बंगलादेशको ढाकामा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली टिम च्याम्पियन बनेको छ । मंगलबार नेपालले उज्वेकिस्तानलाई हराउँदै विजेत बनेको हो । नेपाल लगातार दोस्रो संस्करणमा विजेता बनेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले हराएको हो । नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० ले हराएको थियो ।
मंगलबार पहिलो सेटमा एक समय १२–१७ ले पछि परेको थियो । नेपालले पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि नेपालले लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुगेको थियो । त्यसपछि नेपालले तीनपटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएका थिए । तेस्रो सेटमा नेपालले २५–१५ को सहज जित निकाल्न सफल भयो ।
प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा लम्वियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपालले १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि उज्वेकिस्तानले दुई अंक र नेपालले दुई अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्न सफल भयो । शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।