व्यवसायिक लाहा खेतीमा भोजपुरका किसानको आकर्षण


भोजपुर । राम्रो आम्दानी लिन सकिने भएपछि लाहा खेतीमा भोजपुरका कृषकको आर्कषण बढेको छ । गत वर्षबाट डिभिजन वन कार्यालयले यसको खेती विस्तार गरेसँगै स्थानीयमा आर्कषण बढेको हो ।

लाहा खेतीलाई विस्तार गर्नका लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रलाई छानेको छ । जुन क्षेत्रमा खयर, बयर लगाएतका वनस्पति प्रशस्त मात्रामा रहेका छन् ।

खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको विरुवासमेत वितरण गरेको छ । लाहालाई अझ विस्तार गर्न स्थानीयको माग र आवश्यकताको आधार यस्ता विरुवालाई थप विस्तार गर्ने योजना रहेको वन कार्यालयले जनाएको छ । यस प्रजातिको विरुवामा लाहा खेती गरेर दश वर्षसम्म उत्पादन लिन सकिने वन कार्यालयले जनाएको छ ।

लाहाको व्यवसायिक खेती विस्तारलाई जोड दिन यहाँका कृषकहरुलाई आवश्यक सहयोग गर्ने वन कार्यालयको भनाइ छ । कृषकलाई लाहा खेती प्रविधिको विषयमा जानकारी दिन झापा, धनकुटा र संखुवासभाबाट लाहाको खेती गरिरहेका अगुवा कृषक तथा विज्ञहरुलाई ल्याएर यसको बजार तथा खेती गर्ने तरिका ’bout बताइएको वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
प्रमुख घिमिरेले भने,‘हामीले लाहा खेतीलाई विस्तार गर्ने योजना अनुसार काम गरिरहेका छौँ । यहाँका सुख्खग्रस्थ क्षेत्रका नीजि तथा सामुदायिक वनलाई लक्षित गरेर विस्तारलाई जोड दिएका छौँ । स्थानीयले यसको खेतीलाई निकै चासोको रुपमा लिनु भएको छ ।’ खेती गर्न अझ सहज र सरल बनाउने लक्ष्यले वाहिरी जिल्लाबाट लाहाको व्यवसायिक खेती गरिरहेका कृषक र यसको विज्ञहरुसँग यहाँका कृषकहरुलाई छलफलसमेत गराएको घिमिरेको भनाई छ । यसले यहाँका कृषकलाई खेती गर्न सहज हुने र अन्य आवश्यक विषयमा पनि जानकारी लिने अवसर मिलेको छ ।’ उनले भने ।

अरुण गाउँपालिका ६ का खेती गर्न इच्छुक नीजि तथा सामुदायिक वनका मानिसहरुको तथ्याङ संकलन गरेर विस्तारलाई जोड दिइने प्रमुख घिमिरेले बताए । आवश्यक परेमा खेतीमा लाग्ने कृषकहरुलाई स्थलगत रुपमा लाहाको खेती भईरहेको स्थानहरुको भ्रमणसमेत गराउने योजना रहेको उनको भनाइ छ ।

‘भोजपुरमा लाहा खेतीको लागि धेरै क्षेत्रहरु उपयोगि मान्छि । यसको व्यवसायिक रुपमा खेती गर्न सके वन पैदावरको सरक्षणसँगै आयस्तरलाई बृद्धि गर्न सकिन्छ’ उनले भने,‘ यहाँका कृषकहरुलाई खेती प्रविधिको विषयमा जानकारी दिएर व्यवसायिक बनाउने योजना अनुसार काम गरिरहेका छौँ । उहाँहरुमा यसको खेतीप्रतिको आर्कषण बढेको छ ।’

वन कार्यालयले जिल्लामा पहिलो पटक खेती थालेकोले गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने बताएको छ । किसानहरुलाई आय, आर्जनमा जोड्न सकिने साथै खेर गइरहेका जमिनहरुको सदुपयोग हुने भएकाले लाहाको खेतीमा जोड दिने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीले भने,‘वन कार्यालयले अभियानको रुपमा जिल्लामा पहिलो पटक लाहा खेतीको शुरुवात गरेको छ । यसलाई सफल बनाउन हामी पनि योजनाबद्ध रुपमा काम गर्छौँ । बजारीकरणको लागि भने सरकारले ध्यान दिनुपर्छ । बजारमा समस्या भयो भने किसान मारमा पर्छन् । किसानलाई व्यवसायिक खेतीमा जोड्न गाउँपालिकाले सहयोग गर्छ ।’

बजारमा लाहाको माग धेरै रहेको झापामा लाहाको उद्योग सञ्चालन गरिरहेका डम्बर विश्वकर्माले बताए । जती मात्रामा उत्पादन भएपनि उत्पादित लाहाको जिम्मा आफुले लिने उनको भनाइ छ ।

विश्वकर्माले भने,‘ अहिले पनि लाहाको बजार मागलाई धान्न सकिएको छैन । नेपालमा यसको खासै खेती हुँदैन । अहिले पनि भारतको बजारबाट लाहा खरिद गर्नु पर्ने अवस्था छ । ‘धनकुटा र संखुवासभा लगायत ठाउँबाट पनि केहि मात्रामा लाहाको कच्चा पदार्थ ल्याउने गरेको छु ।’ उनले भने ‘त्यसैले जति पनि उत्पादित हुन्छ त्यसको बजारको जिम्मा म लिन्छु । यसबाट हामीले आयस्तरलाई राम्रो बनाउन सक्छौ भने, भारत जाने करोडौँ रुपैयालाई नेपालमा रोक्न सक्छौ ।’

भारतमा १५ वर्ष बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेर त्यसको अनुभवको आधारमा नेपाल नै उद्योग खोलेको विश्वकर्माले बताए ।
‘मैले लामो समय भारतमा लाहा उत्पादन गर्ने कम्पनीमा काम गरे । नेपालमा पनि यसको सम्भावना धेरै छ । नेपालका धेरै बेँसी भेगका सुख्खाग्रस्थ क्षेत्रमा व्यवसायिक रुपमा खेती गर्न सकिन्छ । यहाँ राम्रो उत्पादन गर्न सके भारतबाट यसको आयात रोक्न सकिन्छ’ उनले भने ।
लाहालाई खयर, बयर मौवा प्रजातीका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यवसायिक रुपमा खेती गर्न सकिने उनको भनाइ छ ।

विश्वकर्माले भने,‘खयर, बयर नभएका स्थानमा सामिया लता जातको विरुवा विस्तार गरेर लाहाको व्यवसायिक खेती गर्न सकिन्छ । यस्ता जातका विरुवामा लगाएको लाहाले दश वर्षसम्म आम्दानी लिन सकिन्छ ।’ उनको भनाई अनुसार यसबाट कुसुमी जातको लाहा उत्पादन हुन्छ । जुन लाहाको मूल्य र माग रंगिनी जातको लाहा भन्दा धेरै बढी छ । यसबाट दुई पटक लाहा संकलन गर्न सकिन्छ । यो प्रजातिको विरुवा बढीमा पाँचदेखी सात फिट उचाई हुने भएकाले संकलन गर्न सजिलो छ भने उत्पादन पनि राम्रो लिन सकिन्छ ।’

लाहाको कच्चा पदार्थ प्रतिकेजी रु. २५० देखी छ सय सम्म र यसको प्रशोधन गरे पश्चात प्रतिकेजी रु.एक हजार ८०० देखी दुई हजारसम्ममा विक्री हुने गरेको विश्वकर्माले जानकारी दिए । ‘यसको खेतीमा खास धेरै मेहनत गर्नु पर्दैन । एक पटक लगाएपछि वर्षमा दुई पटक संकलन गर्न सकिन्छ । प्रशोधन गरिसकेपछि यसको बजार मुल्य दुई हजारसम्म पर्छ । फर्निचर कारखाना, सुन पसल लगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले पनि भारतिय बजारबाट आउने गरेकोले स्वदेशमा नै यसको उत्पादन गर्न सकिन्छ ’ उनले भने ।

मौवा लगाएत ठुला जातका रुखबाट १०० केजीसम्म लाहा संकलन गर्न सकिने धनकुटाको साँगुरीगढीमा लाहाको व्यवसायिक खेती गरिरहेका कृषक इन्द्र बहादुर याक्खाले बताए । याक्खाले भने,‘ हामीले गरिरहेको कामको ’boutमा भोजपुरका किसानलाई अनुभव सुनाउन पाउदा खुसी लाग्यो । हाम्रो तिर विषेश गरेर मौवा, बयर र बड्केसमा खेती गरिरहेका छौँ । हामीले एक सालमा आठ क्वीन्टलसम्म उत्पादन गर्छौ ।’

वन कार्यालयले पहिलो पटक लाहा खेतीको थालनी गरेकोमा स्थानीय उत्साहित भएका छन् । व्यवसायिक रुपमा खेती गर्न सके लाहाबाट राम्रो आम्दानी लिन सकिने अरुण गाउँपालिका ६का स्थानीय गणेश राईले बताए । आफूले व्यवसायिक रुपमा यसको खेती थालेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने