राजधानी सहरका सडक अहिले निकै जोखिमपूर्ण अवस्थामा छन् । सडकका छेउछाउ र बीचमा परेका ठूलाठूला खाल्टाखुल्टीले चक्रपथको घुमघुमाउ यात्रालाई मात्र होइन, सहर भित्रने र बाहिरिने यात्रालाई समेत निकै कठिनाइपूर्ण बनाएका छन् । यस्ता खाल्टाहरू कुनै निश्चित ठाउँमा मात्र होइन, सडकका हरेक एकाध मिटरका बीचमा सडकैभरि रहेका छन् । यिनै खाल्टाका कारण कामाडौंमा सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको छ । ठूला बसहरूका साथै, भारी मालवाहक ट्रकहरू तथा क्याब र प्राइभेट जिप तथा मोटरसाइकलहरूको निकै चाप रहेको काठमाडौंका सडकहरू निकै असहज र जोखिमपूर्ण रहँदै आएका छन् । पानी पर्दा हिले यात्रा गरिने यी सडकमा घाम लागेका बेला धुलैसँगै यात्रा नै बाध्यात्मक बनिरहेको छ । यस्तो अवस्था महिनौंदेखि जस्ताको तस्तै रहेको छ । सडकको सामान्य सुधारको त कुरै छाडौं, अस्वाभाविक र ठूल्ठूला खाल्टाखुल्टीहरूको समेत मर्मत हुन सकेको छैन । यिनै अस्तव्यस्त सडकका वरिपरि उल्टै खानेपानीका पाइप गाडिने क्रम जारी रहेकाले बाटो झनै जोखिमपूर्ण बन्दै गएको छ ।
यस्ता जोखिमपूर्ण बाटोका ’round सामान फिँजाएर राखिने र किनमेलका लागि मानिस यस्ता ठाउँहरूमा झुम्मिने गर्नाले पनि सडक दुर्घटनालाई बढावा दिने गरिरहेको छ । सामान बेच्दा र खोल्दा निस्कने प्लास्टिकजन्य फोहोरले पनि बाटोलाई थप फोहोर तथा जोखिमपूर्ण बनाएको छ । पैदल यात्रीहरूका लागि सडक पेटीको व्यवस्था नगरिएकाले पनि सडक दुर्घटनालाई बढाएको छ । काठमाडौं सहरमा एकै समयमा तीनवटा सरकारले शासन गरिरहेका छन् । यहाँ काठमाडौं महानगर पालिकाकाले स्थानीय सरकारका रूपमा काम गरिरहेको छ भने बाग्मती प्रदेशको प्रदेश सरकारले पनि आफ्नो मुख्य काम काठमाडौंबाटै सम्पन्न गर्ने गरिरहेको छ । यस अतिरिक्त सिंगो संघीय सरकारको राजधानी सहर काठमाडौं नै हो । संघीय सरकारको बसाइ काठमाडौंमै छ । तर, पनि यी तीन सरकारका बीचमा न त काम कार्यको समन्वय हुने गरेको देखिएको छ, न त कुनै पनि तहको सरकारले जोखिमका अवस्थामा रहेका बाटाहरूमा ध्यान नै दिएका छन् । कसैको पनि यी सडकको सामान्य सुधार हुनेगरी सडकमा आँखा र बजेट गएको देखिँदैन ।
यस अतिरिक्त बाटोमा बिजुलीका खम्बाहरू ढल्किएका छन् । फोहोर जहाँतही फ्याँकिएका छन् । पानीका लागि पाइप गाडिँदा खनिएका खाल्टाहरू त्यसै छाडिएका छन् । त्यस्ता खाल्डामा सतर्कताका लागि कुनै संंकेत वा बचाउका छेकबार पनि गरिएका छैनन् । बिजुलीको खम्बामा वर्षौंदेखि लट्काइका राम्रा नराम्रा बिजुली, टेलिफोन तथा फाइबरका तारहरू जुनसुकै बेला पनि सर्वसाधारणको ज्यान लिनसक्ने गरी बाटोसम्म लत्रिएका छन् । कतै गुजुल्टो पारेर डरलाग्दो अवस्थामा झुन्ड्याइएको छ । कतैकतै फोहोरको नाली भरिएर वा फुटेर बाटो नै पूरै दुर्गन्धित बनाइरहेको छ । अन्त कतै खानेपानीको नाली फुटी फोहोरको नालीसँग मिसिएर पानीमा दिसाजन्य कोलीफर्मको मात्रा बढेर पानी खानै नसकिने अवस्थामा छ । तर, पनि बाटोको वरिपरि नै हुने र भइरहेका यस्ता दुर्गन्धित र असुरक्षित कुराहरूमा सम्बन्धित पक्षको चासो नै देखिएको छैन । त्यसैले यी सबै कुराहरूको समयमै उचित व्यवस्थापनका लागि सबैभन्दा पहिले २४सैं घण्टा चलिरहने डरलाग्दो हालतमा रहेका सडकको मर्मत, सुधार र निर्माणमा ध्यान देऊ ।