जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा माघको पहिलो सातादेखि नै परिक्षणका लागि आउनेमध्ये ५० प्रतिशतमा कोरोनाको संक्रमण देखा परेकोले कोरोना अहिले समुदायमा नै फैलिएको आशङ्का गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएका मध्ये ५ दिनमा मात्रै ३३४ जना संक्रमित फेला परेका छन् ।
एकातिर संक्रमितको संख्या बढिरहेको छ भने अर्कोतर्फ जनकपुरधाम राजनीति कार्यक्रमहरु रोकिएको छैन । माघ महिनाको १ गते ७६ जनाको पी सी आर परीक्षण गरिएकोमा ३९ जनामा अर्थात् ५१ प्रतिशत, माघ २ गते ९४ नमूनाको पी सी आर परीक्षण गर्दा ५० जनामा सङ्क्रमणको पुष्टि भएर परिक्षण गराउने मध्ये ५३ प्रतिशत संक्रमण देखा परेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
यसै गरी माघ ३ गते १ सय ६४ नमूनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको छ जून ५७ प्रतिशत हो । माघ ४ गते १ सय ९५ नमूना पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोनाको पुष्टि भएको छ, जून ४८ प्रतिशत हो भने आज १ सय १७ नमूनाको पी सी आर परीक्षण गर्दा ५७ जना अर्थात् परीक्षण गराएका मध्ये करिब ५० प्रतिशतमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण कुमार मिश्रले जानकारी दिए ।
कोरोना सङ्क्रमणको पुष्टि हुने अधिकांशले कोरोना विरुद्धको खोप लगाएको र लक्षण सामान्य रहेको बताइएको छ । अस्पताल भर्ना हुने दर निक्कै न्यून रहेको प्रयोगशालाले जनाएको छ । कोरोनाको खोप नलिनेलाई संक्रमण भएको खण्डमा गम्भीर अवस्था आउने खतरा रहेको छ ।
मधेस प्रदेश सरकारले ८ वटै जिल्लामा निःशुल्क रुपमा नै कोरोनाको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए पनि परीक्षण गराउन आउनेको सङ्ख्या ज्यादै न्यून रहेको छ । अहिले धेरैलाई ज्वरो, रुघा खोकीले सताएको छ ।
बजार तथा सरकारी कार्यालयहरूमा भिडभाड यथावत् छन् । यसैबिच जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक सेवा लिन चाहने सेवाग्राहीका लागि खोप कार्ड भोलिदेखि अनिवार्य गर्न लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।