टुँडिखेल नै कित्ताकाट भएको छ कि ? चेक गरौं

सरकार र कानुन सक्रिय भए, मुलुकमा अपराधिक कार्य हुन पाउँदैन । कानुन निष्क्रिय भए अपराधी सल्बलाउँछन्, फैलँदै जान्छन्, सुसंगठित हुन्छन्, अन्ततः राज्य निकायलाई नै नियन्त्रणमा लिन्छन् । राजनीतिक नेतृत्व सचेत रहे अपराधीले यसरी विस्तारित हुने अवसरै पाउँदैनन् । नेताको मानसिकता स्वच्छ भए विधिवतै राज्य सञ्चालन हुन्छ । कर्मचारी प्रशासन पनि नेता अनुकूलै स्वच्छ र प्रभावकारी बन्छ । गलत गर्नेले दण्ड सजायको भागीदार बन्नुपर्ने भएकाले कर्मचारी पनि अपराधीसँग टाढै रहन्छ । राज्य प्रशासन पनि जनउत्तरदायी हुन्छ । यो अवस्थामा सामाजिक वातावरण सुशान्त बन्छ । यही पृष्ठभूमिमा सर्वसाधारण नागरिकले आआफ्नो पेसा व्यवसायमा निश्चिन्त रूपमा आबद्ध हुने अवसर पाउने भएकाले समष्टिगत रूपमा मुलुक नै चलायमान बन्छ । मुलुक चलायमान भए सर्वसाधारण सबैलाई लाभ पुग्छ ।

मुलुक उदाहरणीय ढंगले चलाउने वा चलाउनैका लागि चलाउने अथवा निराशाजनक ढंगले चलाउने भन्ने हात सत्तामा पुग्ने नेताहरूको हुन्छ । राज्य सञ्चालन गर्ने नीति उदार र जनभावना अनुरूपकै हुन्छ भनेरै नेपाली जनताले लोकतन्त्र ल्याएका हुन् । लोकतान्त्रिक व्यवस्था आफैंमा क्रियाशील हुँदैन । व्यवस्थालाई जनभावना अनुरूपमै क्रियाशील गराउने दायित्व नेताको हो । नेताको मानसिकता, सेवा भावनामा समर्पित रहे यो सामान्य कुरा हो । तर, नेताकै मानसिकता गलत भए मुलुक संकटको भूमरीतर्फ धकेलिन्छ । जनताले राहतको अनुभूति गर्न पाउँदैनन् । हाम्रो मुलुकको सन्दर्भमा भने यही सैद्धान्तिक कुरा व्यवहारमा उत्रन सकेको छैन । यहाँ राज्य कसले चलाइरहेको छ भन्ने कुरासम्म सर्वसाधारणले थाहा पाउँदैनन् । मुलुक हेर्दा नेताले चलाएको देखिए पनि व्यवहारमा मुलुक चलाउने अदृश्य समूह छ । जसको इशारामा मुलुक सञ्चालित भइरहेको छ भन्दामा अत्युक्ति हुँदैन । त्यो अदृश्य समूह कुन हो ? कतिपयलाई कौतुहलता नै लाग्न सक्ला ।

अहिले नेपाली कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीलगायतका अन्य दलहरू सत्ता साझेदारीकै सारथी बन्दै आएका छन् । हेर्दा चार÷पाँच दलकै सरकार भए पनि व्यवहारमा यी दलहरूले सत्ता सञ्चालन गरेको छ भन्ने अवस्था छैन । सत्तामा रहेका यिनै दलका प्रतिनिधिलाई अहिले छुट्टै अदृश्य शक्तिले आफ्नो स्वार्थमा चलाउँदै आएको छ । यसको दृष्टान्तका निम्ति बालुवाटारको सरकारी जग्गा हड्प्ने कर्तुतमा संलग्न गिरोहलाई मात्रै हेरे पुग्छ । यो अप्राकृतिक गठबन्धनको कार्यले हाम्रो मुलुकको सबै क्षेत्रको विद्यमान अवस्था चित्रित गर्छ । बालुवाटार प्रकरणको गिरोहमा कहलिएकै राजनीतिक व्यक्तिदेखि प्रतिष्ठित मानिएको व्यापारी, तस्कर, दलाल एवं बिचौलिया तथा विशिष्ट ओहदादेखि तल्लो तहसम्मका राष्ट्रसेवक कर्मचारीहरूको संलग्नता छ । यसमध्येका उच्चस्तरीय राजनीतिक नेतृत्वलगायतका केही व्यक्तिउपर अख्तियारले चलाएको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ भने अन्य ३ सयभन्दा बढीउपर सीआईबीले चलाउन तयार गरेको कीर्ते मुद्दा वकिल कार्यालयबाट फर्काइएको सर्वविदितै छ ।

अदृश्य शक्ति कति मजबुद छ भन्ने कुरा वर्णन गरिरहनै पर्दैन, अदृश्य गिरोहको माथि उल्लेखित संगठनात्मक स्वरूप आफैंले पुष्टि गर्छ । देखाबटी रूपमा सरकार त अहिले चार÷पाँच दलकै प्रतिनिधिले मात्रै चलाएका छन् । तर, अदृश्य शक्तिमा भएका दल सत्ताभित्रका मात्र होइन प्रमुख प्रतिपक्षदेखि सत्ताबाहिरका सबै दल, राज्य संयन्त्रका पदाधिकारी र समाजकै सबै क्षेत्रको प्रतिनिधित्व हुने व्यक्तिहरू नै संगठित छन् । राज्यको जस्तो सत्ता पक्ष र प्रतिपक्ष यस शक्तिमा छैन । हुँदैन पनि । सबै गोलबद्ध रूपमा एक ढिक्का बनेका हुन्छन् । यसैले अदृश्य शक्तिले आफ्नै स्वार्थमा पछिल्लो समयमा आफैं राज्य सञ्चालन गर्दै आएको छ । जसलाई कारबाही गर्ने हिम्मत अहिलेको राज्यसँग छैन । कारबाहीको संकेतसम्म पाए पनि अदृश्य शक्तिले नै राज्य सत्ता हल्लाउँछ । हाम्रो मुलुक अहिले यो अवस्थामा पुगेको सबैलाई विश्वास नलाग्ला ।

मुलुक उदाहरणीय ढंगले चलाउने वा चलाउनैका लागि चलाउने भन्ने कुरा सत्तामा पुग्ने नेताहरूमा हुन्छ

लोकतन्त्र सँगसँगै विकसित हुँदै आएको अदृश्य शक्ति दिनको दुईगुणा रातको चौगुणा मौलाउँदै आयो । यसको मौलाउने उच्च दरले त लोकतन्त्रलाई यथास्थितिबाट माथि उठ्नै दिएन । हामीले लोकतान्त्रिक अनुभूति गर्न नपाउनुको प्रमुख कारण पनि यही शक्तिको चलखेल नै हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा त अदृश्य शक्ति चरम उत्सर्गमै पुग्यो । पूर्वप्रधानमन्त्री ओलीले त अदृश्य शक्तिलाई मौलाउन र विस्तारित गराउन आफूले सकेसम्म मलजल नै पु¥याए । त्यही चरम उत्सर्ग शक्तिसँग अहिले पनि कायम छ । ओलीकै कार्यकालबाट अदृश्य शक्तिले आफ्नै स्वार्थमा सरकार चलाउन थाल्यो । अदृश्य शक्तिको कार्यशैलीबाट केपी ओली पनि सन्तुष्ट थिए । यदाकदा चर्चामा आउने अदृश्य शक्तिको गैरकानुनी गतिविधिलाई ओलीले खुलेरै संरक्षण एवं ढाकछोप पनि गर्दै ल्याए ।

अदृश्य शक्तिले अहिले आफ्नो कार्य कसरी सञ्चालित गराउँदै छ ? भन्ने कुरा बुझ्नका निम्ति यसको कार्यशैलीलाई हेरौं । सर्वप्रथम त समाजकै विविध क्षेत्रका माफिया र राज्यकै विश्वासपात्र कर्मचारी नै यस समूहमा आबद्ध हुने भएकाले यो समूहले आआफ्नो क्षेत्रको सहज ढंगले सामूहिक लाभ प्राप्त गर्न सकिने स्रोत साधनको पहिचान गर्छ । यस क्रममा ऐलानी पर्ति जग्गादेखि गुठी र सरकारी जग्गासम्म, प्रतिष्ठित सरकारी उद्योग कलकारखानादेखि चर्चित व्यापारिक प्रतिष्ठानसम्म, पार्टी प्यालेसदेखि होटल रिसोर्टसम्म, आंशिक रूपमा प्रयोगमा आएका तथा प्रयोगमा नल्याइएका सार्वजनिक एवं सरकारी जग्गासम्म लाभको हिसाबले अत्यधिक आकर्षक मानिने रमणीय प्राकृतिक स्थलदेखि चर्चित पर्यटकीय स्थलसम्म तथा अत्यधिक लाभप्रद अन्य विविध पक्षसँग सम्बन्धित आकर्षक स्थल गिरोहको नजरमा परिहाल्छन् ।

आफ्नो इच्छा र रुचिअनुसारको आवश्यकताको पहिचान गर्न अदृश्य शक्तिलाई सहज पनि हुन्छ । आवश्यक पर्दा बिचौलियाकै प्रयोगमार्फत तार्केट समूहको केन्द्रबिन्दुमै घुसेर सम्पूर्ण वृतान्त पहिचान गरेपछि अदृश्य शक्तिले त्यसलाई हत्याउने कसरी ? भन्ने कुराको उतिखेरै कार्य नीति तय गर्छ । यसपछि भने को कसले कुन कार्य, कसरी गर्ने ? कार्यमा अवरोध आए वा लक्षित उद्देश्य विविध कारणले सम्पन्न गर्न नसकिने परिस्थिति सिर्जना भए कसरी विथड्र हुने भन्ने योजनासमेत अदृश्य शक्तिले पहिले नै बनाएको हुन्छ । यस क्रममा आफ्नो उद्देश्य पूरा नहुँदै सहकर्मीकै असावधानीले आफ्नो योजनामा परेको कार्य’boutको बनेको गोप्यता भंग भए त्यसलाई कसरी ढाकछोप गर्ने तथा ढाकछोप गर्न सम्बन्धित क्षेत्रको विज्ञ वा अख्तियार प्राप्त व्यक्तिलाई कसरी हात लिने भन्ने कुरा पनि अदृश्य शक्तिले अग्रिम रूपमै तयार पारेको हुन्छ । यसपछि भने सबैले आआफ्नो क्षेत्रको प्राप्त भएको जिम्मेवारी तदारुकताका साथ सम्पन्न गर्छन् ।

अदृश्य शक्तिले आफ्नो कार्य गर्दा राजनीतिक नेतृत्वदेखि उच्चस्तरीय सरकारी पदाधिकारीलाई हात लिएरै गर्ने भएकाले हम्मेसी उसले गरेको कार्य सार्वजनिक नै हुँदैन । सार्वजनिकै भए पनि उच्च पदस्थ राजनीतिक नेतृत्वबाटै ढाकछोप हुने गर्छ । नेतृत्व तह नै ढाकछोप र संरक्षण गर्न असमर्थ भए मात्र गिरोहको कार्य उदांग हुन्छ । यही प्रक्रियाद्वारा अदृश्य शक्तिले गरेको लाभमुखी कार्यमध्ये बालुवाटार जग्गा प्रकरण सबैभन्दा ठूलो हो । यसमा आबद्ध मालपोत कार्यालयका कर्मचारीहरूले मालको स्रेस्ता मिलाए । स्रेस्ता मिलाउने क्रममा साबिकको मोठ नै गायब पारे । नयाँ मोठ निर्माण गरे । देखाउने र प्रयोगमा ल्याउने स्रेस्ता पनि अलगअलगै बनाए । वर्षौं पहिलेका कार्यालय प्रमुख र कर्मचारीले राखेको स्याहार गरेको स्रेस्ता कीर्ते गरेर सच्याए । सरकारी छाप दस्तखत कीर्ते गरे । कानुनी अंग पु¥याएरै स्वाहा गरे । नापीका संलग्न कर्मचारीले माल कर्मचारीकै कार्यलाई सहयोग पुग्नेगरी नाप नक्सा कित्ताकाट गरिदिएर सहज बनाइदिए ।

बालुवाटार जग्गा प्रकरणका माफियाले नेपाली जनताको साझा टुँडिखेल नै आआफ्नो नाममा परिणत गराउन बेर छैन

राजनीतिक व्यक्तिहरूले उच्च पदस्थ राजनीतिक नेतृत्वसम्मलाई पकडमा राखे । सहयात्राको मिल्दो साथीको संख्या बढाए । आइलाग्न सक्ने चुनौती’bout राजनीतिक समझदारीबाटै समाधान गर्ने कार्यनीति बनाए । व्यापारिक वर्गले खरिदकर्ता आत्मीय मित्रकै व्यवस्था गरे । कार्यबाट आफूलाई प्राप्त हुने लाभको लेखाजोखा गरे । बिचौलियाले जग्गा कारोबारी गर्ने व्यक्ति जुटाए । एकलाई अर्कासँग पहिचान गराइ हेलमेल बढाउने मध्यस्थकर्ताले भूमिका मिलाए । कार्यालयस्तरदेखि समाजसम्म आफ्नो कार्यप्रतिको गोप्यता भंग भए नभएको तथा भए त्यसको प्रभाव र प्रतिक्रियाको लेखाजोखा गरे । आवश्यक परेको अवस्थामा बिचौलियाले लाभ प्रदान गरेरै भए पनि त्यस्ता आलोचक व्यक्तिलाई हातमा लिए । सबैले यसरी नै आआफ्नो क्षेत्रको कार्य सम्पन्न पार्ने क्रममै ठूलो क्षेत्रफलको बालुवाटारस्थित सरकारी जग्गा अनेकौं व्यक्तिले हडपे ।

यसैगरी, पछिल्लो समयमा घटाइएका राष्ट्रियस्तरका केही सुनियोजित चर्चित घटना वाइडवडी विमान खरिद प्रकरण, पप्पु कन्ट्रक्सनलाई प्रदान गरिएका अनेकौं अलपत्र निर्माण संरचना, त्रिभुवन विश्वविद्यालय र दाङस्थित संस्कृत विश्वविद्यालयको जग्गा हिनामिना प्रकरण, गोकर्ण रिसोर्ट र दरबारमार्गलगायत अन्य विभिन्न स्थानको सरकारी जग्गा दीर्घकालीन प्रयोजनका निम्ति यति होल्डिङलाई सस्तो मूल्य प्रदान गरेको भाडा प्रकरण, तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले गराएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, नारायणहिटी कम्पाउन्डभित्र रेस्टुराँ सञ्चालन गर्ने बहानामा बतास समूहलाई भाडामा प्रदान गरेको ठूलो क्षेत्रफलको जग्गा तथा निर्माण प्रारम्भ गर्ने भनी शिलान्यास गरिएको तेह्रथुमको आठराई चुहानडाँडास्थित विमानस्थलदेखि अन्य विभिन्न क्षेत्रमा निर्माणको नाममा भएको राष्ट्रिय बजेटको दुरुपयोग एवं निर्माण कार्य नै पूरा नभई अपुरै अवस्थामै योजना सम्पन्न भएको भ्रम पारी गरिएका अनेकौं भौतिक संरचनाको उद्घाटनसमेत तत्कालीन सरकार प्रमुखको संरक्षणमा अदृश्य शक्तिबाट भएका आर्थिक घोटाला हुन् । जसले मुलुकलाई वर्षौंपछि धकेलेको छ ।

सत्ता शक्तिको प्रभावमा आफ्नो धन्दा सञ्चालन गर्दै आएका भूमाफिया अहिले पनि उत्तिकै सक्रिय छन् । ठूलो क्षेत्रफलको सरकारी जग्गाप्रति यिनीहरूको गिद्दे दृष्टि सधैं गाडिरहेको हुन्छ । अनुकूल अवसर पाउनासाथ एक्सनमा उत्रने अदृश्य शक्तिका निम्ति उच्च ओहदाको एकै जना पदाधिकारी नै उसको तार्केट स्थानबाट सरुवा हुँदा वा नयाँ पदाधिकारी आउँदा नै अवसर अनुकूल बनेको ठान्छन् । बालुवाटारस्थित सरकारी जग्गा हड्प्ने व्यक्तिविरुद्ध सीआईबीले चलाएको मुद्दा फिर्ता प्रकरण पछि त अदृश्य शक्ति झन् उत्साहित भएको छ । कतै यो शक्तिले काठमाडौंका टुँडिखेल नै कित्ताकाट गरिसकेको त छैन ? भन्नेतर्फ पनि आमनेपालीले सचेत बन्नुपर्ने भएको छ । यो शक्तिमा द्रव्यपिचासकै मात्र संलग्नता रहेको हुँदा लाभको सामु उनीहरूले राष्ट्र र राष्ट्रियता भन्ने कुरो नै बिर्सन्छन् । शक्तिमा आबद्ध नेताले देश र जनता नै भन्न छोडेको, कर्मचारीले आफ्नो दायित्व नै बिर्सिएको, बिचौलिया र भूमाफियाले लाभलाई सर्वोपरि ठान्ने गरेको पृष्ठभूमिमा पछिल्लो समयमा सकारात्मक कार्य नै हुन छोडेको छ ।

राज्यबाट भएका हरेक कामकारबाहीलाई जनताले अहिले शंकाको दृष्टिले हेर्नुपर्ने अवस्था छ । आफ्नो जग्गा हो भनी धनीपुर्जा दराजमा राखेर हामी मक्ख भई बस्छौं । तर, त्यही आफ्नो जग्गामा दाबी गरी जोतभोग गर्न आउने नयाँ धनी देखिएपछि हामी तर्सन्छौं । हाम्रो जग्गा वर्षौं पहिले नै दुई÷तीन जनाको नाम हुँदै चौथो व्यक्तिमा पुगिसकेको हुन्छ । यस्तो पीडा धेरैले सहिरहनुपरेको छ । मालपोत कार्यालयमा लगत चेक गर्न जाँदा स्याहा स्रेस्ता नै सबै नयाँ देख्न पाइन्छ । विशेष अवस्थामा प्रदर्शित गर्ने सक्कली स्रेता र अवस्थाअनुसार प्रदर्शित गराउने नक्कली स्रेता प्रायःजसो अधिकांश मालपोत कार्यालयमा पाइन्छ । त्यस्तो गलत कार्य गर्न पोख्त र दक्ष कर्मचारीहरूको सरुवा कागजी रूपमा विभिन्न स्थानमा देखिने भए पनि उनीहरू वर्षौंदेखि त्यही कार्यालयमा कार्यरत हुन्छन् । हाकिमले त्यस्तै कर्मचारीहरू रुचाउँछ । मन्त्रालय, विभागले उनीहरूलाई अन्यत्र पठाउनै सक्दैन । किनकि उनीहरू त सत्ताशक्तिकै प्रभावमा त्यहाँ राखिएका हुन्छन् । सबैलाई तिनै दक्ष कर्मचारीको आवश्यकता पर्छ । अन्यथा अदृश्य शक्तिको कार्य सम्पन्न हुन पाउँदैन । त्यस्तै, दक्ष कर्मचारीलगायतका बालुवाटार जग्गा प्रकरणका माफियाले नेपाली जनताको साझा टुँडिखेल नै आआफ्नो नाममा परिणत गराउन बेर छैन । सचेत बनौँ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार