राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

लुम्बिनी प्रदेशमा प्रतिपक्षी एमाले र स्वतन्त्र सांसद मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै सम्भावना छैन । एमाले र एक स्वतन्त्र सांसदबाहेक अरू सबै दल पाँच दलीय गठबन्धनमा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहतर्फको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको हो । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवारहरू सबै प्रदेशमा पराजित हुने मतभारले देखाउँछ । लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् ।

तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र प्रमुख प्रतिपक्षी एमालेकी भारती उपाध्याय खनालले उम्मेदवारी दर्ता गराएका छन् । दलिततर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा र एमालेका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । कसको मतभार कति ? लुम्बिनी प्रदेशमा ८२ जना प्रदेशसभा सदस्य रहेका छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख २ सय १४ जना रहेका छन् । यिनीहरूले नै राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो ।

लुम्बिनी प्रदेशमा जम्मा मतभार ७ हजार सात सय ८८ रहेको छ । प्रदेशसभाका सदस्यको ३ हजार ९ सय ३६ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार ३ हजार ८ सय ५२ रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसको लुम्बिनी प्रदेशमा सांसद संख्या १९ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ६६ रहेको छ । जसको मतभार २ हजार १ सय हुन्छ । माओवादी केन्द्रको सांसद संख्या १९ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४२ रहेको छ । जसको मतभार १ हजार ६ सय ६८ हुन्छ । एकीकृत समाजवादीको लुम्बिनी प्रदेशमा एक जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या शुन्य रहेको छ । एकीकृत समाजवादीको मतभार ४८ मात्रै छ । जसपाको सांसद संख्या चार रहेको छ ।

लुम्बिनी प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको संख्या १४ रहेको छ । जसपाको मतभार ४ सय ४४ हुन्छ । सत्तारूढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेशमा सांसद संख्या एक र प्रमुख, उपप्रमुखको संख्या पाँच रहेको छ । जनमोर्चाको मतभार १ सय ३८ हुन्छ । प्रमुख प्रतिपक्षी दल एमालेको लुम्बिनी प्रदेशमा सांसदको संख्या ३७ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ८७ रहेको छ । यसआधारमा एमालेको मतभार ३३ सय ४२ हुन्छ ।

यस्तै, यस प्रदेशमा एक स्वतन्त्र सांसद रहेको छ । जसको मतभार ४८ हुन्छ । लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार ४ हजार ३ सय ९८ हुन्छ । सत्तारूढ दलबाहेकका एमाले र स्वतन्त्र सांसदबीच गठबन्धन गर्दा उनीहरूको मतभार ३ हजार ३ सय ९० मात्रै हुन्छ । लुम्बिनी प्रदेशमा अरू दलभन्दा बलियो रहेको एमालेले सत्तारूढ गठबन्धनसँग एक्लै प्रतिपस्पर्धा गर्न सक्ने अवस्था छैन ।

स्वतन्त्र सांसदसमेतले एमालेलाई समर्थन गर्दा सत्तारूढ गठबन्धनका उम्मेदवारहरू सहजै विजयी हासिल गर्न सक्छन् । अरू प्रदेश जस्तै लुम्बिनी प्रदेशमा समेत सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी हुने निश्चित रहेको मतभारले देखाउँछ ।

लुम्बिनी प्रदेशमा दलहरूको मतभार
एमालेः ३३४२
कांग्रेसः २१००
माओवादीः १६६८
जसपाः ४४४
जनमोर्चाः १३८
एकीकृत समाजवादीः ४८
स्वतन्त्रः ४८
सत्तारूढ गठबन्धनः ४३९८
सत्ताइतरः ३३९०

तपाइको प्रतिक्रिया
(Visited 631 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा