कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग

काठमाडौं । कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै नागढुंगा–नौबिसे सिस्नेखोला सुरुङमार्ग सुरुङमार्ग निर्माण कार्यमा असर परेको छ ।

सुरुङमार्ग आयोजनामा कार्यरत १ सय २७ जनामा संक्रमण पुष्टि भएपछि केही दिनयता निर्माण कार्य सुस्ताउन पुगेको हो । कामदारमा कोरोना संक्रमण भएपछि कतिपय उनीहरू निर्माणस्थलमा नै ‘आइसोलेसन’मा बसेका छन् भने कतिपय आआफ्नो घरमा नै आइसोलेसनमा रहेका छन् ।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिएका छन् । प्रमुख शाक्यका अनुसार निर्माणस्थलमा सामान्य अवस्थामा साढे ५ सयले काम गर्दै आएका थिए । अहिले कोभिडका कारण सो संख्या घट्न पुगेको छ ।

प्रधानमन्त्री कार्यालयले देखायो चासो

आयोजनाले पाँच÷पाँच दिनमा कोभिड परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएर स्वस्थ रहेकाहरूलाई नियमित रूपमा काममा लगाउने गरेको जनाएको छ ।

आयोजनाले हरेक दिन सात मिटर सुरुङ खन्ने लक्ष्य राखेको थियो । सुरुङ निर्माणको काम सुरु भएसँगै कोभिडका कारण काम भने प्रभावित हुँदै आएको छ । आयोजनाका अनुसार अबको पाँच महिनामा सुरुङ खनिसक्ने लक्ष्य राखिएको छ ।

सुरुङको निर्माण २०७६ कात्तिकमा सुरु भएको हो । ४२ महिनामा सक्नुपर्ने सुरुङको अहिलेसम्मको भौतिक प्रगति ३० प्रतिशत छ ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो ।

नागढुंगा–नौबिसे सुरुङमार्ग लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ । २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ ।

करिब २.७ किलोमिटरको यो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कनेछ । दुई लेनको यो सुरुङमार्गसँगै समानान्तर हुनेगरी इभाकुएसन टनेलसमेत निर्माण भइरहेको छ । आपतकालीन रूपमा प्रयोग गन इभाकुएसन टनेल निर्माण गरिएको हो ।

प्रधानमन्त्री कार्यालयको चासो
निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूले सुरुङमार्गलाई बजेट अभाव हुन नदिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा आइतबार भएको छलफलमा सचिव शिशिरकुमार ढुंगाना, यामकुमारी खतिवडा र लक्ष्मण अर्यालले अर्थ मन्त्रालयलाई छुट्टै बजेट व्यवस्थापन गरेर भए पनि बजेट उपलब्ध गराउन आग्रह गरेका हुन् ।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका उपसचिव नवराज पन्थीले काम नरोकिनेगरी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

छलफल कार्यक्रममा आयोजना प्रमुख शाक्य, सडक विभागका महानिर्देशक शिवहरि सापकोटाको पनि उपस्थिति रहेको थियो । सापकोटाले बजेट रकमान्तर गरेर चाँडै पेस गर्ने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिवहरू केही दिनअघि सुरुङमार्गको स्थलगत निरीक्षणमा पुगेका थिए । त्यस क्रममा बजेट अपुग हुँदा मुआब्जा वितरणमा समस्या भएको जानकारी पाएपछि चासो देखाएका हुन् ।

आयोजनाका लागि काठमाडौंको बलम्बु क्षेत्रमा मुआब्जाका लागि सवा अर्ब रकम आवश्यक भए पनि चालू आर्थिक वर्षमा डेढ करोड मात्र विनियोजन भएको आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

कुरी-कुरी