काठमाडौं । सरकारले कोरोना खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा दिने यसअघिकै सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि पछिल्लोपटक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् ।
विदेशी पर्यटकले कोभिड–१९ को खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षण गरेका र नेगेटिभ रिर्पोट, नेपालमा होटल बुकिङ गरेको प्रमाण र पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपिसमेत पेस गरेमा नेपाल प्रवेश बिन्दुमै भिसा पाउने भएका छन् ।
खोप नलगाए पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने
सोहीक्रममा सीसीएमसीको अनलाइन अराभइल फारम भने भर्नुपर्छ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरूले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरूले अनअराइभल भिसा पाउँदैनन् ।
खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नुपर्नेछ । नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ ।
अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटल प्रवेश गर्नुअघि परीक्षण गर्नुपर्छ । पाँच दिन होटल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड–१९ परीक्षण गरी आफ्नो उद्देश्यअनुसार भ्रमणमा जान सक्नेछन् ।
खोपको मात्रा पूरा गरेका पर्यटकले समेत होटलमा चेकइन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् । होटल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ ।
कोभिड–१९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बिमालगायतका अन्य खर्च विदेशी नागरिक स्वयंले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्नुपर्नेछ ।
खोपको मात्रा पूरा गरेको १४ दिन भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहज घरमा जान दिइन्छ । तर, उनीहरूमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ ।
उनीहरूले पाँच दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउनेछन् । खोपको मात्रा पूरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरी नेगेटिभ आएमा मात्र गन्तव्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानुपर्नेछ । विदेशी कूटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुनेछ ।
विभागका अनुसार नेपाल सरकारको निमन्त्रणामा काठमाडौं आउने सबै विदेशी पाहुनाको प्रवेश बिन्दुमा कोभिड–१९ परीक्षण गरी नेगेटिभ आएमा मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइने भएको छ । पाँच वर्षभन्दा मुनिका बालबालिकाको हकमा खोप र परीक्षण अनिवार्य छैन ।
पाँचदेखि १८ वर्षसम्मका बालबालिकाका लागि परीक्षण अनिवार्य भए पनि खोप अनिवार्य लागू हुनेछैन । स्थलमार्गबाट प्रवेश गर्ने भारतीय नागरिकको हकमा समेत खोप कार्य, कोरोना परीक्षण अनिवार्य गरिएको छ । स्थलमार्गबाट प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकले समेत तोकिएको कागजात पूरा गरेको अवस्थामा नेपाल प्रवेश बिन्दुमै भिसा पाउनेछन् ।