महात्मा माइन्ड

महात्मा शब्द दुई शब्द महा तथा आत्मा मिलेर बनेको हो, जसको शाब्दिक अर्थ हुन्छ, महान् व्यक्ति । ऋग्वेदका अनुसार पृथ्वीमा जन्मेका कुनै पनि मानिस जो मन, कर्म र वाणीले लोककल्याणमा लाग्छन्, महात्मा कहलाउँछन् । हुन त यस संसारमा, खास गरी भारतमा, लाखौं स्वघोषित महात्मा छन् । तर, संसारले नै मानेका केवल दुई महात्माहरू छन्, एक महात्मा बुद्ध र अर्को महात्मा गान्धी ।

महात्मा बुद्ध र उनका अनुयायीले नै सत्य र अहिंसा दर्शनलाई विश्वभरि फैलाए । तर, महात्मा गान्धीले राजनीतिक प्रयोगशालामा अहिंसालाई प्रयोगमा ल्याए । महात्मा गान्धीले अंग्रेजको हिंसालाई अहिंसाको शक्तिशाली हतियारले पराजित गरे । शान्तिपूर्ण आन्दोलनद्वारा अंग्रेजलाई भारतबाट लखेटे । वास्तवमा गान्धी आधुनिक कालका सत्य र अहिंसाका महान् प्रयोगकर्ता हुन् । अहिंसाका साक्षात् प्रतिमू्िर्त नै हुन् । त्यसैले त उनी महात्मा बुद्धपछिका अर्का महात्मा कहलिएका छन् ।

महात्मा माइन्ड काम, क्रोध, लोभ, मोह, मद, मत्सर तथा अहंकारविहीन हुन्छ, भावातित रूपमा जाज्वल्यवान हुन्छ । अर्थात् मन अतिचेतन हुन्छ । अतिचेतन मन के हो ? सामान्यतया मनका तीन भाग हुन्छन् : चेतन मन, अवचेतन मन र अचेतन मन । आममानिसको १० प्रतिशत मन चेतन अवस्थामा हुन्छ भने ९० प्रतिशत मन अवचेतन र अचेतन हुन्छ ।

तर, महात्माको मन भने अतिचेतन हुन्छ, पूरा सफा हुन्छ बादलरहित निलो आकाश जस्तो, स्पष्ट पिँध देखिने संग्लो पोखरी जस्तो । सिधा शब्दमा भन्ने हो भने महात्मा माइन्ड पूर्णरूपमा जागेको हुन्छ । यहाँ उल्लेख्य कुरा के भने जो जागेका छन्, उनीहरूले नै सुतेकालाई जगाउन सक्छन् । गौतम बुद्ध पनि जागेका महात्मा थिए ।

महात्मा माइन्ड काम, क्रोध, लोभ, मोह, मद, मत्सर तथा अहंकारविहीन हुन्छ

सिद्धार्थ गौतम राजकुमार थिए । नेपालको लुम्बिनीमा शाक्य सम्राट महाराजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मेका राजकुमार सिद्धार्थको बाल्यकाल र नवयुवा काल राजसी रहनसहनमा बितेको थियो । त्यसबेलासम्म उनी एक सामान्य मानिस नै थिए । जब उनले समाजमा बृद्ध मानिस, रोगी मानिस, मृत मानिस देखे, तब उनको मनमा अनेक प्रश्नहरू खडा भए, दुःख के हो ? दुःखको कारण के हो ? दुःखबाट छुटकारा पाउने उपाय के हो ?

अनि उनी २९ वर्षको कलकलाउँदो उमेरमा श्रीमती, छोरा, बाबुआमा तथा राजपाठ छोडेर दुःखकष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा घरबाट निक्ले । घुम्दाघुम्दै उनी भारतको बोधगयामा पुगे । अनि सिद्धार्थ गौतमले पीपलको रूखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनको चेतनाको आयाम बढ्दै गयो र उनी अतिचेतनावस्थामा पुगे । उनलाई दुःखकष्टका कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिद्धार्थ गौतम महात्मा बुद्ध भए ।

स्नायुविज्ञानले हालै एउटा क्रान्तिकारी खोज गरेको छ । त्यो के भने मानिसको मस्तिष्कको विकास एक निश्चित अवधिसम्म मात्र हुने भए पनि मानिसको जीवनभरि नै मस्तिष्क परिर्वतनका लागि सधैं तत्पर रहन्छ । त्यसैले आठवर्षे बालकको मात्र होइन कि, २९ वर्षे युवा वा ८० वर्षे वृद्धवृद्धाको मस्तिष्क पनि परिवर्तन हुन सक्छ । जस्तो कि, जब गर्भधारण हुन्छ, भू्रण बन्ने प्रक्रियासँगै मस्तिष्कको विकास द्रूत गतिमा अगाडि बढ्छ ।

मानिसको बाल्यकालमा नै मस्तिष्कको उच्चतम विकास हुन्छ । एकवर्षे बालकको मस्तिष्कमा नै सबैभन्दा बढी न्युरोनहरू हुन्छन् । तर, मानव मस्तिष्कमा एक असाधारण र अद्भूत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटी भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ ।

मस्तिष्कको यही विशेषताका कारणले नै सिद्धार्थ महात्मा गौतम बुद्ध बनेको हुन् । त्यो ’cause बुद्ध जन्मिँदै महात्मा बुद्ध भएर जन्मेका होइनन्, अन्य मानिसको जस्तै मस्तिष्क लिएर जन्मिएका थिए । तर, बुद्धले मनद्वारा, ध्यानद्वारा मस्तिष्कलाई यसरी परिवर्तन गरे कि, विश्व नै परिवर्तन भयो । राजकुमार छँदा सिद्धार्थ गौतमको मस्तिष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्तिष्क अर्कै भयो । बुद्ध जन्मिनुभन्दा पहिला विश्व जस्तो थियो, बुद्धको दर्शनपछि विश्व अर्कै भयो । मनले मस्तिष्कको पुनर्संरचना गर्न सक्दछ, जब मस्तिष्क परिर्वतन हुन्छ, मानिसको जीवन नै परिवर्तन हुन सक्दछ, मानिस बुद्ध बन्न सक्दछ, मानिस बुद्धिमान, ज्ञानवान् र जागरुक बन्न सक्दछ ।

ध्यान मस्तिष्क पुनर्संरचनाको एक प्रभावशाली मनोवैज्ञानिक विधि हो । ध्यानले केवल आनन्द, प्रेम तथा विवेकको मनस्थिति मात्र स्थापित गर्दैन कि, मानिसको चेतनाको आयामलाई बढाएर अतिचेतनाको स्थितिमा पु¥याउँछ । अतिचेतनाको मनस्थिति नै सिर्जनशील बुद्धिको महासागर हो । त्यहाँबाट पैदा भएका हरेक विचार नै सिर्जनशील र दूरदर्शी प्रकृतिका हुन्छन् । कुनै गम्भीर विषयमा निर्णय गर्नुपर्दा बुढापाकाले शान्त मनले सोचेर निर्णय गर भन्नुको अर्थ पनि यही हो ।

राजकुमार छँदा सिद्धार्थ गौतमको मस्तिष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्तिष्क अर्कै भयो

महात्मा बुद्धका अनुसार लोभलालच, घृणा, तृष्णा, आग्रह, पूर्वाग्रह, ईष्र्या, द्वेष आवेग, उन्माद तथा रिसराग आदि जस्ता मनोविकारले नै मानिसको मनलाई अशान्त बनाउँछ, प्रदूषित बनाउँछ । यस्तो अशान्त र प्रदूषित मनबाट सधैं गलत र घातक विचार नै उत्पन्न हुने गर्छन् । यही नै दुःख र रोगको कारण हो ।

दुःख र रोगबाट छुटकारा पाउन सबैभन्दा पहिला मनलाई शान्त बनाउनुपर्छ । यसका लागि लोभ, घृणा, स्वार्थ र बदलाको भावना त्याग्नुपर्छ । मनबाट यस्ता कुभावना हटेपछि मात्र मन शान्त र स्थिर हुन्छ । मन जति शान्त र निर्मल हुन्छ, विचार पनि त्यत्ति नै सिर्जनशील, दूरदर्शी र शक्तिशाली हुन्छ । त्यसैले त मानिसले शान्त मनभित्र सानो परिर्वतन मात्र गर्छ भने पनि मानिसको मस्तिष्कमा ठूलो परिर्वतन देखापर्छ । मस्तिष्कमा भएको यस्तो परिवर्तनले व्यवहारमा ठूलो छलाङ मार्छ । त्यसैले, हरेक मानिसले आफ्नो मनलाई प्रशिक्षण दिएर वा मनशक्तिको उपयोग गरेर आनन्द, खुसी, प्रेम र विवेकपूर्ण जीवनका लागि आफ्नो मस्तिष्क रिवायरिङ गर्र्नुपर्छ, पुनर्संरचना गर्र्नुपर्छ ।

अन्त्यमा गौतम बुद्ध भगवान होइनन्, गरु हुन्, शिक्षक हुन्, मनोवैज्ञानिक हुन्, महात्मा हुन्, सत्यका महान् खोजकर्ता हुन् । महात्मा बुद्धले आफ्नो उपदेशमा चार आर्य सत्यको कुरा गरेका छन् । पहिलो आर्य सत्य हो, दुःख अर्थात् संसारमा दुःख छ । दोस्रो आर्य सत्य हो, दुःखको कारण छ । तेस्रो आर्य सत्य हो, दुःख निरोध अर्थात् दुःखको अन्त्य हुन्छ । चौथो आर्य सत्य हो, दुःख निरोध मार्ग अर्थात् दुःखको नाश गर्ने मार्ग पनि छ ।

महात्मा गौतम बुद्धले इच्छा तथा तृष्णालाई दुःखको कारण मानेका छन् । उनले दुःखबाट मुक्तिको उपाय पनि बताएका छन् । यसका लागि मानिसमा उत्पन्न हुने तृष्णालाई क्षय गर्दै दुःख नाश गर्ने अष्टागिंक मार्ग (सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि) पालन गर्नुपर्ने उनको भनाइ छ । महात्मा बुद्धको यस महान् खोजलाई आधुनिक मनोविज्ञानले पनि स्विकारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

कुरी-कुरी