सप्तरी, राजविराज । चालकलाई वास बसेको कोठामै थुनेर भाडामा लिएका गाडी लिएर फरार समूहको खोजिमा प्रहरी सक्रिय भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित नगरपालिकाको मातहतमा रहेको गेष्ट हाउसमा चालकलाई थुनेर बा.१४ प. ७८३ नम्बरको स्कारपियो गाडी लिएर फरार भएका चार जना अपराधि समूहको खोजि प्रहरीले तिब्र पारेको हो ।
प्रहरीका अनुसार पुस १६ गते नाम खुल्न नसकेका चार जना व्यक्ति घुमघामका लागि भन्दै तिलाठी कोइलाडी गाउँपालिका ५ निवासी नारायण प्रसाद राउतसँग उक्त गाडी भाडामा लिएका थिए । तर, भाडामा लिएका उक्त गाडीका चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ध्रुबकुमार खंगलाई उनीहरुले वास बसेको गेष्ट हाउसकै एउटा कोठामा थुनेर गाडी लिई भागेको चालकलाई उद्धृत गर्दै प्रहरीको भनाई छ ।
वडा अध्यक्ष रुन्दीलाल मण्डल पुस १८ गते बिहान गेष्टहाउस पुग्दा चालक एउटा कोठामा थुनिएको र बाहिरबाट ताल्चा लागिएको अवस्था देखिएपछि तत्कालै प्रहरीलाई खबर गरि उनको उद्धार गरिएको बताए ।
चालक खंगले गाडी भाडामा लिने चारै जनासँग हतियार रहेको बताएका छन् । “रक्सीले मातेका उनीहरु करिब राती १२ बजेतिर हतियार देखाउँदै गाडीको साँचो लिए र आफ्नो हातखुट्टा बाँधेर मुख थुन्दै कोठामा राखेर बाहिरबाट ताल्चा लगाइदिए” चालक खंगले भने, “उनले आफूलाई धम्काएर साँचो खोस्नेहरुलाई नचिनेको तर, कुरा गराईले उनीहरु भारतीय नागरिक भएको अनुमान गरेको सुनाए ।”
वडा अध्यक्ष मण्डलले पुस १६ गते साँझको समयमा स्थानिय समाजसेवी इन्द्रदेव यादवले भारतबाट आएका दुई÷तीन जना पाँहुना कोठा नपाई अलपत्र परेकाले गेष्ट हाउसमा कोठा मिलाइदिन अनुरोध गरेपछि कोठा उपलब्ध गराइएको बताए । यद्दपी ती पाँहुनाहरु को–को थिए भन्ने ’bout आफूलाई कुनै जानकारी नभएको वडा अध्यक्षको भनाई छ ।
यता इन्द्रदेव यादवले उनीहरु भारतको सिमराहीबाट नेपाल घुम्न आएको आफूलाई बताएको र उक्त दिन हनुमानगर बजारका सम्पूर्ण होटल लज प्याक भई कोठा नपाएको भन्दै सहयोगका लागि आग्रह गरेपछि मानविय आधारमा वडा अध्यक्षलाई सिफारिस गरिदिएको बताएका छन् ।
उनले भने, “मैले पनि ती मध्ये कसैलाई चिनेको थिइन् तर, भारतबाट पाहुनाका रुपमा आएकाहरुले कोठा खोजिदिन गुहारेपछि एक दुई दिनका लागि नगरपालिकाको गेष्ट हाउसमा राखि दिन वडा अध्यक्षलाई सिफारिस गरेको हुँ ।”
उनले मानवताको हिसाबले सहयोग गरेकाहरुले त्यस्तो अपराधीक घटना घटाएको सुन्दा आश्र्चय लागेको बताए । प्रंहरीले चालक, गाडी मालिक र कोठाका लागि सिफारिस गर्ने यादवलाई पनि झिकाई बयान लिएको छ ।
गाडी मालिक राउतले गाडी भाडामा लिइनेहरुलाई आफूले पनि नचिनेको बताएका छन् । सीमावर्ती भारतीय बजार सिमराहीबाट नेपाल घुम्न आएको र तीन÷चार दिनका लागि भाडामा चाहियो भन्दै आएपछि आफूले भाडामा दिएको बताएका छन् । तर, उनीहरु गाडी लिएर नै फरार भएपछि आफू प्रहरी सरणमा पुगेको उनको भनाई छ ।
घटना ’bout सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबैको बयानको आधारमा अपराधीहरुको खोजी कार्य भइरहेको छ डिएसपी माधवप्रसाद काफ्लेले भने, “सीमावर्ती भारतीय क्षेत्रका प्रहरी र उच्च अधिकारीहरुसँग पनि समन्वय गरि खोजतलास गरिरहेका छौं ।”
उनीहरु गाडी लिएर सोही राती नै सीमापार भारततर्फ गइसकेको अनुमान गरिएको छ । तर, मध्यरातमा हतियार र चोरीका गाडीसहित अपराधीहरु कसरी र कुन नाकाबाट भन्सार र चेकपोष्टलाई छल्दै उम्कन सफल भए भन्ने कुरा रहस्यमय बनेको छ ।