यःमरीको दार्शनिक पक्ष र धान्यपूर्णिमा

नेपालका आदिवासी नेवारहरूले मनाउँदै आइरहेको विभिन्न चाडपर्वमध्ये एउटा रमाइलो चाड हो यःमरी पूर्णिमा । यःमरी पूर्णिमा अत्यन्तै महत्वपूर्ण विशेषताले भरिएको चाड हो । हेर्दा साधारण देखिने यो यःमरी खाने चाड नेवार संस्कार संस्कृतिसँग सम्बन्ध भएको र यसमा विभिन्न दर्शन पनि लुकिरहेको यो यःमरी चाड मंसिर शुक्लपक्ष पूर्णिमाका दिन मनाउने गरिन्छ ।

कृषि प्रधान देशका नेवार विशेष गरेर ज्यापुहरूको मुख्य पेसा भन्नु नै खेती गर्नु हो । नयाँबाली घरमा भित्र्याएर नयाँ धानको चामलको पिठोबाट यःमरी बनाएर खाने गर्छन् । यःमरी बनाउनेमा पनि आफ्नै पन रहेको पाइन्छ । नयाँ धानको चामलबाट बनाइने चामलको पिठो लस्सादार हुनुपर्छ । पहिला पहिला तौली धानको चामल हुन्थ्यो । अब आएर ताइचिन चामलको पिठो प्रयोग गर्न थालियो । चाकु र पिसेको तिल राखेर बनाइने शंख आकारको यःमरीलाई ‘बायो’ भनिन्छ । तीनकुने आकारकोलाई ‘मायो’ भनिन्छ । मायोभित्र चाकु तिल राखिंदैन । यो ‘मायो’, ‘बायो’ भनेको सृष्टिको आदि पुरुष र आदि शक्ति आमा र बाबु अर्थात् पुरुष र स्त्रीको प्रतीक हो । यसरी रमाइलो दर्शन लुकिरहेको यःमरी बनाई यःमरी पूर्णिमाका दिन नयाँ धान राख्ने भकारी माथि यःमरी राखेर पूजा गर्ने चलन नेवारहरूको आफ्नै मौलिक संस्कार हो । भकारीलाई लक्ष्मी मानेर पूजा गरिन्छ । पूजा गर्दा चामलकै पिठोबाट गणेश, लक्ष्मी, कुवेर र यिनै देवताका वाहन मुसा, कछुवा र ख्याक पनि बनाई राख्ने चलन छ ।

नयाँबाली घरमा भियाएर नयाँ धानको चामलको पिठोबाट यःमरी बनाएर खाने गर्छन्

परापूर्वकालदेखि नेवारहरूले बनाई खाँदै आइरहेको यो यःमरीमा लुकिरहेको अर्को दर्शन भनेको हाम्रा पुर्खाहरूले हामीलाई र हाम्रा बालबच्चालाई एक किसिमले चित्रकला, मूर्तिकला र सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने मौका प्रदान गरिरहेको छ भने बालबालिकाले पनि यःमरी बनाउन सिक्ने क्रममा आफ्नो कला र प्रतिभा पनि प्रस्तुत गर्ने अवसर पाइने हुँदा उनीहरू अत्यन्तै हर्षित भई यःमरी र विभिन्न किसिमका देवता र जनावरका मूर्ति बनाउने प्रयास गरिरहेको हुन्छन् । यसले गर्दा केटाकेटीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भइरहेको हुन्छ । पछि गएर उनीहरूले आफ्नो संस्कारलाई उपयोगमा ल्याई आफ्ना बच्चाहरूलाई पनि सिकाइरहेको हुन्छन् । यःमरी बनाउँदा ल्वहंचा मरी पनि बनाइन्छ । ल्वहंचा मरी र ससाना यःमरी बनाई देवतालाई पूजा गर्दा चढाउने गरिन्छ । उयपत्यकाका विभिन्न देवताका रथयात्रा र खट जात्रा गर्दा पनि ल्वहंचा मरी, चटामरी र यःमरी वरिपरि घरका झ्यालबाट छरेर देवतालाई अभिषेक गर्ने चलन छ । त्यसरी छरेका यःमरी जसले हात पार्न सक्यो उसलाई पुत्रलाभ हुन्छ भन्ने जनविश्वास छ ।

बालकहरूको २, ४, ८ र १२ वर्षको जन्मोत्सवमा पनि यःमरीको माला बनाई पहि¥याई दिने चलन छ । यो संस्कारले के सिकाइरहेको हुन्छ भने बालक होसियारी गर्दै हेर अब तिमी यति वर्षका भयौ तिमीले यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुन्न भन्ने शिक्षा दिने गरिन्छ जुन अत्यन्तै व्यावहारिक छ भन्न सकिन्छ । बालक जति बर्ष पुगेको हो त्यति नै ओटा यःमरीको माला बनाई पहि¥याइन्छ । १२ वर्ष पुग्दा पहि¥याउने १२ ओटै यःमरीमा चाकु राखिएको हुन्छ भने २, ४ र ८ ओटा यःमरी पहि¥याई दिँदा उक्त यःमरीभित्र पाँच गेडा अक्षता मात्र राख्ने चलन छ । यसरी पाँच गेडा अक्षता राख्नुको अर्थ पञ्चतत्व वा पञ्चबुद्धको प्रतीकका रूपमा लिँदै आएको छ ।

यःमरीलाई पनि पञ्चतत्वकै रूपमा लिइएको पाइन्छ । अग्नि, जल, वायु, आकाश र धर्तीलाई पञ्चतत्व भनिन्छ । यःमरीभित्र धर्तीका रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलका रूपमा पानी, आकाशका रूपमा खाली स्थान र वायुका रूपमा तिललाई लिइएको छ ।

आयुर्वेदिक मान्यता र आधुनिक चिकित्साको मान्यताअनुसार पनि यःमरी स्वास्थ्यवद्र्धक र पौष्टिकताले भरिपूर्ण खाद्यका रूपमा लिइन्छ । जाडो याममा पर्ने यःमरी पूर्णिमाको समयमा बढ्दो चिसोबाट बच्न आवश्यक कार्बोहाइड्रेट प्राप्त हुने यःमरी खानाले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुग्ने र यसका साथै यःमरीमा रहेको चाकुले हाम्रो स्वास्थ्यमा हेमोग्लोबिन कमी हुन नदिने भएकाले यःमरी निकै नै स्वास्थ्यवद्र्धक छ । यःमरी ऊर्जावान् र बढी पौष्टिकता भएकै कारणले गर्दा नै नेवारी संस्कारमा गर्भवती चेलीलाई खुवाउने गरिन्छ । यसले गर्भमा रहेको शिशुको स्वास्थ्यमा पनि पौष्टिकता प्राप्त हुन पुग्छ । बालकको जन्म दिन, बुढाबुढीहरूको जंक्व (बुढो पास्नी), गुथिको समयमा पनि विशेष गरी यःमरी खाने र खुवाउने गरिन्छ । जाडो समयमा मात्र चाड मानेर खाँदै आइरहेको यःमरी हाल आएर बाह्रै महिना जताततै खान पाइन्छ । नेवारी खाजा घरमा जताततै यःमरी पनि बेच्ने गरिन्छ ।

यःमरी पूर्णिमाका दिन घरैपिच्छे केटाकेटी गएर गीत गाउँदै यःमरी माग्न जाने चलन छ, देउसीभैलो मागे जस्तै । अहिले आएर समयको परिवर्तनसँगै केटाकेटीहरूले यःमरी मागेर खाने चलन सहरमा हराउँदै गए पनि गाउँघरमा अझै देखिन्छ ।

नेवारी संस्कृतिमा पनि पुराणमा भनिए झैं भगवती, गणेश, कुमारको आकारमा यःमरी बनाई विभिन्न देवदेवीलाई सम्झी नयाँ धानको भकारीमा राखी पूजा गरेर छोपी राख्छन्

विश्वमै प्रख्यात नेवारी संस्कृति, परम्परा र संस्कारको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ज्यापु संस्कृति विकास कोष र ज्यापु महागुथिको संयुक्त प्रयासमा २०६१ सालदेखि यःमरी पूर्णिमाको दिनलाई ज्यापु दिवसका रूपमा मान्दै आएको छ । नेपाल सरकारले पनि ज्यापु दिवसलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिएर सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

धान्य पूर्णिमा:
मार्ग शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । यसदिन धान्य पर्वत दान गर्नुपर्छ भनी पुराणमा उल्लेख भएको पाइन्छ । दत्तात्रय भगवान्को जन्मदिन पनि यही दिन भएको हो । यही पूर्णिमाका दिन रात्रिको समयमा बनेपामा धनेश्वर महादेवको जात्रा गरिन्छ । यसै दिन कतिपय नेवारहरूले देवली पूजा गर्छन् भने अन्य कतिपयले घरमा गैडु पूजा, गोठ पूजा पनि गर्ने चलन छ ।

मार्ग शुक्ल पूर्णिमाका दिन कुबेर, सुभद्रा, गणेशको पूजा गरी धान्य पर्वत दान गर्नुपर्छ भनी कुल कल्पतन्त्रान्तरमा यसरी वर्णन गरिएको छ :

मार्ग शीर्षे सिते पिण्डकली निधौ गृही ।
पौर्णमास्यां प्रदोषे तु धान्य क्षेत्रं समर्चयेत ।।
कुवेरं च सुभद्रां च गणेशं पूजयेत तथा ।
इन्द्रं च प्रढौकये दादौ विधिवत पूजनं चरेत ।।

नेवारी संस्कृतिमा पनि यसरी पुराणमा भनिएझैं भगवती, गणेश, कुमारको आकारमा यःमरी बनाई विभिन्न देवदेवीलाई सम्झी नयाँ धानको भकारीमा राखी पूजा गरेर छोपी राख्छन् र चार दिनसम्म पूजा गरेपश्चात् चेलीबेटीलाई नखत्या बोलाई प्रसाद खाने र खुवाउने गर्छन् ।

महामाया भगवतीलाई दसैंमा महाकाली, तिहारमा धनलक्ष्मीका रूपमा मान्ने गरिन्छ भने मार्ग शीर्ष पूर्णिमाका दिन धान्य लक्ष्मीका रूपमा मान्ने गरिन्छ । यःमरीको गर्भमा रहेको तिल र चाकुलाई महामाया भगवतीको प्रतीकका रूपमा लिइन्छ । त्यस्तै भित्र मासु भएको यःमरीलाई गणेशका रूपमा लिइन्छ भने मासको छाँटाको पिठोभित्र भएको यःमरीलाई कुमारको प्रतीकका रूपमा लिने गरिन्छ । हिमवत् खण्डमा उल्लेख भएअनुसार ः

धनेश्वरं महालिंग भक्त्या पञ्चोमपकारेके
एतस्यां च वरं लब्धा चिरञ्जीब्य भवद् मृगु ।।

अर्थात् धनेश्वर महादेव मन्दिरमा (बनेपाको) यस दिन रातभर अखण्डदीप बाली जाग्राम बसी भोलिपल्ट पूजा गरेमा आफ्ना सम्पूर्ण इच्छा आकांक्षा पूरा हुनेछ र चिरञ्जीवी होइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी