काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न निर्वाचनका लागि बिहीबार निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औं कार्यसमिति बैठकले आसन्न निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन अपील समिति गठन गरेको हो । एन्फाको नयाँ नेतृत्व चयनका लागि आगानी जेठ १५ गते निर्वाचन हुँदै छ ।
निर्वाचन समितिको संयोजकमा अधिवक्ता श्रीराम दवाडी रहेका छन् । यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ, प्रीति कार्कीलाई निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औं विशेष साधरण सभा बैठकमा निर्णयार्थ पेस गर्ने निर्णय गरेको छ । यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुईँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम रहेका छन् ।
उनीहरूको इन्ट्रिग्रिटी चेकजाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ । यो निर्णय पछि फिफा र एएफसीमा पठाइनेछ । यो समितिमा मनोनित गरिएका व्यक्तिलाई अब बस्ने साधारण सभाले अनुमोदन गर्नुपर्ने छ । यस्तै, बैठकले आर्थिक वर्ष २०७७÷७८ मा १९औं वार्षिक साधारण सभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगित भएको हुँदा उक्र अनुमोदित बजेटलाई २०७८÷७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ । त्यसअघि एन्फा सदस्य किरण राईको संयोजकत्वमा रहेको निर्वाचन निर्देशिका समितिले बुझाएको प्रतिवेदन पारित गरिएको थियो ।
यसैगरी एन्फा उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको छानबिन समितिले पनि प्रतिवेदन अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएको छ ।