काठमाडौं । पछिल्लो समय मुलुकको व्यापार घाटा अस्वाभाविक रूपमा बढेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को ६ महिनाको अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा जम्मा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ थियो ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको बितेका ६ महिनाको अवधिमा कुल ७४ अर्ब ४ करोड ५५ लाख ६६ हजार रुपैयाँले व्यापार घाटा वृद्धि भएको छ । दैनिक व्यापार घाटा बढ्नुको मुख्य कारण विभिन्न देशबाट भित्रिने सामानको आयात बढ्नु नै भएको विभागले जनाएको छ ।
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले हाल देखिएको व्यापार घाटाको अवस्था एकदमै चिन्ताजनक रहेको बताए । उनले हरेक उपभोग्य वस्तुमा परनिर्भरता एवं आयातमुखी अर्थतन्त्रले अहिले मुलुकले यस्तो अवस्था भोग्नुपरेको बताए । पछिल्लो समय सरकारले आयात नियन्त्रणमा जोड दिए पनि अझै अपेक्षाकृत रूपमा उपलब्धि नदेखिएको उनको भनाइ छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको बितेका ६ महिनामा गत आवको सोही अवधिको तुलनामा ५१ प्रतिशत धेरैले विभिन्न वस्तुहरूको आयात बढेको छ । आयात उच्चदरले बढेपछि यसअवधिमा व्यापार घाटासमेत साढे ४६ दशमलव ६४ प्रतिशत धेरैले बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा नेपालले झन्डै १० खर्ब रुपैयाँको सामान तथा वस्तु आयात गरेको छ । साउनदेखि पुस मसान्तसम्म नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँबराबरको सामान तथा वस्तु आयात गरेको देखिएको छ ।
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातदर ५१ दशमलव १३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा नेपालले जम्मा ६ खर्ब ६१ अर्बबराबरको सामान आयात गरेको थियो ।
यसैगरी, चालू आवको ६ महिनाको अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख ६० हजार रुपैयाँबराबरको सामान निर्यात भएकोे छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात ९५ दशमलव ४८ प्रतिशतले बढेको हो ।
अघिल्लो आवको पहिलो ६ महिनामा नेपालले ६० अर्ब ७९ करोड रुपैयाँबराबरको सामान तथा वस्तु निर्यात गरेको थियो । पछिल्लो समय मुलुकको निर्यात बढे पनि अझै व्यापार घाटा एकदमै अस्वाभाविक रूपमा बढेको विभागले जनाएको छ ।
यसरी व्यापार घाटा बढेसँगै अहिले सम्बन्धित सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सरकार गम्भीर नभए देशलाई आवश्यक वैदेशिक मुद्रा सञ्चितीमा प्रभाव पर्ने र आवश्यक परेको बेला विदेशबाट ल्याउनुपर्ने अत्यावश्यक सामान ल्याउनसमेत अप्ठेरो हुने अवस्था आइलाग्ने बताएका छन् ।
सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँबराबरको भएको थियो । जसमध्ये व्यापारमा आयातको हिस्सा ८९ दशमलव ३७ प्रतिशत र निर्यातको हिस्सा १० दशमलव ६३ प्रतिशत रहेको विभागले जनाएको छ ।
हाल देशभर सञ्चालित दुई दर्जन भन्सार नाकामध्ये पाँचवटा भन्सार नाकाबाट उच्च रूपमा वैदेशिक व्यापार हुने गरेको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार कुल सञ्चालनमा रहेका २४ नाकामध्ये मुख्य पाँचवटा नाकाबाट मात्रै ८० प्रतिशत बढी आयात निर्यात हुने गरेको छ । भन्सार विभागले प्रकाशित गरेको चालू आवको बितेका ६ महिना साउनदेखि पुससम्मको अवधिमा वीरगन्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर भन्सार र वीरगन्ज सुख्खा बन्दरगाह भन्सार नाकाहरूबाट सबैभन्दा धेरै सामान तथा वस्तुहरू आयात र निर्यात भएको थियो ।
जसमध्ये सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुने उत्कृष्ट भन्सारमा वीरगन्ज भन्सार नाका पहिलो नम्बरमा रहेको छ । यस नाकाबाट सो अवधिमा कुल आयातको ३४ दशमलव ८० प्रतिशत आयत तथा कुल निर्यातको ४७ प्रतिशत निर्यात भएको छ ।
यस नाकाबाट बितेको ६ महिनाको अवधिमा ३ खर्ब ४७ अर्ब ७९ करोड ७१ लाख २६ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । यस नाकाबाट सो अवधिमा कुल ५५ अर्ब ८६ करोड ४६ लाख १३ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
यसैगरी, उत्कृष्ट दोस्रो स्थानमा रहेको भैरहवा नाकाबाट बितेको ६ महिनाको अवधिमा १ खर्ब ६२ अर्ब ३८ करोड ११ लाख ७५ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । जुन कुल आयातको १६ दशमलव २५ प्रतिशत हो । सोही अवधिमा भैरहवा नाकाबाट ३९ अर्ब ५० करोड ४० लाख ८१ हजार रुपैयाँ रकमबराबर सामान निर्यात भएको थियो । जुन कुल निर्यातको ३ दशमलव ३२ प्रतिशत हो ।
उत्कृष्ट तेस्रो नम्बरमा रहेको त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल भन्सार नाकाबाट बितेको ६ महिनाको अवधिमा १ खर्ब २३ अर्ब ९३ करोड ६२ लाख ७० हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १२ दशमलव ४० प्रतिशत हो । सोही अवधिमा यस भन्सार नाकाबाट कुल १६ अर्ब ८० करोड १५ लाख ९१ हजार रुपैयाँबराबरको सामान तथा वस्तु निर्यात भएको थियो । जुन कुल निर्यातको १४ दशमलव १४ प्रतिशत हो ।
त्यसैगरी, उत्कृष्ट चौथो नम्बरमा रहेको विराटनगर भन्सार नाकाबाट सो अवधिमा कुल १ खर्ब १५ अर्ब ७७ करोड ८३ लाख ३ हजार रुपैयाँबराबरको सामान तथा वस्तु आयात भएको थियो । यो कुल ११ दशमलव ५९ प्रतिशत हो । सो अवधिमा सामान निर्यातमा दोस्रो स्थानमा भने विराटनगर रहेको छ । यस नाकाबाट ३३ अर्ब ३७ करोड ७८ लाख ४२ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो । यो कुल निर्यातको २८ दशमलव ८ प्रतिशत हो ।
सो अवधिमा सबैभन्दा धेरै वस्तु तथा सामान आयात गर्ने उत्कृष्ट पाँचांै स्थानमा वीरगन्ज ड्राइपोट रहेको छ । यस ड्राइपोट भन्सार नाकाबाट सो अवधिमा १ खर्ब ९ अर्ब ४७ करोड ९८ लाख १५ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १० दशमलव ९६ प्रतिशत हो ।
त्यसैगरी, निर्यातको आधारमा उत्कृष्ट चौथो स्थानमा मेची भन्सार नाका रहेको छ । सो समयमा मेची भन्सार नाकाबाट ५ अर्ब २० करोड ९४ लाख ४२ हजार रुपैयाँबराबरको सामान निर्यात भएको थियो । यो कुल निर्यातको ४ दशमलव ३२ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ ।