काठमाडौं । जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
सरकारी वकील कार्यालयले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाउँदै संगठित ठगीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम ठगी गरेको भन्दै पीडितको उजुरीको आधारमा सीआईबीले छानबिन गरेको थियो ।
पीडितको उजुरीको आधारमा सीआईबीले १२ जनालाई पक्राउ गरेको थियो । अदालतले ठगी मुद्दामा पक्राउ परेकामध्ये पूर्वलेखासमिति सदस्य हरिहर लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवान्बहादुर सिंहलाई १० लाख रुपैयाँ धरौटी मागिएको छ ।
जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।
सरकारी वकिल कार्यालयले इच्छारामसहित ४२ जनालाई ठगी भएको रकमसहित बिगोबापत ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९ सय ३७ रुपैयाँ जरिमाना मागदाबी गरिएको थियो । ठगीसँगै ७५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई ठगी गरेको पुष्टि हुन आएकाले मुलुकी अपराधसंहिताको दफा २४९ को उदफा (३) को (ग) बमोजिमको सजाय र संगठित ठगी भएको पाइएकाले संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसुरमा सजाय मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो ।
सीआईबीको अनुसन्धानमा अध्यक्ष तामाङले सिभिल होम्स, सिभिल इस्टेट्स र सिभिल अपार्टमेन्टको नाममा सहकारीबाट धितो नै नराखी ८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको देखाएको छ ।
तामाङले चारपटक गरेर सहकारीबाट आफ्नो नजिक लगानी रहेका तीन कम्पनीको नाममा ऋण लिएका थिए । २०७५÷७८ को अडिट रिपोर्टअनुसार ८ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रकम ऋण लिएका थिए । पहिलोपटक ४ अर्ब ७२ करोड, दोस्रोपटक १ अर्ब ३० करोड, तेस्रोपटक १ अर्ब ५ करोड र चौथोपटक १ अर्ब ९५ करोड रुपैयाँ ऋण लिएको देखिएको प्रहरी अनुसन्धानले जनाएको छ ।