शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब नाग्यो, चालू खाता घाटा ऐतिहासिक, मूल्यवृद्धि उच्च

नेपाल राष्ट्र बैंकको निर्माणाधीन भवनको ग्राफिक नक्सा ।

काठमाडौं । मुलुकको शोधनान्तर घाटा निरन्तर बढेर थप चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका पाँच महिना गत मंसिरसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँँ पुगेको जनाएको छ ।

चालू आव लागेपछि शोधनान्तर घाटा बढिरहेको छ । पहिलो महिना अर्थात् चालू आवको सुरुवाती साउनमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड पुगेको थियो । त्यसपछि भदौमा ८३ अर्ब ४१ करोड पुगेको घाटा असोजमा केही घटेर ७६ अर्ब १४ करोडमा झरेको थियो ।

त्यसपछि एकैपटक कात्तिकमा १ खर्ब ५० अर्ब ३८ करोड पुगेको घाटा मंसिरमा ह्वात्तै बढेर १ खर्ब ९५ अर्ब एक करोड रुपैयाँँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत मंसिरको एक महिनाको अवधिमै शोधनान्तर घाटा ४४ अर्ब ६३ करोडले बढेको हो । शोधनान्तर घाटा बढेपछि चालू खाता घाटामा पनि थप दबाब परेको छ ।

एक महिनामै चालू खाता घाटा ७७ अर्ब ५० करोड रुपैयाँँले बढेको छ । कात्तिकमा चालू खाता घाटा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँँ रहेकोमा मंसिरमा ३ खर्ब ६९ करोड रुपैयाँँमा पुगेको छ ।

यसैगरी, पछिल्लो समय नेपालमा मूल्यवृद्धि दर पनि उच्च रूपमा बढेको राष्ट्र बैंकले औंल्याएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको वितेका पाँच महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २ दशमलव ९३ प्रतिशत मात्र थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढेर ५ दशमलव ६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव २५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालू आवको मंसिरमा घिउ तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशतले बढेको छ ।

यसलाई क्षेत्रगत रूपमा विभाजन गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ५ दशमलव ९१ प्रतिशत, तराईमा ७ दशमलव ५२ प्रतिशत, पहाडमा ६ दशमलव ९५ प्रतिशत र हिमालमा ४ दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रहरूमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

चालू आवको मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.२२ प्रतिशत, ६.११ प्रतिशत र ७.२४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३४ प्रतिशत रहेको छ ।

यसैगरी, समिक्षा अवधिमा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको छ भने आयात ५९.५ प्रतिशतले बढेको छ । यो गत आर्थिक वर्षको सो आवधिको तुलनामा केही प्रतिशतले बढेको हो ।समिक्षा अवधिमा आईपुग्दा १ खर्ब २ अर्ब ९२ करोडको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी, समिक्षा अवधिमा आयात करिब ६० प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड रुपैयाँँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कञ्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका नदीमा देखिन थाले डल्फिन

कुरी-कुरी