संक्रमण बढ्दा दलका गतिविधि ठप्प

काठमाडौं । काठमाडौं उपत्यकासँगै देशैभरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राजनीतिक दलका गतिविधि ठप्प हुन थालेका छन् । सरकारले सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएपछि दलका गतिविधि प्रभावित हुन थालेको हो ।

सरकारको पछिल्लो निर्णयसँगै दलहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । पार्टीका शीर्ष नेताहरू नै कोरोना संक्रमित हुन थालेपछि दलका बैठक, सम्मेलन, भेलालगायतका कार्यक्रम स्थगित भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पार्टीको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको राजनीतिक दलहरूले जनाएका छन् । माओवादी केन्द्रका नेता गणेश साहले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको बताए ।

माओवादीले २५ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरू नै कोरोना संक्रमित भएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको साहले बताए ।

बैठकबाट पदाधिकारी, स्थायी कमिटी गठन, पोलिट्ब्युरो गठन र नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका एजेन्डामा छलफल हुने कार्यक्रम थियो । पार्टीको आठौं महाधिवेशनमा देशैभरिबाट नेताहरू सहभागी थिए ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले समेत पार्टी बैठक, भेला, छलफललगायतका कार्यक्रम स्थगित गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका काम गर्नुपर्ने भए पनि कोरोनाका कारण बैठक बस्न सक्ने अवस्था नभएको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार अध्यक्ष नेपालमा कोरोना संक्रमण पुष्टि भएको जनाए ।

‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो,’ खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’ प्रवक्ता खतिवडाले पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको बताए ।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत पूर्वनिर्धारित प्रदेश अधिवेशन केही समयका लागि स्थगित गरेको छ । यद्यपि, जिल्ला अधिवेशन जारी नै रहेको एमालेले जनाएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पछिल्लो समय पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि पार्टीको प्रदेश अधिवेशन सरेको बताए । यसअघि ८ माघमा तोकिएको अधिवेशन अब २८ र २९ माघमा हुने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार यससम्बन्धी निर्देशनसमेत प्रदेशमा गइसकेको छ । त्यस्तै, अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन २२ माघ सम्ममा सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका दलको बैठक, छलफल, भेलालगायतका कार्यक्रम पनि रोकिएको छ । जसपा कार्यकारिणी सदस्य मनीष सुमनले पार्टीका सबै कार्यक्रम अहिले स्थगित गरिएको बताए । लोसपा नेता सञ्जय यादवले पार्टीका कार्यक्रम केही समयका लागि स्थागित गरिएको बताए ।

यद्यपि, तराई मधेसमा जनमत पार्टीको जारी किसान आन्दोलन रोकिएको छैन । एकपछि अर्को कार्यक्रम घोषणा गर्दै अध्यक्ष डा. सिके राउतले सडक आन्दोलनलाई बढाउँदै लगेका छन् । दैनिक रूपमा अन्दोलनका कार्यक्रम जारी नै रहेको जनमत पार्टीका नेता बीपी साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी