ऊ आयो परिष्कृत सभ्यता बोकेर
उनी आइन् झंकृत भव्यता लिएर
मिलनको तगारो बीचमा ।
नाघ्न सक्दैन
सम्मिन सक्दैन
सभ्यता भव्यतासंग ।
दौडधूपको चक्रव्यूह घुम्दाघुम्दै
चक्रको गति बढ्न थाल्छ
गति सीमित हुने उपाय हुन्न ।
चक्र पुग्छ दोधारे समाजमा
अविकसित असभ्य नामांकित समाजमा
जसको दोष रहित चरित्रतामा
चक्रको कलंकित दाग
एउटा असंयमी व्यवस्था हुन्छ ।
बाँकी व्यूह
त्यो पनि रचना मै व्यस्त
व्यूह रचना
सभ्यता र असभ्यताको संघारमा
अटल निश्चल रुप लिई
निर्दोष समाजलाई
नरसंहारको पूण्यभूमि बनाउन
बाचा, बन्धन, व्यवहार
रीतिरिवाज आदिको श्रृजना हुन्छ ।
श्रृजना सृजित भए पश्चात्
घृणाको रुपमा घृणित हुन पुग्छ ।
अनि फलको आशामा
ऊ फर्कियो तिरष्कृत सत्यता बोकेर
उनी फर्किइन् विकृत सुन्दरता लिएर ।
सुकेधारा, काठमाडौं
तपाइको प्रतिक्रिया
(Visited 795 times, 1 visits today)