मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर

काठमाडौं । मुलुकभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले मंगलबार नै पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्न सक्ने पूर्वानुमान गरेका थिए ।

काठमाडौं उपत्यकामा रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौंको आसपासका डाँडाहरूमा बिहानैदेखि बाक्लै हिमपात भएको छ । उपत्यकाका डाँडाहरूमा यो वर्षको पहिलोपटक हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ । देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ । बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए । काठमाडौंमा दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ । पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुन सक्ने उनले बताए ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित
गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको ’boutकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । चिसोले जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले बताए । बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।

डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मंगलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ ।

सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताए । प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ । योक्रम बुधबार रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् नगरकोटीले बताइन् । उनले भनिन्, ‘सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको छ ।’

देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ४ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । गए रातिदेखि नै परिरहेको पानी र जाडोले मानिसहरूको दैनिकी नै प्रभावित बनाएको छ । अति आवश्यक काम परेर घरबाहिर निस्किनैपर्नेहरू पनि पानीबाट प्रभावित भए । चिसो बढेपछि मानिस आगो तापेर जाडो छल्ने कोसिसमा छन् ।

पानी परेर चिसो बढेपछि काठमाडौं उपत्यकाका कतिपय विद्यालयले आकस्मिक सूचना जारी गरी विद्यालय बन्द गराएका छन् । अनामनगरस्थित सिटी मन्टेश्वरी स्कुलले बुधबार र बिहीबार दुई दिनका लागि विद्यालय बन्द गरेको सूचना प्रकाशित गरेको छ । काठमाडौं उपत्यका केही विद्यालय भने खुलै छन् । विद्यार्थीहरू छाता र रेनकोट ओढेर विद्यालय पुगेका छन् । गत २४ घण्टामा सबैभन्दा बढी पानी लम्जुङमा ३९.८ मिलिमिटर पानी परेको छ । गोरखाको बारपाकमा ३९.६ मिलिमिटर पानी परेको रेकर्ड छ । यसैगरी, चितवनमा ३४, मनाङमा २७.५ र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०.७ मिलिमिटर पानी परेको रेकर्ड रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी म्यानुअल नभई अटोमेटिक रेकर्ड भएका तथ्यांक हुन् ।

प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडान प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरूले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको सूचना जारी गरेका छन् । डोल्पा, लुक्ला, सिमिकोटलगायतका स्थानका सबै उडान रद्द भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानमा पनि जहाज उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा ९९ हजार मतगणना हुँदा रेणु दाहाल ८७५६ मतले अगाडि