सप्तरी, राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नं. प्रदेशबाट “मधेश प्रदेश” नामाकरणले मधेशी सहिदको सपना साकार भएको भएको बताएका छन् ।
मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा बुधबार आन्तरिक मामिला तथा संचार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा राजविराजस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित चौथो बलिदानी दिवसमा उनले यस्तो बताएका हुन् ।
मधेश प्रदेशको स्थापना यहाँका सहिदहरुको सपना नै थियो, राउतले भने “त्यसको स्थापनाले उनीहरुको सपना अहिले साकार भएको छ ।” उनले मधेश आन्दोलनका क्रममा मधेशका जिल्लाहरुमा रहेका सरकारी कार्यालयमा मधेशवादी आन्दोलनकारीले मधेश लेख्ने गरेकोमा आज त्यो सार्थक भएको बताए ।
५९ जना सहिद परिवारलाई तीन÷तीन लाख, घाइतेलाई २५ हजार देखी ३ लाख सम्मको चेक हस्तान्तरण
केन्द्र सरकार अहिले पनि प्रदेश सरकारलाई स्वायत्तता र अधिकार दिन नचाहिरहेको आरोपका साथ उनले मधेश प्रदेशको प्रहरी ऐन तयार रहेपनि प्रहरी समायोजना हुन नसकेको सुनाए ।
यसैगरि निजामति ऐन समेत आफूहरुले तयार गरेर राखेको भएपनि केन्द्र सरकारले कर्मचारी समायोजन गर्न नचाहिरहेको उनको आरोप थियो । उनले यो विषयलाई लिएर आफूहरु अदालतमा पुगेको र छिट्टै न्याय पाउने विश्वास समेत व्यक्त गरे । “हामीहरुले प्रदेशका प्रहरी र कर्मचारी भर्ना गर्दा जनसंख्याको अनुपातमा भर्ना गर्ने व्यवस्था मिलाएका छौं, मुख्यमन्त्री राउतले भने, तर केन्द्र सरकार यसमा बाधक बनिरहेको छ ।”
मधेश आन्दोलन तथा अन्य आन्दोलनमा प्राणको आहुती दिने सहिदहरुको सम्मान र सम्झनामा मधेश प्रदेशको पाँच जिल्लामा सहिद पार्क तथा सहिदहरुको प्रतिमा स्थापना गर्ने र यसका लागि आन्तरिक मामिला तथा संचार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठान मार्फत आवश्यक काम अघि बढाएको उनले जानकारी दिए ।
२०६३ माघ ५ गतेका दिन सिरहाको लहानमा पहिलो मधेश आन्दोलनका क्रममा रमेश महतोले सहादत प्राप्त गरेपछि माघ ५ गतेलाई विभिनन चरणका मधेश आन्दोलनमा सहादत प्राप्त गर्नेहरु समेतको स्मरणमा बलिदानी दिवस मनाउने गरिएको हो । यस दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।
आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको अध्यक्षतमा आयोजित समारोहमा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन सहभागी थिए । त्यस्तै गिता यादव, विक्की यादव, नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादव सहभागी थिए । कार्यक्रममा लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झा, नेकपा एकिकृत समाजवादीका प्रताप नारायण चौधरी, मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलगायतले पनि शुभकामना दिँदै सहिदहरुप्रंति सम्मान र श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५९ जना सहिद परिवारलाई मधेश प्रदेश सरकारको तर्फबाट जनही ३÷३ लाख रुँपैया तथा घाइतेहरुको उपचारका लागि २५ देखी ३ लाख ५० हजारसम्मको चेक प्रदान गरिएको थियो ।