काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन)को २४औं साधारण सभा तथा छैठौं निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नु नै समस्याको समाधान रहेको पनि धारणा राखे । मन्त्री शर्माले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेको बताउँदै यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने र व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सिर्जना गर्नुको अर्को विकल्प नभएको तर्क गरे ।
विभिन्न वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नीतिगत, संरचनागत, व्यावहारिक र व्यावसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनले बताए । उनले नीतिगत र संरचनागत सुधारका लागि सरकार सधैं प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । उनले विगतमा बनाइएका आर्थिक नीति तथा सन्धि सम्झौताको समीक्षा गर्ने समय पनि आएको बताए ।






