमा पनि अझ बढी प्रगाढ नै हुने विश्वास पनि व्यक्त गरेका छन् । भारतको ‘एक्ट फर इस्ट’ पोलिसीलाई भारतको इन्डो–प्यासिफिक रणनीतिका निम्ति महत्वपूर्ण मानिन्छ । अर्कोतिर रुसको एक्ट इस्ट नीति इन्डो प्यासिफिकमा भारत–रुस सम्बन्ध र आसियान क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण साबित हुनेछ । भारतका एक्ट इस्ट पोलिसीमा ऊर्जा सबैभन्दा महत्वपूर्ण विषय हो र भारत सरकार रुसी तेल क्षेत्रमा आफ्नो लगानीलाई लिएर निकै उत्साही पनि छ । रुससित विश्वकै सर्वाधिक प्राकृतिक ग्यास भण्डार रहेको छ । यसमध्ये अधिकांश भण्डार रुसको पूर्वी क्षेत्रमा रहेको छ ।
पूर्वी आर्थिक मञ्चको भर्चुअल बैठकमा भारतका प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्दै भनेका थिए कि भारत र रुस वैश्विक ऊर्जा बजारमा स्थायित्व ल्याउने पहल गर्न सक्छ । उनले ऐतिहासिक र सभ्यतागत महत्वमाथि प्रकाश पारेका थिए । उनले भनेका थिए कि ब्लादिवोस्तक युरेसिया र प्रशान्तको संगम हो र यसको भूरणनीतिक महत्व छ । भारतको तेल र ग्यास कम्पनीहरू रुसको पूर्वी एवं आर्केटिक क्षेत्रमा तेल तथा ग्यास क्षेत्रमा लगानी गर्न इच्छुक छ । रुसको तेल र ग्यास परियोजनामा भारतको लगानी १५ अर्ब डलरभन्दा बढीको भइसकेको छ । भारतद्वारा देशबाहिर कुनै एक क्षेत्रमा तेल र ग्यास क्षेत्रमा गरिएको यो सर्वाधिक लगानी हो । रुसी तेल कम्पनी रौसनेफटले सन् २०१७ मा एस्सार आयललाई १२.९ बिलियन डलरमा अधिग्रहण गरेको थियो । ब्लादिबोस्तकमा ईईएफका बेला दुवै देशले कमर्सियल सिपबिल्डिङ कोअपरेसनलाई लन्च गरेका थिए ।
कृषि उद्योग सेरेमिक्स, स्टेटेजिक तथा रेयर अर्थ मिनिरलर र डायमण्डको क्षेत्रमा नयाँ सम्भावना खोज्ने कुरा थालनी गरेका थिए । इन्डो–प्यासिफिक क्षेत्रदेखि लिएर अफगानिस्तान–पाकिस्तानसम्मका कतिपय विषयमा मतभेदका बाबजुद भारत–रुस दुईपक्षीय सम्बन्ध प्रगाढ नै रहिआएको छ । वर्षांैदेखि क्रेमलिन र पश्चिमबीच विरोधाभाष कायम रहेको छ भने भारत–रुस व्यापारिक सम्बन्ध पनि खासै सुधार भएको छैन । तथापि, दुईपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भइरहेको छ । वर्तमान अवस्थामा भारत– अमेरिका सम्बन्धमा निकै न्यानोपन आएको छ । जबकि, रुस र अमेरिका एक अर्काका प्रतिद्वन्दी हुन् । ब्रिक्स, (भारत, रुस, ब्राजिल र चीन) आरआईसी (रुस, भारत, चीन) तथा संघाई सहयोग संगठनसमेत कतिपय मञ्चहरूमा एकै साथ छन् ।
मोदी—पुटिन शिखरवार्ताले अमेरिका, अफगानिस्तान, भारत—चीन सम्बन्ध, तालिवान र क्वाड आदि विषयलाई पनि चर्चामा ल्याएको छ
अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूअनुसार चीनलाई सन्तुलनमा ल्याउनका निम्ति नै रुसले एससीओमा भारतलाई ल्याउने काम ग¥यो जबकि चीनले भारतलाई सन्तुलनमा ल्याउन पाकिस्तालाई आमन्त्रित ग¥यो । अर्कोतिर यसैवर्ष गत महिना भारतले रुसलाई हिन्दमहासागर रिम एसोसिएसनमा एउटा डायलग पार्टनर (संवाद साझेदार) का रूपमा सहभागी गरायो । यस समूहमा २३ देश सदस्य तथा १० संवाद साझेदार छन् । रिम एसोसिएनमा रुसको सहभागिता भनेको हिन्दमहासागरमा रुसको भूमिकालाई प्रमुख बनाइदिनु हो । अफगानिस्ताको विकासको सवालमा पनि भारत र रुसको साझा धारण रहेको छ तथा दुवै देश अफगानिस्तालाई आतंककारीहरूको केन्द्र बन्नबाट रोक्न सहयोग गरिरहेका छन् ।
भारतसितको सम्बन्धलाई स्थिर राख्दै रुसले चीनसित राम्रो बनाएको छ । दुवै देश अमेरिकाका विरोधी भएका कारण नजिक आउनु स्वाभविकै हो । सन् २०२२ को फेब्रअरीमा चीनमा हुन लागेको शीतकालीन ओलिम्पकको उद्घाटन समारोहमा सहभागी हुन रुसले आमन्त्रणलाई स्वीकार गरिसकेको छ जबकि अमेरिका र न्युजिल्यान्डले कूटनीतिक बहिष्कार गरिसकेको छ । लद्दाख विवादका बेला चीन र भारतलाई वार्ताको टेबुलमा ल्याउन रुसले ठूलो भूमिकाको निर्वाह गरेको थियो ।
अहिले पनि रुसले भारत र चीनको तिक्ततालाई कम गराउने प्रयास गरिरहेको छ । भारत–रुस राम्रो सम्बन्धका बाबजुद कवाडलाई रुस सधंै नै नकारात्मक रूपमा हेर्दै आएको छ । जबकि भारतका निम्ति क्वाड महत्वपूर्ण हो । क्वाड संरचना चीनविरुद्ध लक्षित हो भन्ने कुरामा रुस पनि सहमत छ । कतिपस मतभेदका बाबजुद रुस–भारत सम्बन्ध बलिया नै रहिरहनेछ । एकै साथ रुस–अमेरिका, इजरायल–प्यालिसटाइन र इरान–अफगानिस्तानबीच सन्तुलन बनाई अगाडि बढ्ने मोदीको कूटनीति अतुलनीय छ । पुटिनको भारत भ्रमणले विश्व राजनीतिलाई तरंगित पारेको छ ।