सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्धन्द्धी पाएको छ । सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो ।
मछिन्द्र र ब्लु स्टारबीचको खेल २२ चैतमा हुनेछ ।
लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो । लिगमा अपराजित रहँदै शीर्षस्थानमा रहेको मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । यसक्रममा टोलीले ७ जित र २ बराबरीको नतिजा निकालेको हो । मछिन्द्र क्लबको इतिहासमा पहिलो पटक एएफसीको आधिकारिक मान्यता प्राप्त क्लब प्रतियोगिता खेल्दैछ । यसअघि गत वर्ष लिगको च्याम्पियन बनेपनि क्लब लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको थियो । मछिन्द्रले समूह चरणमा स्थान पक्का गर्न छनोटको तीन चरण पार गर्नुपर्नेछ ।
त्यसपछि यस चरणको विजेताले अर्को चरणमा भारतको एटिके मोहन बगानसँग २९ चैतमा खेल्नेछ ।