काठमाडौं । राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन ग-यो । त्यो अझै पनि पूर्ण रूपमा फुकुवा भएको अवस्था छैन । फेरि पनि नेपाली क्रिकेट विवादित बन्न पुगेको छ ।
क्यान र खेलाडीबीचको यो विवादमा पनि कतै राजनीतिक रङ दिइने त होइन ? भन्ने डर मडारिन थालिसकेको छ । खेलकुदका अन्तर्राष्ट्रिय निकायले खेलकुदमा राजनीतिक हस्तक्षेप स्विकार्दैन । जसका कारण नेपालमा कतिपय खेलका दुईवटा संघसमेत अस्तित्वमा देखिन्छ । नेपाली क्रिकेट खेलाडी र क्यानले यस विषयमा समयमा नै सचेत हुनुपर्ने देखिन्छ । क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासन उल्लंघनको कारबाही गरेसँगै क्रिकेटमा नयाँ तरंग देखिएको हो ।
खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै मल्लसहित चार खेलाडीले आपत्ति जनाएका थिए । त्यति मात्र होइन, यही विषयमा आफूहरूमाथि कारबाहीको डन्डा चलाइएपछि उनीहरूले पत्रकार सम्मेलन गरेर क्यान र खेलाडीको अवस्था’bout केही कुरा बाहिर ल्याएका छन् । छोटो समयमा क्रिकेटले नेपालमा अपार लोकप्रियता हासिल गरेका कारणले पनि खेलाडीका विरुद्धमा आलोचना गर्ने हिम्मत कसैको थिएन त्यसैले राजनीतिक दलका नेताहरूलाई पनि के भ्रम पर्न सक्छ भने खेलाडीको पक्षमा बोलियो भने आफ्नो लोकप्रियता बढ्छ । तर, यसले हानि नै पु-याउनेछ । क्यानको कारबाहीको निर्णयले खेलाडीलाई प्रतिभाका कारण टिममा समावेश गरिन्छ र व्यवहारका कारण कारबाही पनि हुन्छ भन्ने सन्देश दिएको छ ।
संघ र खेलाडी एकअर्काका परिपूरक हुन् । त्यसैले, एकले अर्कालाई निषेध गर्ने रणनीति अख्तियार गरियो भने त्यसको परिणाम देशले भोग्नुपर्छ
क्यानको अनुशासनको कारबाही सांकेतिक मात्र हो तथापि खेलाडीले त्यसलाई सच्चाउनुपर्ने बताउँदै आएका छन् । खेलाडी हुन् कि नेताले के बुझ्न जरुरी छ भने नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ‘सेलिब्रेटी खेलाडी’ माथि कारबाही भएका छन्, हुन्छन् । त्यसैले यो कारबाहीलाई जायज रूपमा लिन सकिन्छ । क्यान पनि दूधले नुहाएको संघ भने होइन । क्यानविरुद्धका विसंगति र विकृति धेरै छन् तर यो ‘इस्यु’मा क्यानको भूमिका स्पष्ट देखिन्छ । अनुशासनबाहिर रहनेलाई विगतमा क्यानले कारबाही नगरेका कारण पनि आजको अवस्था आइपुगेको हुन सक्छ । त्यसैले दलका नेताहरूले कारबाहीका विषयमा ‘सोर्सफोर्स’ नगरेकै उचित ।
क्यानले केही खेलाडीले सिन्डिकेट नै लगाएको आरोप पनि लगाएको छ । यदि त्यस्तो हो भने नेपालको क्रिकेट नीतिविहीन अवस्थामा पुग्ने छ । त्यसैले क्यान र खेलाडीबीचको यो जुहारीलाई समयमा नै व्यवस्थापन गरेर आगामी महत्वपूर्ण प्रतियोगिताका लागि तयारी गर्नुको विकल्प देखिँदैन । नीति, विधि तथा मापदण्डका कारण कहिलेकाही उत्कृष्ट खेलाडी पनि छनोट नहुन सक्छ तर ‘सिस्टम’का लागि जोकोहीले पनि तिलाञ्जली भने दिन सक्नुपर्छ ।
ग्रेडिङको आधारमा खेलाडीले पोखेको असन्तुष्टि कति जायज छ त ? मूल्यांकन गर्नुपर्छ । अघिल्लो वर्षको आधारमा मापदण्डअनुसार खेलाडी ग्रेडिङ गरिएका कारण सोमपाल कामीलाई ‘ए’ ग्रेडमा राख्न नसकिएको क्यानले बताएको छ । तोकिएको मापदण्ड र अवधिमा सोमपालको सहभागिता प्रदर्शन नभएको हो भने खेलाडीले यसलाई आधार बनाएर क्यानविरुद्ध हंगामा मच्चाउनु उचित देखिँदैन । निर्णय चित्त नबुझ्दा नियमअनुसार क्यानमा अपिल गर्ने आधार हुँदाहँुदै अन्य विद्रोहका गतिविधि अवलम्बन गर्नु खेलाडीका लागि उचित होइन कि ? सायद यो सेन्ट्रल कन्ट्रयाक्ट विपरीत हुन जान्छ । क्यानमा अनुबन्धित खेलाडीका दायित्व हुन्छ । दायित्वबाट न त खेलाडी नै उम्कन पाउँछ, न त क्यान नै ।
यो घटनामा क्यानले छानबिन समिति बनाएर स्पष्टीकरण सोध्ने, खेलाडीसँग छलफल गर्ने जस्ता कार्यसमेत गरेको देखिन्छ । तर, यही मौका पारेर १९ खेलाडीको हस्ताक्षरसहित ११ बुँदे माग गर्नुले खेलाडी पनि ‘राजनीतिक’ खिचातानीमा उत्रिएको त होइन ? भन्ने संकेत दिन्छ । क्यानको पनि ग्रेडिङमा समस्या देखिएको छ । समयमा नै वर्गीकरण नगरी बहाना बनाउन क्यानलाई छुट छैन । क्यान अझै आईसीसीको कन्ट्रोल फन्डिङमा छ । त्यसैले उसले यस्ता कार्यलाई समयमा नै सम्पन्न गर्नुको विकल्प छैन । यो घटनामा क्यानले कागजी प्रक्रिया पु-याएर चलाखी गरेको छ । जसका आधारमा क्यानभित्रको विसंगति र विकृति ढाकछोप गर्न सकिँदैन । क्यान पनि सुध्रनुपर्छ । क्यानले वर्गीकरणलाई अझ पारदर्शी र विवादरहित बनाउनका लागि विज्ञ पूर्वप्रशिक्षक वा पूर्वखेलाडीलाई समितिमा समावेश गर्न सक्छ ।
यो विवादलाई समयमा नै व्यवस्थापन गर्नेतर्फ अभिभावकको हैसियतले क्यानले नै अग्रसरता देखाउनुपर्छ । संघ र खेलाडी एकअर्काका परिपूरक हुन् । त्यसैले, एकले अर्कालाई निषेध गर्ने रणनीति अख्तियार गरियो भने त्यसको परिणाम देशले भोग्नुपर्छ । यो घटनाबाट पाठ सिकेर दुवै पक्षले ‘आन्तरिक सञ्चार प्रणाली’लाई मजबुद बनाउँदै संवादमार्फत समस्याको हल तत्काल खोज्नुपर्छ । दुवै पक्षले मेरै गोरुको बाह्रै टक्का भनेर लाग्ने हो भने यस घटनामा बाहिरबाट हस्तक्षेप हुन सक्छ, जसले राम्रो परिणाम दिँदैन । क्यानले खेलाडीले उठाएका जायज मागलाई सम्बोधन गर्नुपर्छ । खेलाडीले पनि क्यानको अस्तित्व नस्विकार्ने दलका नेताहरू कहाँसम्म धाउने हो भने खेलाडीले मैदान छोडेर राजनीतिमा भविष्य खोज्दा हुन्छ ।