भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल

प्रारम्भ
आज लामो समयदेखि यस स्तम्भकारले राम्ररी चिनेका नेकाका नेता रामचन्द्र पौडेलको राजनीतिक यात्राका सम्बन्धमा मैले बुझेका, जानेका र प्राप्त गरेका सूचनाका आधारमा उनको राजनीतिक भविष्य’bout लेख्ने प्रयास गरेको छु । राजनीतिक अवरोहको क्रममा रहेको समयमा तीतो यथार्थता पस्कँदै गर्दा असहज भएको छ । तथापि यसबाट स्वयं पौडेल लाभान्वित हुने विश्वास लिएको छु । सम्भवतः उमेर र राजनीतिका हिसाबले नेपाली कांग्रेसको राजनीतिमा शीर्ष स्थानमा रहेका नेता हुन्– रामचन्द्र पौडेल । ७७ वर्षको उमेर कटिसकेका उनी नेकाका वरिष्ठ नेता हुन् । १४ वर्षसम्म प्रजातन्त्र प्राप्तिको लडाइँमा जेलको यातना पाएका नेता हुन् । राजनीतिमा सधैं अवसर मात्र पाएका छन् । पटकपटक मन्त्री, सभामुख भएका हुन् । संसदीय निर्वाचनमा सजिलो निर्वाचन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न तत्पर रही अप्ठेरो निर्वाचन क्षेत्रमा ठूलो नेताका हिसाबले आफ्ना पक्षमा कार्यकर्ता र मतदातालाई आकर्षित गर्न साहस गर्न नसक्ने कोटीमा आफूलाई पटकपटक दर्ज गराएका छन् । तनहँु जिल्लाको साबिक १ नम्बर निर्वाचन क्षेत्रबाट २०४८ सालमा सामान्य शिक्षकसँग प्रतिस्पर्धा गर्दा झिनो मतले विजय बनेका पौडेलले सो क्षेत्रवाट पुनः निर्वाचन लड्न साहस गरेनन् । ठूला ठूला मन्त्रालयमा मन्त्री भएका उनले त्यस अवधिमा आफ्ना मतदाता हरुलाई आकर्षित गर्ने कुनै पनि कार्य गर्ने उत्साह र जाँगर देखाउन सकेनन् । २०५१ सालको मध्यावधि निर्वाचनमा तुलनात्मक रूपमा लोकतन्त्रप्रति समर्पित मतदाता पर्याप्त रहेका कारण २ नम्बर क्षेत्र यिनको रोजाइमा प¥यो । तनहुँको साबिक २ नम्बरबाट गोविन्द जोशीलाई १ नम्बरमा पठाई निर्वाचनमा विजयी भएका हुन् । पौडेलले निर्वाचन लड्दै गर्दा नेकाका मतदाता साबिक २ हालको १ नम्बरमा घट्दै गए । देश संघीय शासनमा प्रवेश गरिसकेपछि तनहुँका तीन निर्वाचन क्षेत्र दुईवटामा सीमित बने । साबिक २ नम्बर र १ नम्बरको नेकाका मतदाताको बाहुल्यता रहेको क्षेत्रका अधिकांश भाग मिलाई हाल १ नम्बर बन्न पुग्यो । उपयुक्त पात्र पाएमा यस क्षेत्रमा अत्यधिक लोकतन्त्रवादी अथवा नेका समर्थक मतदाता रहेका छन् । यस क्षेत्रमा मतदातालाई आफूप्रति आकर्षित गर्न असमर्थ र राजनीतिक पूर्वाग्रह राख्ने स्वभावका कारण यिनी सामान्य उम्मेदवारसँग ठूलो मतान्तरले पराजित बन्न पुगे । १७ पटकसम्म प्रधानमन्त्रीको प्रतिस्पर्धामा भिडे । नजित्ने प्रतिस्पर्धामा अब्बल साबित भए । १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारसम्म दिने हैसियतमा रहेनन् । नेकाभित्रको लामो समयको लगानीको प्रतिफल प्राप्त गर्न नसकेको मानसिकतामा कुण्ठित भएका छन् । यी सबै दूरवस्था पौडेलले आफ्नै स्वभावका कारण आमन्त्रण गरेका हुन् ।

१४औं महाधिवेशनको प्रसंग र पौडेलको राजनीतिक यात्रा
कार्यकर्ता पंक्तिमा प्रख्याति कमाएका डा. शेखरलाई राजनीतिमा कनिष्ट मान्नेहरूको लाइनमा रामचन्द्र पनि देखिए । कार्यकर्ताबीच पुगेर उनीहरूको सुःखदुःखमा साथ दिँदै आएका शेखरलाई खुला हृदयका साथ स्वीकार्न तयार भएनन् । भारतकै मोदीलाई जनस्तरमा उनले आर्जन गरेको प्रख्यातिका कारण उनको विकल्पमा अर्को कुनै ज्येष्ठ सदस्यलाई अवसर दिँदा दललाई नोक्सानि पुग्ने सन्त्रास उनीहरूमा देखियो र राजनीतिक संस्कारको प्रदर्शन भाजपाका मोदीभन्दा वरिष्ठ नेताहरूले गरे । तर, त्यो संस्कार थोरै पनि पौडेलमा देखिएन । संस्थापन इत्तर पक्षमा शेखरसरहको अब्बल र कार्यकर्ताबीच स्वीकार्य उम्मेदवार अन्य कुनै देखिएका थिएनन् । यस अवस्थामा आफूलाई समर्थन नगर्नेबित्तिकै सहयोग गर्ने तत्परता पौडेलले देखाउन सकेनन् ।

यो उनको संकुचित मानसिकताको उपज हो । यही स्वभावले गर्दा उनी लामो समयदेखि पछि परेका हुन् । संस्थापन इतर पक्षको नेताका रूपमा स्थापित भएको दाबी गरिरहँदा रामचन्द्रजीलाई पटकपटक कार्यकर्ताहरूले शेखरको पक्षमा समर्थन गर्न सामूहिक अनुरोध गर्दा पनि खुल्न सकेनन् । निर्वाचनमा मतदान नगरी गैरलोकतान्त्रिक चरित्रको प्रदर्शन गरे । शेखरलाई असहयोग गरेको आलोचना प्रस्तुत भइराखेको छ । पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा पौडेलविरुद्ध नै विरोधका आवाज मुखरित हुनुले पनि उनलाई अबका दिनमा राजनीति गर्न असहज अवस्था सिर्जना भएको छ । २५ मंसिरमा एक विज्ञप्ति प्रकाशित गरेर पौडेलले पार्टी सत्ताको भ-याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लडे, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ,’ भनी लिखित अभिव्यक्ति दिएका थिए ।

निर्वाचनमा मतदान नै नगरी गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेपछि शेखरलाई असहयोग गरेको आलोचना भइराखेको छ

यी भनाइ आइरहँदा स्वयं पौडेलले नेता त्रयहरूको सिद्धान्त, सच्चरित्रता र निष्ठालाई अवलम्बन गरिएको थियो वा थिएन । पौडेलले आफैं आत्ममूल्यांकन गर्नुपर्छ । कार्यकर्ताहरूले थोरै मात्र पनि ती सद्गुणहरू पौडेलमा रहेको महसुस गर्न सकेनन् । प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७ पटकसम्म पराजित हुनुले उनमा राजनीतिक दूरदर्शिता र अवस्थाको मूल्यांकन गर्ने क्षमता शून्य भएको प्रस्ट हुँदैन र ? १३औं महाधिवेशनमा शेरबहादुरसँग पराजित हुने, यस महाधिवेशनमा साथीहरूले उम्मेदवारसम्म पनि नबनाउने, नेपाली कांग्रेसका उम्मेदवारका लागि अत्यन्त सहज निर्वाचन क्षेत्रमा ठूलो मतान्तरले पराजित हुँदा उनले आत्ममूल्यांकन गर्नुपर्ने होइन र ?

शेखर र प्रकाशमानले कार्यकर्ताबीच परीक्षण हुन चाहँदा पौडेलले पनि उम्मेदवारी दिन सक्थे । तीन जना संस्थापन इत्तर पक्षबाट प्रतिस्पर्धा गर्दा यदि पौडेल दोस्रो मत प्राप्त गर्न सक्ने अवस्थामा भएको स्थितिमा सम्भवत प्रकाशमान र निधिले दोस्रो चरणमा समर्थन गर्न पनि सक्थे । शेखरको जस्तो जुनियरको मुद्दा पनि पौडेलको हकमा लागू हुने थिएन । उनी सबैभन्दा पाका नेता थिए । सुजाता र शशांकले पनि समर्थन गर्ने सम्भावना प्रबल थियो । यस अवस्थामा पौडेल सभापति हुने सम्भावना थियो । तर, यसरी निर्वाचन लड्दा मत संख्याका हिसाबले प्रकाशमान र निधिभन्दा तल हुने निश्चित थियो । त्यसैले संस्थापन इत्तरबाट सबैले नछाडी प्रतिस्पर्धामा रहन बुद्धिमानी देखेनन् । उनैका समर्थक एक कार्यकर्ताका अनुसार लामो अवधिमा पौडेलले आफ्नो अवस्थाको सही मूल्यांकन गर्न सकेको यो पहिलोपटक हो ।

पौडेल रणनीति निर्माण गर्न अत्यन्त कमजोर नेता हुन् किनकि शेरबहादुरलाई यसपटक प्रधानमन्त्रीमा स्थापित गराउनमा उनको ठूलो भूमिका छ । केही महिनाको अन्तरालमा देउवासँग प्रतिस्पर्धा गर्न तयारी गरेका आफ्ना प्रतिस्पर्धीलाई कार्यकारी प्रमुख बनाउनुमा उल्लेख्य भूमिका खेल्नु आत्मघाती गोल गर्नुसरह हो । देउवाले निर्वाचन जित्नुमा यो नै मुख्य कारण पनि हो । लामो समयदेखिको पौडेलको राजनीति कुनै समूहमा आबद्धता रहेन । सबैलाई असहयोग गर्ने परिस्थति निर्माण गर्न मात्र उद्यत रहे । आफ्नै जिल्लामा आफ्नै साथीभाइहरूको विरोध गर्दै उनीहरूको हैसियत मात्र बढाई दिएनन् आफ्ना साथीकै विरोधका कारण निर्वाचन जित्न नसक्ने अवस्थामा पुगे । आफ्ना साथीहरूलाई समेटेर चौडा छाती प्रदर्शन गर्न सक्दा तनहँुका दुवै निर्वाचन क्षेत्रमा नेका विजयी हुन सक्ने अवस्था हुने थियो । पौडेलको राजनीति प्रायः पूर्ण विराम लागेको अवस्था छ । उनलाई समर्थन गर्दै सुरक्षित निर्वाचन क्षेत्र अफर गर्ने सबल नेता पनि उनका लागि तत्पर हुने अवस्था देखिएन ।

आफ्नो हालसम्म प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्रमा पौडेलले जमानत बचाउने हो । त्यस जिल्लाका नेपाली कांग्रेसका कार्यकर्ता अब पौडेल तनहुँको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न तयार नहुने तर्क दिइराखेका छन् । अन्य सुरक्षित निर्वाचन क्षेत्र उनका लागि देखिएको छैन । स्व. सुशील कोइरालालाई चितवनवासीले रातो कार्पेट राखेर स्वागत गरे, कोइरालाजस्तो सदाचारी, सच्चरित्रवान् र इमानदार एवं सिद्धान्तनिष्ठ नेता राष्ट्रका लागि जरुरी भएको निर्णयमा पुगी बाँकेबाट निर्वाचन पराजित भएमा पनि चितवनबाट विजयी बनाउने निर्णय लिए । दुवै निर्वाचन क्षेत्रवाट विजयी बनाए । थोरै मात्र भए पनि पौडेलकै समकालीन नेता कोइरालामा यी गुण देखिँदा त्यस प्रकारको अब्बल गुण पौडेलमा महसुस गर्न सकिएन ।

पौडेललाई उनको प्रशंसा गरिदिनुपर्नेहुन्छ । ठूलो नेता, १४ वर्ष जेल र नेल खाएको निष्ठावान् व्यक्ति, प्रजातन्त्रका अथक योद्धा, यस देशको राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रीय सभापति सबैका लागि अतियोग्य, नेकाको भविष्य उनी सभापति हुँदा मात्र मात्र सुरक्षित छ जस्ता अतिरञ्जित अभिव्यक्ति दिने झुन्डहरूको प्रशंसाबाट आत्मरतिमा मुग्ध हुने व्यक्तित्वको नाम नै रामचन्द्र पौडेल हो । केही समयपछिको राजनीतिक सोचको उनमा अभाव छ । स्व. गिरिजाबाबुले सम्मान गर्दै उनलाई गृहमन्त्री बनाए । प्रतिपक्षको चर्को विरोधका कारण गिरिजाबाबुले राजीनामा दिने परिस्थिति बन्दै थियो । पौडेलले राजीनामा दिने सोच बनाए । गिरिजाबावुले म आफंै प्रधानमन्त्रीबाट राजीनामा दिँदै छु तपाई अहिले हतार नगर्नु होस् भनेर सम्झाउँदा सोही दिन संसद्मा आफ्नै नेताविरुद्ध अभिव्यक्ति दिई राजीनामा गरेको घटनाक्रम सचेत नेपालीहरूको मन मस्तिस्कमा ताजै छ । यो उनको विशुद्ध अवसरवादी चरित्र मात्र थियो ।

मतदातालाई आफूप्रति आकर्षित गर्न असमर्थ र राजनीतिक पूर्वाग्रह राख्ने स्वभावका कारण पौडेल संसदीय निर्वाचनमा सामान्य उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भएका थिए

यस घटनाबाट उनको राजनीतिक उचाइ घटेको छ । पौडेल राजनीतिमा अत्यन्त कमजोर रणनीतिकार, अत्यन्त सानो वृत्तमा रमाउने, अन्य नेताको प्रशंसा सुन्न नसक्ने, असहिष्णु स्वभाव र पूर्वाग्रह राखी राजनीति गर्ने पात्र हुन् । उनमा दूरगामी सोच देखिएन, समूह निर्माण गर्न पनि सकेनन् । समर्थक पनि तयार पार्न सकेनन् । संस्थापन इत्तर पक्षको नेता स्वघोषित मात्र बने कसैले उनलाई स्वीकार गरेन । यस अवस्थामा विक्षिप्त नभई धैर्यधारण गरेर भविष्यको राजनीति गर्ने सद्गुण पनि देखिएन । मतदाताहरूबाट तिरस्कृत हुने अवस्था देखेका यिनी विक्षिप्त प्रायः भएकाले नै आफ्नो समूहको कुनै पनि नेतालाई सभापतिमा समर्थन गरेनन् । यति लामो समय लोकतान्त्रिक लडाइँमा होमिएका पौडेलले मतदान गर्ने अधिकारसमेतको सदुपयोग गरेनन् । यस अवस्थामा उनलाई कसरी लोकतान्त्रिक नेताको संज्ञा दिने ? प्राज्ञहरू र राजनीतिमा चासो राखेहरू आलोचनामा उत्रिएका छन् । अब फेरि पनि संस्थापन इतरले उनलाई नेताका रूपमा समर्थन गर्ने अवस्था रहँदैन । संस्थापन पक्षले यिनलाई उपयोग मात्र गर्ने हो । पटकपटक उपयोग भइसकेका छन् । यस प्रकार परिवर्तनकारी शक्तिलाई साथ नदिई र सहयोग नगरी आफ्नै राजनीतिलाई पूर्णविराम लगाउने काम स्वयं पौडेलले गरे । आफ्नै राजनीतिलाई दुर्घटनाग्रस्त बनाउन उद्यत रही, लोकतन्त्रमा मतदान नगरी, अन्य नेताहरूको लोकप्रियतालाई अस्वीकार गर्दा पौडेलले राजनीति गर्ने आधार समाप्त पारेको निष्कर्ष लोकतन्त्रप्रेमीहरूका बीच हुन थालेको छ ।

निष्कर्ष
नेपाली कांग्रेसमा यति लामो समय संघर्ष गरेका व्यक्ति अब विरलै छन् । अहिलेको अवस्थामा एकपटक नेतृत्व तहमा लामो राजनीति गरेका हिसाबले पौडेलले अवसर पाउनुपर्ने हो । अवसर पाएका अन्य नेताहरूमा समेत विलक्षण प्रतिभा र लोकतन्त्रप्रतिको समर्पणभाव कमै देखिएको छ । तर, शेरबहादुर देउवासँग सुदूरपश्चिम छ, कार्यकारी प्रमुखको लामो अनुभव छ । अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय पनि स्थापित छ, उदार सोच छ । पूर्वाग्रहरहित भएर राजनीति गर्छन् । यी गुणहरू राजनीतिमा हुनु जरुरी छ । यसलाई देउवा राजनेता हुन् भन्ने अर्थमा नलिइयोस् । उनका अन्य थुप्रै अवगुणसमेत छन् तर पौडेलले देउवाबाट सिक्नुपर्ने धेरै कुरा छन् । अहिलेको राजनीतिक दिसाविहीनताका कारण खासै उपयुक्त मार्ग अवलम्बन गर्न नसकेको नेकालाई अघि बढाउन लोकतान्त्रिक शक्तिका आधारमा मुलुकको शासन, शासन सञ्चालन गर्न लागि आधार तय गर्न उपयुक्त सिद्धान्त र त्यस सिद्धान्तप्रति समर्पण भई कर्तव्यको निर्वाह गर्न सक्ने अब्बल नेतृत्व आजको कांग्रेसले खोजेको छ । यस्तो नेतृत्वलाई कार्यकर्ताहरूले स्वतः स्वीकार गर्छन् ।

नेता र कार्यकर्ताबीचको सम्बन्ध प्रगाढ गराउनुपर्नेछ । शेखरले राम्रा प्रतिबद्धता जाहेर गरी नवनिर्वाचित सभापतिलाई सुधारका दिशामा अघि बढ्न सहज बनाएका छन् । नेपालमा प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिको संघर्षमा पटकपटक नेकाकै नेतृत्वले काम गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लोकतान्त्रिक दलका नाताले अस्तित्व कायम गरिराखेको छ । महाधिवेशनले युवाहरूलाई नेतृत्व दिनुपर्ने सन्देश दिएको छ । यस अवस्थामा सामूहिक नेतृत्व आजको कांग्रेसका लागि अपरिहार्य आवश्यकता हो ।

युवाहरूको आवाजलाई आत्मसात् गर्दै, परिवर्तनकारी शक्तिका रूपमा देशभरका ४० प्रतिशत कार्यकर्ताहरूले विश्वास गरेका नेता शेखर र फेरि पनि पौडेललाई समेत समेटेर दल अघि बढ्नुपर्छ । यसरी अघि बढ्दा अब दलभित्र पौडेलले कुनै पद पाउने छैनन्, सम्मानसम्म पाउने हो । यसलाई स्वीकार गर्दै आफ्ना कमीकमजोरीलाई आत्मसात् गरी आत्मसमीक्षाका साथ पौडेल प्रस्तुत हुनुपर्छ । अन्यथा आफ्ना परिवारका सदस्यलाई सत्तामा पुगेकाहरूसँग अनुनयविनय गरेर रोजगारी दिलाउनुमा नै निहित रही उनको राजनीतिको अवसान निश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी